नेपालको लुम्बिनी प्रदेशस्थित नेपालगन्जसँग सीमा जोडिएको रुपैडिहा नियमित बजार थियो। खाद्यान्नदेखि, अन्य उपभोग्य सामग्री किन्न रुपैडिहा आउनु दैनिकी जस्तै हुन्थ्यो। अहिले बाँकेबाट कार्य क्षेत्र कर्णाली प्रदेश भएकाले त्यो दैनिकी आजभोलि अनियमित बनेको छ। कहिले कसो मात्र किनमेलका लागि रुपैडिहा पुग्छु। भारतको उत्तर प्रदेशमा पर्ने रुपैडिहाको विषयमा केही ज्ञान भने छ। नेपाली बजारभन्दा सस्तोमा समान पाइने हुँदा नेपाली सेवाग्राहीको बाक्लो भिड हुन्छ। बजार त्यति व्यवस्थित र सभ्य जस्तो देखिँदैन। रुपैडिहाभन्दा लखनउसम्म धेरै पहिला बिहान गएर साँझ फर्केको थिएँ। आउँदा बिरामीसँग र फर्किँदा रात परिसकेकाले लखनउ केही नियाल्न सकेन। भलै यसको विषयमा सुन्ने मौका मात्र पाए।
तर, यसपालि भारतको सबैभन्दा ठूलो प्रदेशको रूपमा रहेको लखनउलाई सुन्न मात्र होइन अवलोकन गर्ने अवसर मिल्यो। म लखनउ घुम्न भने आएको थिएनँ, छोरा सम्राटविक्रमको उपचारको शिलशिलामा पुगेको छुँ। तर अस्पतालमा लामो बसाइँ भएकाले घुम्ने समय निकालेँ। यतिबेला कोभिड–१९ (कोरोना भाइरस) का कारण घुम्ने समय त छैन तर पनि सवारी साधन प्रयोग नगरि पैदलै ठाउँठाउँ घुम्न पुगेँ। रुपैडिहादेखि लखनउसम्म पुग्दा निर्माण गरिएका सडक बाटोका विषयमा गाडीमै धेरैपटक वाउ! वाउ! भन्दै पुगियो। कहिँकतै कालोपत्रेसमेत नउत्रिएको आनन्ददायी सडकमा सररर पुग्दा नेपालसँग सिंगो भारत होइन लखनउसँग तुलना गर्दा पनि नेपालको विकास कम भएको महसुस म मात्र होइन मसँगै लखनउ पुगेकी श्रीमती प्रेमा गौतमलाई पनि भएको छ।
सहरी र बजार क्षेत्रमा हुने भिडमा आकासे पुल, सडक चौडा आवश्यक पर्ने ठाउँमा चौडा बनाइएका छन्। आकासे पुलले लामो दूरीका साधनलाई झन्झट कम बनाएको छ। बजारभित्रको जामबाट छुटकरा दिन आकासे पुलले महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ। ठूल्ठूला घर। व्यस्त बजार। पार्कदेखि लिएर चोकसम्मका पूर्वाधार लोभ लाग्दा छन्। खोलानाला, मठ मन्दिर उस्तै किसिमले सिंगारिएका छन्। मान्छेको उपस्थितिले ती क्षेत्र रंगीन बनेका छन्। संगीतमय बनाइएका छन् ति क्षेत्रलाई। नेपालको पिछडिएको मानिएको कर्णाली प्रदेशलाई हेर्दा र अनुभूति गर्दा लाग्छ वाउ! लखनउ।
