२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

गुल्मी दुर्घटनाः जिपले पिकअप लिन नसक्दा ६ जनाको ज्यान गुम्यो

नेपाली सेनामा कार्यरत इस्मा ४ का शिव दर्लामी लामो समय पछि घर बिदामा आएका थिए। शुक्रबार साना दुई छोराछोरीलाई घरमै छोडेर उनी श्रीमती सरस्वती र भाइ बशन्तसहित सदरमुकाम तम्घास जाँदै थिए। घर नजिकै दोहली हुलबाट उनीहरु लु १ ज ११६६ नम्बरको जिप चढे। जिपमा ७ जना यात्रु राखेपछि चालकले गाडी स्टार्ट गरे।

स्थानीय एकजना प्रत्यक्षदर्शीका अनुसार गाडीले पिकअप लिनुको साटो ओट नाघेर पछाडी ओरालो लाग्यो। जिप भिरतिर मोडिएपछि चालक सहचालकले हाम फाले। जिप यात्रुसहित ४ सय मिटर तल खस्यो। सदरमुकामको यात्रा सुरु हुनुअघि नै इस्मा ४ दोहलीका दुई दाजुभाइ ३३ वर्षीय शिव दर्लामी, ३० वर्षे बशन्त दर्लामी ,६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय धनबहादुर अछामी, र मालिका गाउँपालिका ५ की ८० वर्षे सुन्दरी थापाले हुलको भिरमा ज्यान गुमाए। सोही स्थानकै १९ वर्षीय फर्सुराम थापाको उपचारका लागि लैजादै गर्दा मृत्यु भयो। शिवकी श्रीमती २८ वर्षे सरस्वती दर्लामीको गम्भीर अवस्थामा पाल्पा उपचार भइरहेको छ।

जिपका सहचालक कमल हितानको हात भाँचिएको छ। उनको फुङ्गाल्ने क्रममा जिपको ढोकाले लागेर हात भाँचिएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै इस्मा प्रहरी चौकीले जनाएको छ। चालक अन्दाजी २४ वर्षे बुद्ध बस्नेत सकुशल छन्। उनलाई नियन्त्रणमा लिएर अनुशन्धान भइरहेको इस्मा प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक मोहनलाल अधिकारीले बताए। दुर्घटनामा ज्यान गुमाएकाहरुको शुक्रबार साँझ निस्दि घाटमा सामूहिक अन्त्येष्टि गरियो।

शुक्रबार एकाबिहानै जिप दुर्घटनामा ६ जना गुमाउनु पर्दा इस्मा ४ दोहलीको सिंगो गाउँ अहिले शोकमा डुबेको छ। दुर्घटनामा ज्यान गुमाएकाहरुको परिवारमा नाबालक छोराछोरी र वृद्ध बुवा आमा इन्तु न चिन्तुको अवस्थामा छन्। पोहोरको मंसिर १६ गते पनि बाग्लुङ जाँदै गरेको जिप दुर्घटना हुँदा इस्मा ४ कै १७ जनाले ज्यान गुमाएका थिए।  

एक वर्ष नहुँदै शुक्रबार फेरि ६ जनाको अनाहकमा ज्यान गयो। दुर्घटना स्थल केही उकालोमा भएपनि दुर्घटनाको उच्च जोखिम हुने खालको घुम्ती मोड नभएको इस्मा ४ का वडाध्यक्ष गनुप्रसाद अधिकारीले बताए। ‘जिप स्टाट गर्दागर्दै व्याक भएर भिरमा खसेको छ। गाडीको अवस्था ठिक भएको भए सायद दुर्घटना हुने नै थिएन’ वडाध्यक्ष अधिकारीले भने।

दोहली हुलबाट सदरमुकाम तर्फ जाने सो सडक कच्ची र उकालो ओरालो छ। जहाँ टु ह्वील गाडीलाई माथि चढ्न निकै मुस्कील हुने वडाध्यक्ष अधिकारीले बताए। तर शुक्रबार ६ जनाको ज्यान जाने गरी भएको दुर्घटना ग्रस्त जिप टु ह्वील थियो। फोर ह्वील जिपलाइ गाडी मालिकले खर्च बढी लागेको भन्दै निकालेर टु ह्वील बनाएको चालक बुद्ध बस्नेतलाई उदृत गर्दै इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीले बताए।

चालक बस्नेतका अनुसार सो जिप रेशुङ्गा नगरपालिका २ का तारा श्रेष्ठको हो। श्रेष्ठकै दवावमा फोर ह्वील निकालेर टु ह्वीलर बनाएको चालक बस्नेतले बताएका हुन्। स्थानीयका अनुसार सो जिप निकै थोत्रो थियो। पहाडको उकालो र कच्ची सडकमा यात्रु ओसार्न फोर ह्वील गाडी तुलनात्मक रुपमा सुरक्षित मानिन्छ। तर भित्री पहाडी गाउँहरुमा अहिले पनि थोत्रा र खर्च बचाउने बहानामा फोर ह्वील निकालेर टु ह्वील बनाइएका गाडीहरु धेरै चलाइन्छ। तर सम्बन्धित निकायले त्यस तर्फ ध्यान दिएको छैन। ट्राफिक चेकिङ पनि मुख्य सडक र शहरी क्षेत्रमा केन्द्रित छ। जसका कारण यस्ता दुर्घटना दोहोरिने गरेका छन्।

प्रकाशित: १२ मंसिर २०७७ १३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App