२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मुख्य योजनाकार महताब पक्राउ

‘राजपुर बम काण्ड’ का मुख्य योजनाकार महम्मद महताब आलमलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई सोमबार बिहान रौतहतको बौद्धिमाई नगरपालिका–७ बडकी बंकुल क्षेत्रबाट पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए। उनी पुर्पक्षका लागि जेलमा रहेका नेपाली कांग्रेसका नेता तथा सांसद महम्मद आफताब आलमका भाइ हुन् ।

प्रहरीले महताब आलमलाई बडकी बंकुल क्षेत्रबाट पक्राउ गरेको बताए पनि आलम लामो समयदेखि भारत बिहारको मोतिहारीमा बस्दै आएको र त्यहीको प्रहरीको सहयोगमा मोतिहारीबाटै पक्राउ गरिएको जनाइएको छ। उनकै नेतृत्वमा राजपुरमा बम बनाउने काम भइरहेको थियो। संविधानसभाको निर्वाचनमा धाँधली गरी बुथ कब्जा गर्न र महम्मद आफताब आलमलाई जसरी पनि चुनाव जिताउन उनले नेपाल तथा भारतको विभिन्न ठाउँबाट अपराध गर्न सक्ने र बम बनाउन जान्ने मानिस खोजेर ल्याएका थिए। उनले आफ्नै नेतृत्वमा आवश्यक सामान जुटाई बम बनाउँदै आएका थिए।

२०६४ चैत २८ गते भएको संविधानसभा निर्वाचनको अघिल्लो दिन साँझ ६ बजेतिर बम बनाइरहेको घरमा विस्फोट भएको थियो। तत्कालीन राजपुर फरहदवा गाविस–४ हालको राजपुर नगरपालिका–४ स्थित पूर्वमन्त्री एवं नेपाली कांग्रेसका चर्चित नेता सेख इद्रिशको गोठघरमा विस्फोटक पदार्थ राखी बम बनाउने क्रममा विस्फोट भएको थियो। विस्फोट परी केही मानिसको घटनास्थलमै मृत्यु भएको थियो भने केही घाइते भएका थिए। महताब आलमले रौतहटको सरुअठाका पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपूतसहित घाइते १६ जनालाई ट्याक्टरमा हाली नजिकैको इँटाभट्टामा पुर्‍याई जिउँदै जलाएका थिए। घटनामा मृत्यु भएका तीनजनालाई पनि आलमले इँटा उद्योगमा जलाउन लगाएका थिए।

इँटा उद्योगका मुख्य मिस्त्रीलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ। ती मिस्त्रीले पनि महम्मद महताब आलमले नै घाइतेलाई भट्टामा जलाउन लगाएको बयान दिइसकेका छन्। घटनामा पक्राउ परेका चार अभियुक्तले अहिलेसम्म सांसद आफताब आलमको निर्देशनमा महताब आलमले नै इँटा भट्टामा मानिसलाई जिउँदै पोल्न लगाएको बयान दिइसकेका छन्।  

घटनाका सबै प्रमाण नष्ट गर्ने क्रममा महताब आलमले बम विस्फोट भएको घरलाई पनि राति नै मर्मत गरी पुरानोजस्तै बनाउन लगाएका थिए।  

घटनाबारे जानकारी पाएका सञ्चारकर्मी तथा मानवअधिकारकर्मीलाई महताब आलमकै नेतृत्वले रोकेको थियो। पक्राउ परेपछि प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा महम्मद महताब आलमले आफ्नो दाइ मोहम्मद आफताब आलमको निर्देशनमा घटना लुकाउने उद्देश्यले विस्फोटमा परी मृत्यु भएका तथा घाइते भएकाहरूलाई ट्याक्टरमा राखी इँटाभट्टामा जलाएको स्वीकार गरेको खुल्न आएको प्रहरीले जनाएको छ।  

सांसद आफताब आलमले गरेका सबै अपराधको ढाकछोप भाइ महताब आलमले नै गर्दै आएको र सांसद आलमले भाइलाई संरक्षण दिने गरेको आरोप जनता सामाजवादी पार्टीका नेता किरण साहले लगाए। तत्कालीन नेकपा एमालेबाट संविधानसभा सदस्यको उम्मेदवार रहेका शैलेन्द्र साहले महताब आलमको नेतृत्वमा बुथ क्याप्चर गर्ने मानिसको खोजी तथा संरक्षण हुने गरेको, बम बनाउने मानिस आउने गरेको र बम तथा बन्दुकजस्ता हतियारको प्रयोग हुने गरेको र अपराधीहरूको संरक्षण हुने गरेको आरोप लगाए। महताब आलमकै भरमा सांसद आफताब आलमले अपराध गर्ने तथा लुकाउने गरेको आरोप साहले लगाए।  

महताब आलमको कोरोना परीक्षण गरी अदालतमा पेस गरिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। जिल्ला अस्पताललाई कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न सोमबार नै लेखिपठाएको र रिपोर्ट आउनासाथ उनलाई अदालतमा पेस गरिने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहले जनाए।

प्रकाशित: २३ मंसिर २०७७ ००:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App