coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

फरार अपराधी खोज्दै जुम्ला प्रहरी

जिल्ला प्रहरी कार्यालय जुम्लाले फरार अपराधी खोज्ने कार्यलाई तीव्र पारेको छ। अदालतले दोषी ठहर्‍याएर अपराधी र अदालतमा मुद्दा चलिरहेका आरोपित खोज्ने कार्यलाई तीव्र पारेको हो। यो आर्थिक वर्षमा अधिकांश फरार अपराधीलाई नियन्त्रणमा लिएर अदालतमा हाजिर गराईएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

उनले भने, 'अदालतले फैसला गरि दोषि ठहर्‍याएका अपराधी र अदालतमा मुद्दा चलिरहेका अभियुक्त, प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्नु पर्ने तर फरार सूचीमा रहेकाहरूको खोजी कार्य प्राथमिकतामा राखेका छौं। अपेक्षित उपलब्धि पनि हासिल गर्न सफल भएका छौं।'  

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार चालू आर्थिक वर्षमा २८ जना फरार अपराधी नियन्त्रणमा लिएर अदालत पेस गरिएको छ। १७ जनाविरूद्व अनुसन्धान भईरहेको छ।

अब फरार सूचीमा रहेका अपराधी निकै कम संख्यामा छन्। भौगोलिक विकटताका कारण पनि अपराधी खोज्न गाह्रो छ। फरार अपराधी र अभियुक्त खोजबिन गर्न सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ। अपराधी बस्न सक्ने संभावित क्षेत्रका प्रहरी चौकीलाई सजगता अपनाउन निर्देशन गरिएको छ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम चलाएर अपराधी र अभियुक्त नियन्त्रणमा साथ दिन अपिल गरिएको छ। साथै विकृतिजन्य कृयाकलाप नगर्न र अपराधमुक्त समाज निर्माणका लागि अग्रसर हुन समेत आग्रह गर्ने गरिएको प्रहरी नायब उपरीक्षक काफ्ले बताउँछन्। अहिले समुदाय र प्रहरी बीचको सम्बन्ध निकै राम्रो छ। अपराधीक क्रियाकलाप रोक्न साथ मिलेको छ, प्रहरी नायब उपरीक्षक काफ्लेले भने, प्रहरीको पहिलो लक्ष्य शान्ति सुरक्षा अमनचयन नै हो। यो कार्यमा दृढ छौं।  

कुनै अपराधीको तीन पुस्ते नखुलेको र ठेगाना अस्पष्ट भएकोले खोजी कार्यमा कठिनाइ हुने गरेको छ। यो संगैं लागू औषध नियन्त्रण, बालविवाह, बहुविवाह, जारी प्रथा, छाउपडी प्रथा, जुवातास, जाँडरक्सी नियन्त्रणका साथै चोरीडकैती जस्ता क्रियाकलाप नगर्न सचेतना प्रदान गरिएको प्रहरी नायब उपरीक्षक काफ्ले बताउँछन्।  

'कामै नगरी प्रचारप्रसार गरेर लोकप्रियता बटुल्नु राम्रो मानिदैन,' उनले भने, 'हामीले काम गरेर प्रचारप्रसार गर्ने बानीको बिकास गर्न खोज्दैछौं।'  

'अहिले प्रत्येक महिनामा हुने चोरीका घटना नियन्त्रण भएका छन्। पीडितले  सहजरूपमा आफ्ना मर्का राख्न पाउँछन्। पीडितले नै अपराधी तथा अभियुक्त पक्रन सघाउन थालेका छन्। प्रहरी साच्चिकै मेरो साथी हो भन्ने अनुभुती हुन थालेको छ। यसैमा हामी खुसी छौं,' उनले थपे।

डिएसपी काफ्लेले शान्ति सुरक्षा अमनचयनमा खलल पुर्‍याएको, कानुन विपरीत कार्य गरेको, विकृति विसंगतिलाई टेवा पुग्ने गरि कसैले कार्य गरेको भए तत्काल सुचित गराउन आग्रह गरे। उनका अनुसार सचेतनामुलक क्रियाकलाप गर्न स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार माताहतका कार्यालयसंग पनि प्रभावकारी समन्वय भईराखेको छ।

उनले जिल्ला प्रहरी कार्यालयबाट प्रदान गरिने सूचना प्रभावकारी बनाउन लागि परेको जानकारी दिए।

प्रकाशित: ९ पुस २०७७ ०५:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App