८ वैशाख २०८१ शनिबार
समाज

पाहुनाविहीन अवस्थामा खल्लो क्रिसमस

पोखरास्थित साग्रिंला रिसोर्टको प्रवेशद्धारमा क्रिसमस ट्री सजाँउदै कर्मचारी। फाईल तस्बिर: उमेश पुन /नागरिक

कोरोना भाइरस संक्रमणले पर्यटन क्षेत्र थलिएको करिब वर्षदिन पुग्नै लागेको छ। कोरोना संक्रमण नहुँदो हो त यो बेला पोखरामा विदेशी पाहुना प्रयाप्त हुन्थे। पर्यटन क्षेत्र सिजन सकिन लाग्दाको अवस्थामा त हुन्थ्यो, तर पनि पाहुनाको भने खासै खाँचो हुँदैनथ्यो। तर, कोरोनाले गर्दा यतिबेला पोखरामा विदेशी पाहुना देख्न पनि सकस छ।  

कोरोनाका यही सकसबीच शुक्रबार ‘क्रिसमस’ परेको छ। पोखरा आएका विदेशीलाई क्रिसमसको रमाइलो दिलाउँन अघिल्ला वर्ष व्यवसायीले यो दिनका लागि यहाँ पर्याप्त तयारी गर्दथे। तर, योपटक भने व्यवसायीले क्रिसमसलाई औपचारिकता र निरन्तरतामा मात्र समेटेका छन्। पाहुनाविहीन अवस्थामा चलेको व्यवसायमा क्रिसमसलाई पनि उल्लासमय बनाउन नचाहेको व्यवसायीको भनाइ छ।

‘विदेशी पाहुना छैनन्, त्यसैले क्रिसमस पनि खल्लो बनेको छ। अघिल्ला वर्ष क्रिसमसको तयारीमा हामी पहिल्यैदेखि जुट्थ्यौं,’ सांग्रिला रिसोर्टका आवासीय म्यानेजर गुप्त गिरीले भने, ‘कोरोनाको यो महामारीमा क्रिसमस पनि फिक्का बन्यो। पाहुना नहुँदा क्रिसमसको रन्को पनि छैन।’ क्रिसमसको रमझमलाई यो वर्ष कोरोनाले बिर्साएको उनले बताए। क्रिसमसमा हुने खर्चिला कार्यक्रम धान्न सक्ने अवस्था नहुँदा नहुँदै पनि परम्परालाई कायम राख्नका लागि मात्र यो पटक सामान्य तयारी मात्र गरेको उनले बताए।  

‘मनोरञ्जनात्मक कार्यक्रम योपटक केही पनि छैनन्,’ उनले भने, ‘होटलमा रहेका सीमित पाहुनाका लागि क्रिसमसको झल्को दिने प्रयास मात्र छ।’ क्रिसमसलाई रंगीन बनाउन अघिल्ला वर्ष व्यवसायीले होटलमा विभिन्न कार्यक्रम गर्थे। विभिन्न सांगीतिक समूहलाई बोलाएर राति अबेरसम्म कार्यक्रम गर्दथे। तर, योपटक ती सबै कार्यक्रम रद्द गरेको उनले बताए। ‘निकै नै कम संख्यामा पाहुना छन्। खासमा क्रिसमस विदेशी पाहुनाका लागि हुन्थ्यो। तर, यो पटक विदेशी देख्नै छैन,’ उनले भने, ‘अघिल्ला वर्ष विदेशीका लागि क्रिसमस हुन्थ्यो, त्यसमा नेपालीले सहभागिता जनाउँँदा रोमाञ्चक बन्थ्यो। तर अहिले होटलमा हुने जति सबै आन्तरिक पाहुना छन्, आन्तरिकलाई उतिसारो चासो हुंदैन।’  

नेपालमा यो बेला विदेशी पाहुनाका लागि ओरालो लाग्दो सिजनको समय भए पनि ठूला होटलमा विदेशी पाहुना खचाखच हुन्थे। त्यसले गर्दा चल्तीका होटलले क्रिसमसको भव्य तयारी गर्दथे। तर, योपटक भने पाहुनाविहीन अवस्थामा खल्लो रूपमा क्रिसमसलाई निरन्तरता दिन बाध्य भएको व्यवसायीले बताएका छन्। पोखरा आइसकेका विदेशीलाई क्रिसमस मनाउनका लागि स्वदेश फर्कन नपरोस् भनेर उनीहरूलाई आकर्षित गर्नेगरी व्यवसायीले अघिल्ला वर्ष भव्य तयारी गर्दथे।  

