१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एकतर्फी बहस गराई सिद्धबाबालाई सफाइ

आफ्नै महिला अनुयायीलाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सिद्धबाबा भनिने कृष्णदास गिरीले सफाइ पाएका छन्। उनलाई सोमबार जिल्ला अदालत सुनसरीका एक नम्बर न्यायाधीश अर्जुन कोइरालाको एकल इजलासले सफाइ दिएको हो।

इजलासमा प्रतिवादीतर्फका वकिलहरूको मात्रै बहस गराएर फैसला आएपछि विवाद सुरु भएको छ। सरकारी वकिलको कार्यालयले सर्वोच्च अदालतबाट मिसिल आइनपुगेको कारण देखाउँदै पेसी हटाउन निवेदन दिएको थियो। निवेदन अस्वीकार गर्दै न्यायाधीश कोइरालाले एकतर्फी बहस गराएर अभियुक्तलाई सफाइ दिएका हुन्। अदालतको फैसलाप्रति सरकारी वकिलको कार्यालयले असन्तुष्टि जनाएको छ।  

सरकारी वकिल गोकुल निरौलाका अनुसार गत साता मात्र सर्वोच्च अदालतले गिरीको मुद्दाको सन्दर्भमा पुर्पक्षबाट रिहा नहुने फैसला गरेको थियो। यो मुद्दाको मिसिल सर्वोच्चबाट आइनपुगेको कारण पहिलो पटक पेसी हटाउन सरकारी वकिलको कार्यालयले निवेदन दिएको थियो। ‘फैसला भयो रे भन्ने सुन्यौं। हामीले मिसिल नभएकाले पहिलोपटक पेसी हटाउन माग गर्दै निवेदन दिएका थियौं तर अस्वीकार भएछ। मिसिल नभई कसरी बहस गर्न जानू’, सरकारी वकिल निरौलाले भने, ‘सरकारी वकिल गएनौं, पीडित पक्षका कोही पनि वकिल जानुभएन। प्रतिवादीको तर्फबाट मात्र एकपक्षीय बहस भयो।’

कानुन व्यवसायीहरूका अनुसार मुद्दाको सन्दर्भमा तीनपटकसम्म पेसी हटाउन पाउने कानुनी व्यवस्था छ। यस प्रकरणमा सरकारी वकिलको कार्यालयले प्रस्ट कारण खुलाएर पेसी हटाउन पहिलोपटक निवेदन दिएको थियो। ‘योजनाबद्ध रूपमा सफाइ दिने काम भएको हो,’ एक कानुन व्यवसायीले भने।

प्रकाशित: २३ मंसिर २०७७ ००:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App