९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

भत्किएको मेची राजमार्गमा दुर्घटनाको जोखिम

राजदुवाली–गोलाखर्क खण्डमा बिग्रिएको मेची राजमार्ग । तस्बिर : भीम/नागरिक

दर्जनौं स्थानमा भत्केर जीर्ण बनेको मेची राजमार्गमा सवारीका साधन चलाउन जोखिम बढेको छ। बिग्रेको कालोपत्रे लामो समयसम्म मर्मत नगरिँदा सवारी चलाउन ज्यादै समस्या परिरहेको यातायात व्यवसायीले गुनासो गरेका छन्।

इलाम नगरपालिकाको राजदुवालीदेखि पुवाखोलासम्म करिब ३० किलोमिटर राजमार्ग अहिले धेरै स्थानमा बिग्रिएको छ। कालोपत्रे भत्केर ठुल्ठूला खाल्डा परेको छ भने सडक धस्सिएर कतिपय स्थानमा खुड्किलै खुड्किला भएको छ। कतिपय ठाउँमा सडकको आधाभन्दा बढी भाग नै बिग्रिँदा राजमार्ग एकतर्फीजस्तो मात्रै भएको याताताय व्यवसायीले बताएका छन्। कालोपत्रे जीर्ण हुँदा सवारीका साधन दुर्घटना भइरहेको पूर्वेली जिप तथा ट्याक्सी प्रालि अध्यक्ष गृष्म सुब्बाले बताए। ‘मेची राजमार्गमा गाडी चलाउन अति नै अप्ठ्यारो भएको छ,’ उनले भने, 'भत्केर एकतर्फी भएको स्थानमा गाडी ओभरटेग गर्दा बढी दुर्घटना निम्तिएको छ।’  

सडक अप्ठ्यारो भएकाले मर्मत गर्न व्यवसायीले पटक–पटक माग गरेपनि सडकको अवस्था उस्तै रहेको उनले जनाए। ‘सडक बिग्रेको १ वर्ष भइसक्यो, विभिन्न कारण देखाएर मर्मत गरिएको छैन,’ इलाम नगरपालिका–५ का वडा सदस्यसमेत रहेका सुब्बाले भने, ‘नागरिकले यत्रो सास्ती पाउँदा नियमनकारी निकाय यसरी चुप लागेर बस्न हुनेथिएन।’ उनले सडकमा खाल्डाखुल्डी जोगाउँदा मोटरसाइकल र ठूला सवारी साधन ठोक्किने घटना धेरै भइरहेको बताए।  

माइखोलादेखि गोलाखर्क भञ्ज्याङ खण्डको करिब आधा दर्जन स्थानमा वर्षाैंदेखि राजमार्ग धस्सिएको र भत्किएको छ। यो स्थानमा मर्मतका लागिमात्रै करोडौं रुपैयाँ खर्च भइसकेको छ। ५ करोड हाराहारी रकम खर्चेर गरिएको ‘रक’ एंकरिङसमेत असफल भएपछि सडकको अवस्था दयनीय छ। मर्मतका लागि लागेको ठेक्काको म्याद गत असारमै सकिएको छ। तर, सडक मर्मत हुन सकेको छैन।  

राजदुवाली–पुवाखोला खण्डका दर्जनौं स्थानमा मर्मतका नाममा बर्सेनि भइरहेको करोडौं खर्चले राजमार्ग सुध्रिन नसकेको इलाम नगरपालिका वडा ५ का अध्यक्ष ठाकुरनारायण श्रेष्ठ बताउँछन्। ‘राजमार्गमा गाडी चलाउनै नसक्ने अवस्था हुन लागेको छ,’ उनले भने, ‘सम्बन्धित निकायको बेलैमा ध्यान नगए उपभोक्ता चुप लागेर बस्ने अवस्था छैन।’ राजमार्ग मर्मत नहुँदा लाखौं उपभोक्ताले सास्ती खेप्नुपरिरहेको वडाध्यक्ष श्रेष्ठले बताए।  

