१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अनशनरत कर्मचारी आइसियूमा भर्ना

अनशनरत कर्मचारी आइसियूमा भर्ना । तस्बिरःनागरिक

धनुषाको जानकी मेडिकल कलेजको सुधारको माग राख्दै अनशनरत दुई जना कर्मचारी आइसियूमा भर्ना भएका छन्। अनशनरत मेडिकल कलेजको इमर्जेन्सी विभागका कर्मचारी कुलदीप साह र सुरक्षा विभागका कर्मचारी जानकीशरण यादवलाई स्वास्थ्य अवस्था विग्रिएपछि आइसियूमा भर्ना गरिएको हो।

साह र यादव १३ दिनदेखि मेडिकल कलेजमै आमरण अनशन बस्दै आएका छन्। उनीहरुको स्वस्थ्य अवस्था जटिल बन्दै गएपछि अहिले प्रादेशिक अस्पताल जनकपुरको आइसियूमा भर्ना गरि उपचार भैरहेको कर्मचारी हकहित संरक्षण मञ्चका संयोजक उमेश यादवले जानकारी दिए। आइसियूमा पनि उनीहरु अनशन जारी राखेका छन्।  

उनीहरूको अनशनमा मेडिकल कलेजका सबै कर्मचारीले साथ दिएका छन्। तर, स्वास्थ्य जटिल हुँदा पनि मेडिकल कलेज नेतृत्वले भने वार्ता र सहमतिको पहल गरेको छैन। विभिन्न मागसहित कार्तिक १६ गतेदेखि साह र यादव आमरण अनशनमा बसेका हुन्। दुवैजनालाई १२ औं दिनमा बिहीबार आइसीयूमा भर्ना गरिएको संघर्ष समितिका संयोजक यादवले बताए। अनशरत साह र यादव कर्मचारी हकहित संरक्षण संघर्ष समितिका सदस्य हुन्।

सहकर्मी कर्मचारीमाथि कलेज प्रशासनले गरेको कारबाही फिर्ता लिनुपर्ने, ८ महिनादेखि बाँकी पारिश्रमिक, दसैँ खर्च र ६ वर्षको संचय कोषको हरहिसाब दिनुपर्ने लगायतको मागसहित दुवैजना अनशनमा बसेका हुन्।

‘हामी बितगमा थुप्रै पटक आन्दालन गर्यौं। व्यवस्थापन पक्षले थुप्रै पटक सहमति गर्यो, तर कार्यान्वयन गरेनन्। उल्टै कर्मचारीहरुलाई नै विभिन्न बाहानामा निकाल्ने, स्पष्टीकरण सोध्ने, कारबाही गर्ने जस्ता कार्य गरेर आतंकित बनायो’ संघर्ष समितिका संयोजक यादवले बताए। बाध्य भएर अनशन बस्ने निर्णयमा पुगेका हौं।  

कर्मचारीहरु झण्डै दुई महिनादेखि हरहिसाब माग गर्दै ओपीडी सेवा र प्रशासनिक सेवा बन्द गरी धर्ना दिँदै आएका थिए। भदौ ३० गते जिल्ला प्रहरी कार्यालय धनुषामा कलेज व्यवस्थापक र आन्दोलनरत कर्मचारीबीच असोज ४ गते भित्र लेखापाल राखेर हर हिसाब गर्ने, असोज ३० गतेसम्म दसैँ खर्च, संचय कोष र पारिश्रमिकलगायतका सम्पूर्ण रकम भुक्तानी गर्ने सहमति भएको थियो।

सहमति पश्चात् कर्मचारी काममा फर्किदा व्यवस्थापन पक्षले केही कर्मचारीलाई स्पष्टीकरण र कारबाहीको पत्र थमाएपछि पुनः आकस्मिक सेवा बाहेक सबै सेवा ठप्प गरी आन्दोलन गर्दै आएको संयोजक यादवले बताए।

हाम्रो माग ठूलो छैन। अनशन नै बस्नुपर्ने माग पनि होइन यादवले नागरिकसँग भने,‘काम गरेको पारिश्रमिक लिन अनशन बस्नुपर्ने अवस्था कलेज व्यवस्थापनले ल्याएको हो। काम गरिरहेका कर्मचारीलाई अवकाश दिइएको छ। कति कर्मचारीलाई छोड्न बाध्य बनाइएको छ। छोडेकालाई काम गरेको पैसा दिइएको छैन। छ महिनाको सञ्चय कोष, दसैँ भत्ता पाएको छैन, उनले गुनासो पोखे।  

कोरोनाको कारण भन्दै कर्मचारीलाई अवकाश दिने, स्पष्टीकरण सोध्ने र कर्मचारीलाई पीडा दिने काम भयो उनले भने,‘पहिला भएको सहमति कार्यान्वयन नगरेसम्म अनशन रोकिदैन। एनएमसीको मापदण्ड लागू गरी स्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने माग हाम्रो व्यक्तिगत होइन उनले भने,‘कलेजमा दक्ष जनशक्तिसहितको स्तरीय सेवाका लागि समेत यो अनशन केन्द्रित छ।’

प्रकाशित: २८ कार्तिक २०७७ १३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App