४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोनाले खोस्यो पाँच वरिष्ठ चिकित्सक

कोरोना संक्रमणका कारण नेपालमा हालसम्म पाँचजना वरिष्ठ चिकित्सकले ज्यान गुमाएका छन्। पछिल्लोपटक गत शनिबार काठमाडौंको ओम अस्पतालका वरिष्ठ जनरल ७८ वर्षीय र्सजन डा. धु्रब मुडभरीको निधन भएको थियो। उपचारका क्रममा शनिबार साँझ निधन भएको मुडवरी ओम अस्पतालका पूर्व संस्थापक भएको डा. भोला रिजालले जानकारी दिए। अस्पतालका अनुसार मुडभरीमा ९ दिनअघि कोरोना पुष्टि भएसँगै ओम अस्पतालमै उपचाररत थिए। उपचारको पाँचौं दिन खोपको मात्रा पुरा भएपछि डिस्चार्ज भएर घर गएकै भोलिपल्ट बेहोस भएपछि फेरि उनलाई ओम अस्पतालमै लगेर उपचार गरिएको थियो। दोस्रोपटक भर्ना गरेको तीन दिनमै उनको मृत्यु भएको हो।

कोरोनाले फोक्सोमा क्षतिपुगेपछि श्वास–प्रश्वासमा अवरोध भई निधन भएको डा. रिजालले जानकारी दिए। ओम अस्पतालको स्थापनाकालदेखि नै सेवारत डा. मुडभरीको निधनले चिकित्सा सेवामा क्षति पुगेको र आफूलाई दुखी तुल्याएको डा. रिजालले बताए। स्वर्गीय मुडभरीले ओम अस्पतालमा ३१ वर्ष सेवा गरेका थिए।

कोरोना संक्रमणको कारण चिकित्साशास्त्र अध्ययन संस्थानका वरिष्ठ प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डा. सुनिलचन्द्र झाको पनि एक साताअघि मृत्यु भएको थियो। त्रिविवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको हो। उनको कोरोनाको कारण बहुअंग बिगे्रर भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको थियो।

त्यसैगरी इशान अस्पतालका डा. तथा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. नारायणबहादुर थापाको कोरोना संक्रमणको कारण मृत्यु् भएको हो। उनको गत कात्तिकको अन्तिम साता मृत्यु भएको थियो।

असोज १५ गते कोरोना संक्रमणको कारण सुर्खेत अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. हरिप्रसाद सापकोटाको मृत्यु भएको थियो। गत कात्तिक १६ गते वरिष्ट चिकित्सक डा. निलम अधिकारीको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। डा. अधिकारीसहित नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेमा हालसम्म ५ जना चिकित्सकको मृत्यु भएको तथ्यांक प्राप्त भएको मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। पाँचजना चिकित्सकसहित हालसम्म १२ जना स्वास्थ्यकर्मीको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको अधिकारीले जानकारी दिए। ‘अहिलेसम्म हामीलाई यति मात्र जानकारी प्राप्त भएको छ, थप पनि हुन सक्छन् ’ उनले भने। कोरोना भाइरस संक्रमणले समुदायमा मृत्यु बढ्दै गएपछि चिकित्सकहरुको पनि पेशाको कारण संक्रमित हुन गई मृत्यु भएको उनले बताए।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीका अनुसार चिकित्सकहरु सिधै बिरामीसित सम्पर्कमा रहेर दैनिक काम गर्नुपर्ने हुनाले चिकित्सकहरु पनि बढी मात्रामा संक्रमित हुन्छन्। संक्रमितमध्ये पनि धेरै जसो वृद्ध उमेरमा पुगेका चिकित्सकहरुको मृत्यु भएको देखिन्छ। ‘चिकित्सक भनेको आगोमा काम गर्ने व्यक्ति हुन्, आगो खेलाउने मानिसलाई खतरा हुन्छ,’ उनले भने। वृद्ध उमेरमा प्रवेश गरेका चिकित्सकहरुको पनि अन्य व्यक्तिको जस्तै रोग प्रतिरोधात्मक क्षमता कम हुने हुनाले कोरोना संक्रमणको कारण मृत्यु हुन गएको डा. कार्कीैले बताए। नेपालको तुलनामा अन्य देशहरुमा कोरोना महामारीको कारण मृत्यु भइरहेको उनले बताए। ‘ भारतमा हजारौं चिकित्सकको कोरोना संक्रमणबाट निधन भइसकेको छ, त्यो तुलनामा नेपालमा कम देखिन्छ,’ उनले भने।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीका अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मी प्रत्यक्ष बिरामीको सम्पर्कमा भइरहने हुनाले संक्रमणको जोखिम हुने र कतिपयको मृत्यु समेत हुने गरेको बताए। ‘डा. झाले मुटुको बिरामीको उपचार गर्नुहुन्थ्यो, मुटुरोगीमा कोरोना संक्रमण पनि हुन सक्छ,’ उनले भने।

कोरोनाबाट थप १६को मृत्यु
कोरोना संक्रमणको कारण थप १६ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ३७ जना पुगेको छ। तीमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ६ सय ५७ जनाको मृत्यु भएको छ।

गत २४ घण्टामा थप १ हजार ९ सय ८० जनामा कोरोना पुष्टि भएको छ। यीसहित नेपालमा २ लाख २२ हजार २ सय ८८ जना संक्रमित पुगेका छन्। तीमध्ये ८ हजार ८ सय ८४ जना सक्रिय संक्रमित छन्। संक्रमितमध्ये १२ हजार २ सय ७१ जना होम आइसोलेसन र ३ सय ६५ जना आइसियुमा उपचाररत छन् भने ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हाल उपत्यकामा १० हजार ७ सय ९३ जना सक्रिय संक्रमित छन्।

प्रकाशित: ९ मंसिर २०७७ ०१:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App