अर्को पाँचतारे होटल पोखरा ग्रान्डका महाप्रबन्धक रोशन खवासले पनि क्रिसमस मनाउनै पर्नेगरी पाहुना नभएकाले कुनै कार्यक्रम नगरिएको बताए। ‘हामीले क्रिसमसमा खासै विशेष कार्यक्रम त अघिल्ला वर्ष पनि गर्दैनथ्यौं। योपटक त झनै गर्नैपर्ने अवस्था छैन,’ खवासले भने, ‘आन्तरिक पाहुनालाई उतिसारो चासो पनि हुँदैन। यो बेला आन्तरिक पाहुना मात्र सीमित संख्यामा छन्।’

क्रिसमसलाई उल्लासमय बनाउन यहाँका चल्तीका रेस्टुरेन्टले केही मनोरञ्जनात्मक कार्यक्रम राखेका छन्। अघिल्ला वर्ष पर्याप्त मनोरञ्जनात्मक कार्यक्रम नभए पनि सीमित स्थानीय पाहुनालाई मनोरम दिलाउन केही गतिविधि मात्र गरेको व्यवसायीले बताएका छन्। रेस्टुरेन्ट व्यवसायी गोपी भट्टराईका अनुसार लेकसाइडका चल्तीका ठूला रेस्टुरेन्टले क्रिसमसलाई केही मनोरम बनाउन सीमित गतिविधि आयोजना गरेका छन्।  

‘अघिल्ला वर्षजस्तो चमक त छैन। सीमित र स्थानीय मात्र यो पटकका पाहुना हुन्,’ उनले भने, ‘तर पनि गतिविधि निरन्तर छन् भन्ने देखाउन चाहेका छौं। अघिल्ला वर्षजस्तो चमक नभए पनि गतिविधिले निरन्तरता पाएका छन्।’ अघिल्ला वर्ष यो बेला पोखरामा विदेशीको भीडमा आन्तरिक पाहुना थपिँदा व्यवसायीलाई भ्याइ नभ्याइ हुन्थ्योे, तर अहिले भने व्यवसायी निकै नै फुर्सदिला बनेका छन्। ‘क्रिसमसको साँझ हामीलाई व्यवस्थापनमा समेत सकस हुन्थ्यो। तर, योपटक सबै गतिविधि कमजोर अवस्थामा छन्,’ उनले भने।

पोखरा पर्यटन परिषद्का अध्यक्षसमेत रहेका भट्टराईका अनुसार यतिबेला पोखरामा आन्तरिक पाहुनाको केही चहलपहल देखिएको छ। अंग्रेजी नयाँ वर्षका बेलासम्म आन्तरिक पाहुनाको केही चहलपहल रहनेमा व्यवसायी आशावादी पनि छन्। त्यही अनुसार होटलमा केही सोधपुछ आएको उनीहरूको भनाइ छ। ‘नयाँ वर्ष आउन थालेकाले केही आन्तरिक पाहुना आउनेमा आशावादी छौं। तर अघिल्ला वर्षजस्तो चमक यो पटक हुनेछैन,’ अध्यक्ष भट्टराईले भने, ‘क्रिसमसदेखि सुरु हुने भीडभाड अघिल्ला वर्ष नयाँ वर्ष सकिँदा पनि उत्तिकै हुन्थ्यो। तर, अहिले भने सन्नाटा छाए सरह छ।’

केही वर्षअघिसम्म नेपाल आएका विदेशी पर्यटक क्रिसमस मनाउनकै लागि स्वदेश फर्कने गर्दथे। क्रिसमसका कुनै पनि गतिविधि नहुँदा विदेशी यहाँ रमाउन पाउँदैनथे। त्यसैले यहाँ सुनसान हुन्थ्यो। जब नेपालमा पनि क्रिसमस मनाउन थालियो, त्यसपछि कतिपय पर्यटक पोखरामै रोकिन थालेका थिए। क्रिसमसका कार्यक्रम गर्न थालिएसँगै फर्किने पर्यटकको संख्या घट्न थाले पनि यो पटक कोरोनाले सबैतिर सुनसान बनाएको व्यवसायी बताउँछन्। ‘नेपालमा रहेका विभिन्न कूटनीतिक नियोगमा कार्यरत विदेशी कर्मचारी पनि यो पटक पोखरा आएका छैनन्,’ भट्टराईले भने, ‘सबैलाई कोरोनाको त्रासले छोएको छ। हिँडडुल सहज नहुँदा सबैको आउजाउ रोकिएको छ।’

प्रकाशित: १० पुस २०७७ ०२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App