२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बारपाकमा केन्द्रीय प्रशारण लाईनको बिजुली बल्यो

गोरखाको बारपाक । तस्बिरः नागरिक

भूकम्पको केन्द्रबिन्दु बारपाकमा केन्द्रीय प्रशारण लाइनको बिद्युत पुगेको छ। नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र गोरखाले तीनकरोड रुपैयाँ लगानीमा बालुवादेखि बारपाकसम्म ११ केभी क्षमताको १० किलोमिटर दूरीमा प्रशारण लाईन विस्तार गरेको हो।  

‘सोमबारदेखि बारपाकमा केन्द्रीय प्रशारण लाइनको बिजुली बलेको छ’ वितरण केन्द्र गोरखाका प्रमुख माधब न्यौपानेले भने ‘एक महिनाभित्र पाँचसय घरमा केन्द्रीय प्रशारणको लाईनबाट विद्युतीकरण हुन्छ।’ शाखा लाईन विस्तार र घरघरमा मिटर जडानको काम मंगलबारबाट सुरु हुने उनले बताए।  

यसअघि एकसय ३० किलोवाट क्षमताको लघु जलविद्युतबाट बारपाकका स्थानीयले बिजुली बाल्दै आएका थिए। उक्त लघु जलविद्युतबाट क्षमता अनुसार उत्पादन नहुँदा बारपाकका स्थानीयले आवश्यकता अनुसार बिजुली उपभोग गर्न पाएका थिएनन्।

 ‘निजी कम्पनीबाट उत्पादित बिजुली भएकाले अब कम्पनीले चाहेमा त्यो केन्द्रीय प्रशारण लाईनमा पनि जोड्न मिल्छ’ वितरण केन्द्र प्रमुख न्यौपानेले भने ‘अन्यथा ग्राहकले रोजेर सेवा लिन पाउँछन्।’

बारपाकमा ३० वर्ष अघिदेखि लघुजलविद्युत संचालनमा थियो। चौधसय भन्दा बढि घरधुरी रहेको त्यहाँ लघु जलविद्युतले माग धान्न सक्ने अवस्था थिएन। ‘केही समय यता बत्ती बाल्न पनि समस्या थियो’ गाउँपालिका अध्यक्ष बिष्णु भट्टले भने ‘केन्द्रीय लाईन पुगेपछि उद्योग चलाउन, स्वास्थ्य चौकी, वडा कार्यालयबाट सेवा दिनपनि सहज हुनेछ।’ सोमबार केन्द्रीय प्रशारण लाईनको उद्घाटन गरेका अध्यक्ष भट्टले भूकम्पको केन्द्रबिन्दु भएकाले बारपाकमा व्यवसाय गर्न, त्यहाँ बन्दै गरको भूकम्प स्मृत्तिपार्क, विद्यालय लगायत अन्य ठाउँका लागि समेत विद्युतिकरणले थप मद्दत पुग्ने बताए।  

बारपाकका सबै घरमा बिजुली बलेपछि गोरखामा ८५ प्रतिशत सर्वसाधारण केन्द्रीय प्रशारण लाईनको पहुँचमा रहनेछन्। अन्य केहि ठाउँमा लघु जलविद्युतबाट सेवा लिईरहेका छन्। ‘विद्युतिकरण सहज रुपमा गर्न भौगोलिक बिकटता, जंगल क्षेत्र धेरै भएकाले प्रशारण लाईन लैजान समस्या छ’ वितरण केन्द्र प्रमुख न्यौपानेले भने। 

प्रकाशित: ३० मंसिर २०७७ ०६:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App