१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोना अन्त्यको कामना गर्दै आस्थाको महापर्व छठ सम्पन्न

यसपालि उपासकले कोरोनाबाट समाजलाई मुक्तिको कामना गरे

छठी घाटमा उपसक तथा श्रधालुहरुको उल्लास। तस्विरः मिथिलेश/नागरिक

शुद्धता र धार्मिक आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेर पर्वको समापन गरेका छन्। चार दिनसम्म मनाइने छठ पर्वको मुख्य दिन शुक्रबार अस्ताउँदो सूर्यलाई अर्घ्य चढाएर सुरु भएको रमझम शनिबार कोरोना महामारी अन्त्यको कामनासहित उदाउँदो सूर्यदेवलाई अर्घ्य दिएपछि सकिएको छ।  

छठ पूजाका उपासकहरु जलासयमा दुवै हत्केलाले पिठार र सिन्दूर पूजा सामग्रीमा लगाई सूर्यलाई अर्घ्य अर्पण गरेका छन। अर्धयमा ठकुवा, केरा, उखु, भुसुवा, भोगटे र विभिन्न वनस्पति, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गरेर छठ समापन गरेका छन। सूर्यलाई दिइने अर्घयमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको घोतक मानिन्छ।

छठ पर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो। छठ पर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि संकल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो। अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो।

धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ। आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिक विशेषता हो, जो आडम्वरविहीनताको परिचयसँगै श्रमको सम्मानको परिचायक मानिन्छ। सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ।

छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य पनि त्यत्तिकै छन्। वैज्ञानिक र ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन्। ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी पनि व्रतालुले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ। कोरोना सङ्क्रमणको त्रास भए पनि छठका अवसरमा बेहुलीझैँ श्रृगारिएका पोखरी र तलाउमा नवबस्त्रमा सजिएका श्रद्धालु पनि दर्शनीय रहेको थियो।

प्रकाशित: ६ मंसिर २०७७ ०३:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App