२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दशकदेखि अलपत्र शिवाई पक्की पुल ३ महिनाभित्र सकिँदै

निर्माणको अन्तिम चरणमा पुगेको शिवाईस्थित त्रियुगा पुल । तस्बिरः महेश्वर

एक दशकदेखि अलपत्र रहेको उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुर शिवाईस्थित त्रियुगा नदीमा निर्माणाधीन पक्की पुल यसै आर्थिक वर्षभित्र सकिने भएको छ। तीन वर्षभित्र सक्ने गरी ०६७ साल असारमा सम्झौता गरेर काम थालिए पनि ठेकेदार कम्पनीको लापरबाहीले अलपत्र भएकोमा सडक कार्यालयको कडाईपछि यसै वर्ष सक्ने गरी काम अघि बढेको हो।

स्थानीय सडक सञ्जाल (एलआरएन) प्रविधिमा बन्ने २ सय ८४ दशमलव ६ मिटर लामो र ५ मिटर चौडाईको पुलका १३ मध्ये १२ स्पान बनिसकेको र एउटा स्पान र त्यसमा स्ल्याव लगाउन मात्र बाँकी छ। ०७० असार २२ गतेभित्र सकेर हस्तान्तरण गर्ने सम्झौता गरेको महालक्ष्मी/लोकप्रिय जेवी कलंकीले ५–६ पटक म्याद थपिसक्दा गत चैत ११ यता सुरु कोभिड महामारी सुरु भएपछि काम थप अवरुद्ध हुन पुगेको थियो।  

निर्माणको रेखदेख गर्ने जिम्मा पाएको गाईघाट दिक्तेल सडक योजना उदयपुरका प्रमुख ईन्जिनियर (डिई) गोपाल खकुरेलले आउँदो असारभित्र जसरी पनि पुल सक्नेगरी ठेकेदारले काम थालेको बताए। उनका अनुसार ५/६ पटक म्याद थपिसकेको हुनाले अव पनि काम ढिला गरे कालोसूचीमा राख्ने चेतावनी दिँदै पत्राचार गरेपछि बल्ल निर्माण कम्पनी तात्तिएर काममा लागेको छ। ‘पुलको काम धेरै ढिला भएकाले छिट्टै सक्न अनुरोध गरेँ, तर पत्याएन’ डिई खकुरेलले भने ‘बिभिन्न बहाना गरेर आनाकानी गरेपछि कालोसूचीमा राख्ने चेतावनी दिएँ अनि बल्ल यसवर्ष जसरी पनि सक्ने प्रतिबद्धतापत्रमा सही गरेर काम थालेको छ।’

डिई खकुरेलका अनुसार ८५ प्रतिशत सम्पन्न भईसकेकाले लगातार काम गरेमा पुल ३ महिनाभित्रै सकिने बताए। सरासर काम गर्ने हो भने फागुन–चैतभित्रै पुल सम्पन्न भएर हस्तान्तरण गर्न भ्याइने उनले बताए। सकेसम्म वैशाख–जेठको वर्षामा बाढीको चपेटा स्थानीयले खेप्न नपर्ने गरी पुलको काम गर्न आफूले ताकेता गरेको खकुरेलको भनाई छ। ७ महिनादेखि कोभिड लकडाउन र त्यसपछि दसैं, तिहार र छठको कारणले गतवर्ष नै सकिने पुल अहिलेसम्म लम्बिएको उनले बताए।  

सुरुमा ९ करोड ७८ लाखमा ठेक्का लागेको पुलको काम ढिलाई भएपछि भेरिएसन गर्दै ११ करोड २५ लाख लागत पुगेको छ। अवको ३–४ महिनाभित्र पुल बन्ने भएपछि सो बाटो भएर चल्ने कन्चनपुर–फत्तेपुर–बसाहा खण्ड सडकलाई धरान–चतारा–गाईघाट–सिन्धुली–हेटौडा जोड्ने मदन भण्डारी लोकमार्गसँग जोड्ने भएको छ। त्यसैगरी वर्षौंसम्म पुल नबन्दा चौदण्डीगढी ५ शिवाई र सुन्दरपुरवासीलाई नगरपालिका केन्द्र बेलटार आउजाउ गर्न सहज हुने भएको छ।  

चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले शिवाईको पुल यसैवर्ष बन्ने भएपछि हरेक वर्षायाममा ५ नं. वडाबासी नगरपालिका केन्द्र आउजाउ गर्न त्रियुगा बाढीमा डुंगा तर्नुपर्ने बाध्यता हट्ने बताए। मेयर राईका अनुसार वर्षेनी बाढीको समस्याबाट बँच्न डुंगाको सेवा दिँदै आएको र हिउँद याममा पनि खोला तर्ने समस्या टार्न नगरपालिकाले ह्युम पाईप बिछ्याएर आउजाउमा सहज बनाउँदै आएको छ। ‘अव यो वर्ष चाही पुल बनिसक्ने पक्का छ, त्यसो भएपछि वर्षौदेखिको डुंगा तर्ने स्थानीयको बाध्यता हट्ने विश्वास लिएको छु’ मेयर राईले भने।  

मेयर राईले नगरपालिकाका ५, ९ र १० नम्बर वडाबासीकासमेत आउजाउको मुख्य नाका भएकाले गाईघाट दिक्तेल सडक कार्यालय, विभाग र मन्त्रालयमा पटक पटक लिखित तथा मौखिक अनुरोध गर्दा बल्ल यसवर्ष पुल बन्न लाग्दा खुसी लागेको बताए। पुल ढिला भएपछि नगरबासीको तर्फबाट गतवर्ष प्रतिनिधिमण्डल लगेर उनले मन्त्री र प्रधानमन्त्रीसमेतको ध्यानाकर्षण गराएको स्मरण गरे।

प्रकाशित: ८ मंसिर २०७७ ०७:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App