मध्यपहाडी लोकमार्गअन्तर्गत भेरी नदीको पुल आठ वर्षदेखि अलपत्र पर्दा यातायात सञ्चालनमा समस्या भएको छ। ठेकेदारको लापरवाहीले रुकुम पश्चिमको चौरजहारी र जाजरकोटको कुदु जोड्ने पुलको जगसमेत पूरा नभएको हो। पुल निर्माण अलपत्र परेपछि लोकमार्गको रुकुम–जाजरकोट खण्डसमेत अपूरो बनेको छ।
तीन वर्षभित्र पुल निर्माण सक्ने गरी वाइपी कन्स्ट्रक्सन, ललितपुरले मध्यपहाडी आयोजना कार्यालयसँग विसं २०६९ मा सम्झौता गरेको थियो। १३ करोड ४७ लाख रुपैयाँ लागतमा निर्माणाधीन पुलको अहिलेसम्म सबस्ट्रक्चर (टावर जग) समेत पूरा भएको छैन। पुल निर्माण नहुँदा रुकुम र जाजरकोट सडक सञ्जालमा जोडिन सकेका छैनन् भने स्थानीयवासी झोलुङ्गे पुलबाट आवतजावत गर्न बाध्य छन्।
पुल निर्माणका लागि ल्याइएका एक्साभेटर, टिपर, मिक्सचरलगायत मेसिन निर्माणस्थल वरिपरि अलपत्र अवस्थामा छन्। गत आवमा ठेकेदार निर्माणस्थलमै नआएको भेरी नगरपालिका–१३ का वडाध्यक्ष गोपाल बटालाले बताए। सडक विभागको पुरानो डिजाइनअनुसार काम गर्न समस्या भएपछि रिडिजाइन गर्दा निर्माणमा ढिलाइ भएको वाइपी कन्स्ट्रक्सनले जानकारी दिएको छ।
म्याद पटकपटक थप्दा पुल निर्माणमा समस्या भएको मध्यपहाडी लोकमार्ग योजना कार्यालय दैलेखका इञ्जिनीयर लक्ष्मणबहादुर केसीले बताए। उनका अनुसार चौरजहारी साइटमा पिलर तथा फाउन्डेसनको काम पूरा भए पनि कुदुतर्फको काम अझै हुनसकेको छैन। लोकमार्गअन्र्तगतकै कुदुबाट दैलेखको सुयाँडा, जाजरकोट खण्डको छेडागाड थलहलगायत खोलामा पुल निर्माण अलपत्र परेको आयोजनाले जनाएको छ। त्यस्तै छेडागाड नगरपालिकाको थलहमा समेत पुल निर्माण नहुँदा अलपत्र परेको छ। रासस
प्रकाशित: ३० मंसिर २०७७ ०३:११ मंगलबार