coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सगरमाथाको उचाइ अब ८८४८.८६ मिटर

नेपालले आफैं गरेको मापनमा विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ। अब सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर कायम भएको हो। मंगलबार नेपाल र चीनले एकै पटक सगरमाथाको नयाँ उचाइबारे औपचारिक घोषणा गरेका छन्।  

नापी विभागले मंगलबार आयोजना गरेको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सगरमाथाको उचाइ सार्वजनिक गरेका थिए। यसैगरी चिनियाँ पक्षबाट त्यहाँका परराष्ट्रमन्त्री वाङ यीले उचाइबारे घोषणा गरेका थिए।  

यसअघि २०७२ सालको भूकम्पका कारण सगरमाथाको उचाइ केही बढेको हुन सक्ने अनुमान विज्ञले गरेका थिए। २०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले नेपालले आफ्नै साधन र स्रोतबाट सगरमाथाको नयाँ उचाइ मापन गर्ने निणय गरेको थियो। त्यसको एक वर्षपछि सगरमाथाको उचाइ मापनको काम सुरु गरिएको थियो।  

मंगलबार घोषणा गरिएको नयाँ उचाइ (८ हजार ८ सय ४८ दसमलब ८६ मिटर) लाई चीनले पनि औपचारिक मान्यता दिएको छ। यसअघि चीनले सगरमाथाको उचाइ ८ हजार ८ सय ४४ दसमलब ४३ मिटर रहेको मान्दै आएको थियो।  

दुवै देशले छुट्टाछुट्टै साधन र स्रोत प्रयोग गरेर सगरमाथाको उचाइ मापन गरेका हुन्। सगरमाथाको उचाइ मापन गर्न नापी विभागले सुशील डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरेको थियो।  

सगरमाथा मापन टोलीले ग्लोबल न्याभिगेसन स्याटलाइट सिस्टम (जिएनएसएस) प्रविधिबाट सगरमाथाको उचाइ मापन गरेको हो। सगरमाथाको उचाइ मापन गर्न नापीका दुईजना कर्मचारी खिमलाल गौतम र रविन कार्की मेसिन बोकेर मे २३, २०१९ मा सगरमाथाको चुचुरोमा पुगेका थिए। उनीहरू चुचुरोमा १ घण्टा १६ मिनेट बसेका थिए। २०७५ चैत २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ मापनमा जाने टोलीलाई बिदाइ गरेका थिए। चारजनाको टोलीमध्ये गौतम र कार्की चुचुरोमै पुगेका थिए भने सुरजसिंह भण्डारी र युवराज धिताल आधार शिविरसम्म पुगेका थिए।

सगरमाथाको उचाइ मापन गर्न विभागका प्राविधिकहरूले ३ सय ४६ वटा विन्दुलाई आधार बनाएका थिए। उनीहरूले बंगालको खाडीलाई आधार बनाएर चुचुरोमा जमेको हिउँसम्म नै मापन गरेका थिए। सगरमाथाको उचाइ मापन सकिएपछि ६ महिनासम्म विभागका कर्मचारीले डाटा प्रोेसेसिङ गरेका थिए। उचाइ मापन गर्दा अत्याधुनिक प्रविधि मात्र नभई परम्परागत प्रविधि पनि प्रयोग गरिएको विभागका प्राविधिकहरूको भनाइ छ।  

सगरमाथाको उचाइ मापन सुरु गर्नुअघि विभागले सन् २०१७ डिसेम्बरमा अन्तर्राष्ट्रिय गोष्ठी गरी विज्ञहरूको सुझाव मागेको थियो। नेपालले सगरमाथा मापनको काम अन्तिम चरणमा पुर्‍याएका बेला चीनले पनि उत्तरी मोहडाबाट मापन सुरु गरेको थियो। यसअघि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर रहेको मानिँदै आएको थियो। 

प्रकाशित: २४ मंसिर २०७७ ००:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App