१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ताप्लेजुङमा समुदायमै फैलियो कोरोना

समुदायका सदस्यको आफ्नै लापरबाहीले ताप्लेजुङमा कोरोना संक्रमण समुदायस्तरमा फैलन थालेको देखिएको छ। भारतसहित तेस्रो मुलुकबाट फर्किएका र उनीहरुसंगको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुमा मात्र देखिने गरेको संक्रमण अहिले समुदायका धेरै सदस्यमा देखा पर्न थालेको छ। ४४ जनाको स्वाब परीक्षणका लागि पठाउँदा ११ जना सम्ममा कोरोना संक्रमण देखा पर्न थालेको ताप्लेजुङ जिल्ला अस्पतालले जनाएको छ।  

अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले संक्रमणको पछिल्लो अवस्थाले समुदायमा संक्रमणको जोखिम भयपूर्ण रहेको अनुमान गर्न सकिने बताए। कोरोना मिल्दोजुल्दो लक्षण देखिएकाहरु पनि एकान्तबासमा नरही भिडभाडमा जाने,मास्क, सेनिटाइजर लगायतका व्यक्तिगत स्वास्थ्य सुरक्षाका उपाय अवलम्वन नगरी यत्रतत्र हिड्ने, स्वाब दिएका मान्छेहरु पनि रिर्पोटै नआइ चिया पसल र सार्वजनिक स्थलमा पुग्ने जस्ता कार्यले कोरोना संक्रमण बढ्न बल पुग्ने डाक्टर लामा बताउँछन्। ‘अब समुदायस्तरमा पुग्न थालेको छ। यो बेलैमा नियन्त्रण नभए अवस्था भयाभह हुन्छ नै’, उनले भने। 

कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले संक्रमण समुदायस्तरमा फैलिनबाट रोक्न सर्तकर्ता अपनाउन यसअघि नै स्थानीय समुदायलाई आग्रह गरिसकेको छ। कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइले अब संक्रमणबाट बच्न प्रत्येक व्यक्तिले आफु र आफ्नो परिवार जोगाउन सक्नु नै उत्तम उपाय भएको बताए। संक्रमण समुदायस्तरमै पुगिसकेको अवस्थामा अत्यावश्यक काम बाहेक घर बाहिर नजान,स्वास्थ्य सुरक्षाका उपायको पूर्ण पालना गर्न, संक्रमणसंग मिल्ने प्रकृतिका लक्षण देखिए एकान्तबासमा रहन र कुनै स्वास्थ्य समस्या आए स्वास्थ्य संस्थाको सम्पर्कमा जान उनले आग्रह गरेका छन्।

 अहिले पछिल्लो अवस्था हेर्दा अधिकाँस संक्रमित भने सदरमुकाम फुङ्लिङमा रहेका छन्। पाथीभरा याङ्वरक गाउँपालिकाका एक कर्मचारी र आठराइ त्रिबेणी गाउँपालिका वडा नं ५ का केहि नागरिक बाहेक अधिकाँस संक्रमित सदरमुकामकै रहेको अस्पतालको तथ्याङ्कले देखाएको छ। यसबाहेक उपचारका क्रममा ताप्लेजुङ बाहिर गएका तर स्थायी ठेगाना यहिँ भएकाहरुमा समेत संक्रमण देखिएको छ। तर,उनीहरु ताप्लेजुङ बाहिर नै स्वास्थ्य लाभ गरिरहेका छन्। कोरोना संक्रमण समुदायस्तरमा पुगेको भन्दै फुङ्लिङ नगरपालिकाले भने शुक्रवार संक्रमितहरुको नजिकमा रहेका तथा शंकास्पद अवस्थाका फुङ्लिङ भित्रका नागरिकको स्वाब संकलन गर्ने भएको छ।  

नगरप्रमुख छत्रपति प्याकुरेलले खोजपड्ताल (कन्ट्रयाक ट्रेसिङ) का आधारमा र परीक्षण गर्न उपयुक्त छ भनी नगरपालिकाको स्वास्थ्य शाखाले ठम्याएकाहरुको पीसीआर परीक्षण गर्ने तयारी सुनाए। आकस्मिक रुपमा गरिनुपर्ने पीसीआर परीक्षणको तयारी तथा व्यवस्थापन भने कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको परार्मशमा ताप्लेजुङ अस्पतालले गरिरहेको छ। कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको सिफारिसमा यहाँका सथानीय तहमध्ये नगरपालिकाले ४ सय थान र बाँकी ८ वटा गाउँपालिकाले २–२ सय थान गरी २ हजार थान पीसीआर भाइल खरिद गरेका छन्। त्यहिँ पीसीआर भाइलबाट अनुभव प्राप्त स्वास्थ्यकर्मीले स्वाब संकलन गरी परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाउने गरिन्छ।  

प्रकाशित: ११ मंसिर २०७७ १०:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App