तर भौतिक संरचना र विकासको मोडेल देख्दा मात्र वाउ! भन्दै जिब्रो टोक्ने बनायो तर, त्यही चिल्ला सडक, झक्किझकाउ खोला, मठमन्दिर नजिकैको दुर्गन्ध हेर्दा भने वाउ! भन्न हिच्किचाउने अवस्था आउँछ। एक दिन बिहान पैदल यात्रा गर्दै थिए। चरक चौक नजिकै पुगे। त्यहाँ जथाभावी फालिएको फोहोरसँग मेरा आँखा ठोकिए। उताबाट हर्न बजाउँदै अटो रिक्सा आउँछ। फोहोर कुल्चिएर रोकिन्छ। अटोभित्रका यात्रु नाक थुन्छन्। केही छिन त्यहीनेर रोकिएँ। सयौं मान्छे यताउता गर्छन्, खाएको फोहोर सडकमै फ्याक्छन्। यति मात्र होइन सहर नियाल्दै अर्काे चोकमा पुगे। त्यहाँ पनि चोकमा सजावट, संरचना वाउ! त्यहाँसम्म पुग्ने सडकको अवस्था कत्ति पनि गुनासो गर्ने ठाउँ थिएन।
मैले यस विषयलाई कर्णालीसँग जोड्न खोजिरहेको छुँ। भौगोलिक विकटता र मुलुक संघीय संरचनामा जानुभन्दा पहिला सरकारको आँखा त्यहाँसम्म नपुग्दा कर्णाली पूर्वाधार निर्माणमा पछाडि छ। तर, कर्णालीका मान्छे त्यति असभ्य भएजस्तो मलाई लाग्दैन। कर्णालीभन्दा बाहिरबाट जानेले पनि बेलाबेला कर्णालीको सौन्दर्यतासँगै त्यहाँका सर्वसाधारणको पनि तारिफ गर्छन्। सामान्य जीवनशैली, प्राकृतिक सौन्दर्यतासँगै व्यस्त कर्णालीवासीको परिचय सभ्यतासँगै संस्कार र संस्कृति पनि छ। त्यसैले कर्णाली अहिले नै असभ्य भएको महसुस गर्नु परेको छैन। व्यस्त सडक छेउमा उभिएर दिसापिसाब गर्न त परको कुरा पछिल्लो समय त्यस्तै बाध्यताबाहेक शौचालयभन्दा बाहिर दिसापिसाब गर्ने बानी कमैमा छ। पूर्वाधार विकास मात्र ठूलो होइन, संस्कार र संस्कृति पनि उत्तिकै महत्वपूर्ण छ भन्ने कुरा लखनउ घुम्दा अझ बढी महसुस भयो।
घरमा आएका पाहुँना मात्र होइन बाटो हिँड्ने बटुवालाई समेत पानीले स्वागत गर्ने संस्कार कर्णालीमा अझै पनि विद्यमान छ। एक घरमा आफ्ट्यारो पर्दा अर्काेले सहयोग गर्ने बानी कर्णालीका लागि नौलो होइन। तर बढ्दो सहरीकरणका कारण बाक्लो बनेको लखनउमा मैले त्यो अनुभूति गर्न सकेन। लखनउको व्यस्त बजार क्षेत्र पुग्दै थिए। सवारी साधनको बाक्लो चाप थियो। सडक छेउमा हिँड्ने पैदलयात्रीको पनि उस्तै चाप। तर त्यही चापको वास्ता नगरि सडक छेउमा एउटा पुरुष टिंग उभिएका। उनी त्यहाँ त्यसै होइन, मान्छे यताउता गर्दागर्दै त्यहीनेर पिसाब गर्दै थिए। पैदलयात्री देखे पनि नदेखेझैं गर्न बाध्य छन्। नाक थुनेर र मन्ठो घुसारेर हिँड्नुबाहेक त्यहाँ पैदलयात्रीको अर्काे विकल्प थिएन। किनकी यो सहरमा त्यसरी नै हिँड्न बानी परेको छ।