जिल्लाका जनप्रतिनिधिको नेतृत्व र स्थानीय प्रशासनले ध्यानाकर्षणसहितको चेतावनी दिँदासमेत संघीय सडक अनुगमन तथा सुपरीवेक्षण कार्यालयले तीव्र रूपमा मर्मतको काम अघि बढाएको छैन। गत असोजमा जिल्ला समन्वय समितिले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा समन्वय प्रमुख गणेशप्रसाद बराल, इलाम नगरपालिकाका मेयर महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंलगायतले राजमार्ग मर्मतमा ध्यान नपुगेको भन्दै सडक कार्यालयलाई चेतावनी दिएका थिए। प्रजिअ सेढाईंले म्याद गुज्रिएपनि काम नभएका आयोजना अनुगमन गरी तत्काल ठेकेदार कम्पनीमाथि दबाब दिन निर्देशन दिएका थिए।  

तर, अहिलेसम्म त्यस्तो अनुगमन नभएको प्रजिअ सेढाईंले बताए। ‘म्याद गुज्रिएर पनि किन सडक, पुलको काम सकिएन भन्नेबारे म आफैं अनुगमन गर्छु, कार्यक्रम मिलाउनुस् भनेर सडक कार्यालयलाई भनेको थिएँ,’ उनले भने, ‘तर, अहिलेसम्म त्यस्तो कार्यक्रम मिलेको छैन। तिहारपछि त्यस्ता योजनाको अनुगमन हुन्छ।’ भत्केको मेची राजमार्गको काम पनि किन बेलैमा भएन भन्नेबारे आफैंले अनुगमन गर्ने प्रजिअ सेढाईंले बताए।  

ट्राफिक प्रहरीले पनि मेची राजमार्गको धेरै खण्ड बिग्रिएकाले सवारी साधन दुर्घटनाको खतरा बढेको जनाएको छ। जिल्ला ट्राफिक प्रमुख योगेन्द्र दाहालले ठूला दुर्घटना नभएपनि राजमार्ग बिग्रेकै कारण साना दुर्घटना भइरहेको जनाए। ‘दुर्घटना सानो वा ठूलो हुनेभन्दा पनि त्यसले गर्ने क्षति गम्भीर हुनसक्छ,’ उनले भने, ‘अहिले मेची राजमार्ग भत्किएका कारण सवारीका साधन दुर्घटनाको त्यस्तै खतरा बढेको छ।’  

सडक कार्यालय प्रमुख अविमन मुल्मीले धेरै बिग्रिएको राजदुवाली–पुवाखोला खण्डको मर्मतमा लागेको ठेक्काअनुसार काम सुरु भएको बताए। ‘काम त अस्ति असारमै सकिनुपर्ने हो तर कोभिड–१९ र निरन्तर वर्षाले हुन पाएन,’ उनले भने, ‘अहिले ठाउँ–ठाउँमा मर्मतको काम सुरु भइसकेको छ।’ माइखोला–गोलाखर्क भञ्ज्याङ खण्डमा राजमार्ग धेरै बिग्रिएकाले मर्मतका लागि बढी नै समय लाग्नसक्ने बताए। ‘त्यो खण्डमा चाहिँ तत्कालै कालोपत्रे गरिहाल्ने अवस्था छैन,’ उनले भने।  

सडक कार्यालयले राजदुवाली–पुवाखोला खण्डको मर्मतका लागि गएको आर्थिक वर्ष २०७६/०७७ मा ५ करोड रुपैयाँको ठेक्का लगाएको थियो। ४२ हजार घनमिटर कालोपत्रेसहितको यो ठेक्काको काम भर्खरमात्र सुरु हुँदैछ। ‘यो खण्ड सुधार्ने अरू कामको पनि ठेक्का लागेको छ,’ कार्यालय प्रमुख मुल्मीले भने, ‘यही मंसिरभित्र मर्मतको काम सक्छौं।’

प्रकाशित: २८ कार्तिक २०७७ १३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App