२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

धनगढीमा शौचालय नबनाउँदै खुला दिसामुक्त घोषणा

सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र धनगढी बजार । तस्बिरः पुष्पराज/नागरिक

सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र तथा राजधानी रहेको धनगढीमा सार्वजनिक शौचालय छैन। धनगढीका मुख्य व्यापारिक केन्द्र, सार्वजनिक सरोकारका कार्यालय, चौराह, चौक तथा मुख्य बजार लाइनमै सार्वजनिक शौचालय नहुँदा आगन्तुक तथा यात्रुले सास्ती खेप्नु परेको छ।  

२०७५ वैशाख ३० गतेका दिन कैलालीलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिए पनि धनगढी बजारमा सार्वजनिक शौचालय नहुँदा सडक किनार, झाडी तथा नालामा यात्रुहरुले दिसा पिसाब गर्नुपर्ने बाध्यता छ। सार्वजनिक स्थलमा शौचालय नहुँदा बजार निस्कनु अघि घरमै शौच गर्नुपर्ने बाध्यता रहेको स्थानीय सरोज थारू बताउँछन्। उनले भने,‘बजारमा पिसाव लाग्दा च्यापेर बस्नु पर्ने बाध्यता छ।’ खुला दिसामुक्त घोषणा गर्नुअघि कमसेकम धनगढी बजारका ठाउँ–ठाउँमा सार्वजनिक शौचालय निर्माण गरिदिनुपर्ने उनी सुझाउँछन्। 

यात्रुको भिडभाड हुने स्थलमा सार्वजनिक शौचालय नै नबनाई धनगढीलाई खुला दिसामुक्त घोषणा गरिएको भन्दै स्थानीय सरकारको आलोचना बढ्दै गएको छ ।

‘खुला दिसामुक्त घोषणा गर्नुअघि कमसेकम सार्वजनिक शौचालय निर्माण गरिदिएको भए धनगढीको शोभा बढ्थ्यो,’ उनले भने,‘सार्वजनिक शौचालय नहुँदा बजार पुगेका यात्रु तथा उपभोक्तालाई समस्या थपिँदै गएको छ।’ सार्वजनिक शौचालय नहुँदा कहिलेकाहीँ बजारमै दिसा पिसाव लाग्दा चिने जानेको होटल तथा नास्ता पसलमा पस्नु पर्ने बाध्यता रहेको उनी बताउँछन्। उनले भने,‘तर, बाहिरबाट आएकाहरुलाई भने दिसा पिसाव पचाएर बस्नुपर्ने बाध्यता छ।’ प्रदेशकै मुख्य व्यापारिक केन्द्र तथा राजधानी भएकै सहर धनगढीमा कमसेकम चौकचौकमा सार्वजनिक शौचालय अनिवार्य रुपमा बनाइनु पर्ने अर्का स्थानीय रविन्द्र जोशी बताउँछन्।  

धनगढी चौराहदेखि अस्पताल लाइनसम्म कुनै पनि ठाउँमा सार्वजनिक शौचालय छैन। सार्वजनिक शौचालय नहुँदा काम विशेषले बजार आउनेहरुलाई बढी समस्या पर्ने गरेको हो।’ खुला दिसामुक्त अभियानकै लागि सरकारले करोडौँ खर्चे पनि सार्वजनिक स्थलमा शौचालय नहुँदा धनगढी खुला दिसामुक्त घोषणा अर्थहीन भएको राकेश चन्द बताउँछन्। ‘सार्वजनिक शौचालय नहुँदा बजारमा पिसावै लाग्दा पनि पचाउनुपर्ने बाध्यता छ,’ उनले भने। बजारमा पिसाव लाग्दा धेरैजसो यात्रुहरु संघीय प्रहरी कार्यालयको अगाडि मुख्य सडक किनारमै रहेको झाडीमा जाने गरेको उनले बताए। ‘धेरैजसो यात्रुहरु सवारी साधन रोकेर झाडीमै जान्छन्,’ उनले भने।

यात्रुको आवतजावत बढी हुने ट्राफिक चौराह, रातोपुल, एलएनचौक, अस्पताल लाइन नजिक सार्वजनिक शौचालय अनिवार्य हुनुपर्ने बताउँदै उनले भने,‘यात्रुको चाप भएकै स्थान वरपर उपमहानगरपालिकाले अहिलेसम्म शौचालय बनाउन सकेको छैन।’ सार्वजनिक शौचालय अनिवार्य भएका स्थानमा पनि नबनाएरै जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको बताउँदै उनले भने,‘यो नियमसंगत भएन, ठूला सहरमा कमसेकम एक/दुई ठाउँमा त सार्वजनिक शौचालय बनाइनु पथ्र्यो।’

सार्वजनिक जमिनको अभावमा धनगढी बजारमा सार्वजनिक शौचालय बनाउन नसकिएको बताउँदै उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले भने,‘पाँच वटा स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने उपमहानगरपालिकाको योजना हो, तर जमिन नै पाइरहेका छैनौ।’ सार्वजनिक शौचालयका लागि धनगढी बजार क्षेत्रमा निजी क्षेत्रको जमिन भाडामा लिएर होस् या निजी क्षेत्रसँग सहकार्य गरेर भए पनि बनाउने योजना रहेको उनले बताए।

प्रकाशित: २० मंसिर २०७७ ११:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App