जतिजति मान्छेको भिड भएको क्षेत्र जाँदै छु त्यति नै असभ्यताका रुप देखिन्छन्। विकास पूर्वाधारले मात्र होइन, सभ्यता, संस्कार र संस्कृति पनि चाहिन्छ। सभ्यता, संस्कार र संस्कृतिबिनाको सहरमा एकअर्काप्रतिको सद्भाव र मित्रता भेटाउन मुस्किलै पर्ला। जसले समाजलाई हिंसाप्रति ढकल्न मद्दत पुर्याउँछ। सद्भाव र मित्रताका लागि पूर्वाधार अत्यावश्यक हुँदैन। जहाँ सभ्यता, संस्कार र संस्कृति हुन्छ त्यहाँ सद्भाव र मित्रता सँगसँगै सुख, शान्ति, अमनचयन र हिंसारहीत समाज हुन्छ। अनि अर्काे कुरा राज्यले मात्र आफ्नो कर्तव्य निर्वाह गरेर सभ्य समाज निर्माण हुँदैन। जसका लागि त्यहाँ बसोबास गर्नेले पनि आफ्नो कर्तव्य पूरा गर्न जरुरी छ। सरकारले सडकलगायतका पूर्वाधार बनाउँदै जाने, सर्वसाधारण भत्काउँदै, फोहोर गर्दै र संरक्षण नगर्ने भन्ने कुरा हुँदैन। यो यही अभाव देखे मैले लखनउमा। जुन कर्णालीमा बिरलै पाइन्छ।
लखनउको अर्काे चोकमा पुग्दा सवारी साधन र पैदलयात्रीको चाप कत्ति कम थिएन। पसलहरूमा किनमेलका लागि ठेलमठेल थियो। कोरोना भाइरसको त्रासका बीच मान्छे केही आफ्नै सवारी साधनमा किनमेलका लागि आएका थिए। केही पैदल त कोही सार्वजनिक सवारी साधन अटो, ट्याम्पू चढेर आउने जाने क्रम चल्दै थियो। त्यही भिडमा एउटा चिल्लो कार सडक छेउमा रोकिन्छ। म नजिकै भएकाले ढोका खोल्न समस्या होला भनेर अलि छेउ सर्छुँ। कारको ढोका खुल्छ। आँखामा चस्मा, सफा कपडा लगाएका व्यक्ति कारभित्र थिए। शिक्षित र धनाड्य भएको आंकलन सहजै गर्न सकिन्थ्यो। लाग्दैनथ्यो कि उनी कुनै सामान्य व्यक्ति होइनन्। उनले मुखमा गुट्खा चपाइ रहेका थिए। कारबाट नओर्लिएरै प्याच्च गुट्खा थुक्दै सानका साथ हुइकिए। सडक रातो भयो। उनी मात्र होइन मैले शिक्षित, अशिक्षित वर्गका व्यक्तिले पान, गुट्खा खाएर जथाभावी थुकेको देखेको छुँ। मैले मात्र होइन सहर छिर्यो भने जो कोहीले देख्न सक्छ। यसले सडकै भत्काउने त होइन, करोडौं लगानी गरेर बनाएको चिल्लो सडकलाई दुर्गन्धित बनाएको छ। त्यति मात्र होइन, यसरी जथाभावी फोहोर फाल्दा र थुक्दा हाम्रा सन्ततिलाई कस्तो शिक्षा दिने भन्ने प्रश्न पनि उठ्छ। मैले सुनेको ठूला सहरमा जथाभावी थुक्न पाइँदैन। त्यसरी थुक्दा जरिवाना तिर्नुपर्छ। थुक्न मात्र होइन फोहोर फाल्ने ठाउँ र डस्बिनबाहेक अन्यत्र फाल्न पाइँदैन। तर लखनउमा जथाभावी फोहोर फाल्दा सहर कूरुप र दुर्गन्धित हुँदै गएको छ।
सहरीकरण हुनु आफैँमा राम्रो हो। सहकारीकरणसँगै सभ्य संस्कार र संस्कृति भुल्नु हुँदैन। जसले सहरलाई असभ्यता मात्र होइन, हिंसात्मक र फोहोरबाट पनि बचाउँछ। त्यसैले चेतना भया कि, ‘सभ्यतापूर्वक आफ्नो कर्तव्य पूरा गर्न जरुरी छ। आफैँबाट अहिले देखिनै सभ्य र कर्तव्यनिष्ट बनौं।’ जसले सुन्दर, शान्त समाजसँगै विकासको नयाँ गतिमा लिने छ।
प्रकाशित: १८ मंसिर २०७७ ०७:४४ बिहीबार