२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

प्रहरीद्वारा १ लाख १२ हजार बोट गाँजा फँडानी

उदयपुर प्रहरीले पछिल्लो समय चलाएको साताव्यापी गाँजा फँडानी अभियानबाट झन्डै सवा १ लाख बोट गाँजा नष्ट गरेको छ । जिल्लामा लगाइएको गाँजा खेती नष्ट गर्ने अभियानअन्तर्गत कात्तिक २२ गतेदेखि २६ गतेसम्म सञ्चालन गरेको पछिल्लो अभियानमार्फत प्रहरीले सो गाँजा खेती नष्ट गर्न सफल भएको जनाएको छ ।

जिल्लाका विभिन्न ठाउँमा भइरहेको अवैध गाँजा खेतीबारे जानकारी आएअनुसार टोली खटाएर फँडानी अभियान चलाइएको प्रहरीको भनाइ छ । सो क्रममा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी प्रमुख एसपी र डिएसपी कमान्डमा खटेको छुट्टाछुट्टै टोलीले विभिन्न ठाउँ पुगेर गाँजा फँडानी गर्दै नष्ट गरेको एसपी भीमबहादुर दाहालले बताए । उनका अनुसार आफू स्वयंको कमान्ड र इप्रका रामपुरका इन्स्पेक्टर कमान्डको संयुक्त टोलीले बेलका नगरपालिका–७ का विभिन्न बस्तीमा लगाइएको हजारौं बोट गाँजा खेती फँडानी गरेर नष्ट गरेको छ ।  

गाँजा खेती अधिक लगाइएको र आफैं उम्रेको क्षेत्र बेलका–७ मैनामैनीका हिन्डुला, त्रिवेणी, वडाङ क्षेत्रमा संयुक्त टोलीले गाँजा फँडानी गर्दै नष्ट गरेर फर्केको दाहालले बताए । त्यस्तै जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रसाद गौतमको कमान्ड र इलाका प्रहरी कार्यालय कटारीका डिएसपी हेमन्त भण्डारी कमान्डको अर्को संयुक्त टोलीले जिल्लाको ताप्ली गाउँपालिका–१, २ र ४ का विभिन्न बस्तीमा १ सय ५८ रोपनी जमिनमा लगाइएको र आफैं उम्रेका ६७ हजार १ सय ५० बोट गाँजा फडानी गरी नष्ट गरेको छ ।  

प्रहरीले गत भदौ १ गतेदेखि नै गाँजा फँडानी अभियानमा टोली परिचालन गर्दै आएको र हालसम्म १ लाख १२ हजार ६ सय १८ बोट फँडानी गरी नष्ट गरेको हो । प्रहरीले त्रियुगा नगरपालिका, बेलका नगरपालिका, ताप्ली गाउँपालिका र रौतामाई गाउँपालिकाभित्रका विभिन्न स्थानमा लगाइएको र आफैं उम्रेको ३ सय ९२ रोपनी क्षेत्रफल जग्गाको गाँजा नष्ट गरिसकेको दाहालले बताए । उनका अनुसार गाँजा फँडानी अभियान अझै जारी रहेको छ ।

प्रकाशित: २९ कार्तिक २०७७ ०४:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App