३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

कोरोनामा सरकारी नीति: संक्रमित पनि संक्रमणमुक्त

घोराही उपमहानगरपालिका वडा नम्बर १५ रतनपुरका विपीन रावत (नाम परिवर्तन ) कोरोना संक्रमण भएको महिना दिन नाघिसक्यो। यो अवधिमा उनले तीनपटक कोरोना परीक्षण गराइसके। तर तीनैपटकको परीक्षणमा उनि कोरोना संक्रमित देखिए। महिना दिनदेखि होम आइसोलेसनमा रहेका उनी कोरोना संक्रमण भएकै कारण घरबाहिर निस्केका छैनन्। तर सरकारले भने उनलाई संक्रमणमुक्त भैसकेको भनेर घोषणा गरिसकेको छ। उनी संक्रमण भएको १४ दिनपछि नै उनी सरकारको ‘डिष्चार्ज’ सूचीमा परिसकेका छन्।

आफू कोरोना संक्रमित रहिरहे पनि सरकारले निको भइसकेको तथ्यांकमा सूचीकृत गरेको सुनेपछि उनी अचम्मीत छन्। ‘अब म सरकारको घोषणाअनुसार संक्रमित रहिन, तर कोरोना जाँचको रिपोर्टअनुसार म अहिले पनि संक्रमित नै हुँ,’ विपीनले भने, ‘म सरकारको घोषणालाई आधिकारिक मानुँ या आफ्नो स्वास्थ्य जाँचको रिपोर्ट ?’

घोराही १२ हापुरकी नमिता शर्मा तीन साताअघि कोरोना संक्रमित भइन्। संक्रमण भएको १४ दिनपछि उनले पुनः परीक्षण गराइन्। उनलाई योपटक पनि कोरोना संक्रमणनै देखियो। आफूलाई कोरोना संक्रमण भएयता तीन सातादेखि होम आइसोलेसनमा रहेकी उनी पनि सरकारको नजरमा भने अब कोरोना संक्रमणमुक्त भइसकेकी छिन्। ‘म त कोरोना जाँच गरेर आएको रिपोर्टका आधारमा अहिले पनि कोरोना संक्रमित नै हुँ,’ उनले भनिन् ‘आफू संक्रमित भएकै कारण घर परिवारका सदस्यसँग पनि छोइएकी छैन।’

‘अब म सरकारको घोषणाअनुसार संक्रमित रहिन, तर कोरोना जाँचको रिपोर्टअनुसार म अहिले पनि संक्रमित नै हुँ। म सरकारको घोषणालाई आधिकारिक मानुँ या आफ्नो स्वास्थ्य जाँचको रिपोर्ट ?’

यी प्रतिनिधि पात्र हुन्। पटकपटकको चेकजाँचका क्रममा पनि कोरोना संक्रमण देखिएका कैयौं संक्रमितहरुलाई सरकारले निको भइसकेको तथ्यांकमा सूचीकृत गर्ने गरेको छ। सरकारको पछिल्लो नीतिअनुसार कोरोना संक्रमितहरु १४ दिनपछि सरकारको तथ्यांकमा स्वतः संक्रमण मुक्त बनेको उल्लेख हुन्छन्। सरकारको यसै नीतिलाई टेकेर दाङबाट पनि कैयौं संक्रमितहरुको नाम संक्रमणको सूचीमा उल्लेख भएर स्वास्थ्य मन्त्रालयसम्म पुग्ने गरेको छ। ‘सुरुमा कोरोना संक्रमण भएको १४ दिनपछि जो कोही पनि संक्रमण मुक्त हुने भन्ने सरकारी नीति छ, हामीहरुले त्यसैका आधारमा संक्रमणमुक्तको नामावली मन्त्रालयमा पठाउने गरेका छौँ,’ जिल्ला जनस्वास्थ्य कार्यालयका फोकलपर्सन कमल चन्दले भने, ‘१४ दिनपछि जतिपटक कोरोना पोजेटिभ आए पनि उनीहरु संक्रमणमुक्त मान्ने भन्ने नीति नै छ।’ जिल्ला स्वास्थ्य कार्यालयबाट सिफारिस हुने यही संख्याका आधारमा स्वास्थ्य मन्त्रालयले निको हुनेहरुको संख्या सार्वजनिक गर्ने गरेको पनि चन्दले बताए। ‘यही नीतिलाई आधार मानेर पठाइएको सूचीअनुसार नै सरकारले निको हुनेहरुको देशभरको तथ्यांक सार्वजनिक गर्ने हो,’ उनले भने।

पछिल्लो तथ्यांकअनुसार जिल्लामा २ हजार ६ सय ७८ जना कुल संक्रमित हुँदा २ हजार ६७ जना निको हुनेहरुको तथ्यांक छ। तर जिल्ला जनस्वास्थ्य कार्यालयको भनाइलाई आधार मान्ने हो भने कोरोना जाँचमा नेगेटिभ रिजल्ट आएकाहरुको मात्रै यो संख्या भने हैन। ‘संक्रमित भएको १४ दिन कटाएकाहरुको सबैको तथ्यांकका रुपमा यसलाई बुझ्नुपर्छ,’ चन्दले भने, ‘कतिपय १४ दिनपछि नेगेटिभ पनि भए होलान् कतिपय पुनः जाँचका क्रममा पोजेटिभ भएकाहरु पनि हुन सक्छन्।’

घोराही १५ गौतमनगर टोलकि ललिता शर्मालाई सरकारी नीतिअनुसार बाहिर सार्वजनिक हुन सजिलो छैन। तीन साताअघि कोरोना संक्रमित उनि १४ दिन पछि पुनः परीक्षणका क्रममा संक्रमित नै भइन्। तर सरकारले उनलाई १४ दिनपछि नै संक्रमणमुक्तको सूचीमा राखिसकेको छ। ‘सरकारको नीति हो भने म अब संक्रमणमुक्त भइसकेँ, तर समाजले नेगेटिभ रिपोर्ट नआएसम्म मलाई संक्रमणमुक्त भनेर कसरी स्वीकार्छ ?,’ उनले भनिन् ‘नेगेटिभ रिपोर्ट हातमा नपर्दा सम्म मैले आँफूलाई कसरी संक्रमण मुक्त भएको सम्झने ?’

घोराही १५ स्थित सुदीप गौतमको ९ जनाको परिवार कोरोना संक्रमित छ। झण्डै तीन साताअघि संक्रमित प्रमाणित भएको यो परिवार अहिलेसम्म होम आइसोलेसनमै छ। घरबाहिर निस्कन नसकेको यो परिवार पनि राज्यको नजरमा अब संक्रमणमुक्त छ। तर सुदीप भन्छन्, ‘हामीहरुलाई यिनीहरु संक्रमणमुक्त भइसके भनेर समाजले कसरी पत्याउँछ ? कोरोना संक्रमणसँगै सामाजिक बहिस्कारको चुनौतीको कुरा छ।’ सरकारले उनीहरुलाई संक्रमणमुक्तको सूचीमा राखिसकेका कारण अब संक्रमितले पुनः चेकजाँच गर्ने कि नगर्ने अर्को प्रश्न गौतम परिवारमा छ। ‘हामीहरुको कोरोना परक्षिण रिपोर्ट पोजेटिभ छ, तर राज्यले हामीहरुलाई १४ दिन कटाएपछि नेगेटिभको सूचीमा राखेको हो भने अब हामीहरुले पुनः परीक्षण गर्ने कि नगर्ने त ?,’ गौतमले भने ‘कित राज्यले १४ दिनपछि कसैले पनि चेक नगराउँदा हुन्छ, सबै नेगेटिभ हुन्छ भनिदिनु पर्यो नि।’

संक्रमित परिवारमा देखिएको यो अन्योलता मात्रै हैन, सरकारको यो नीतिले कोरोना संक्रमण व्यापक बन्ने झनै खतरा बढ्ने देखिन्छ। संक्रमण भएकाहरु पनि निस्फिक्री हिँडडुल गर्न थाल्ने वातावरण यो नीतिका कारण बन्ने भएकाले समाजमा कोरोना संक्रमणको अवस्था व्यापक बन्ने खतरा संक्रमितहरु बताउँछन्।

प्रकाशित: २८ कार्तिक २०७७ ०२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App