१४ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

नेगेटिभ रिपोर्ट कुर्दा महिना दिन आइसोलेसनमा

कोरोना भाइरसबाट संक्रमित भएपछि पोखरा महानगरपालिका–५ का प्रदीप पौडेल ३२ दिनसम्म होम आइसोलेसनमा बसे। सुरुमा उनलाई लक्षण देखिँदा केही अप्ठेरो भयो। एक साताका बीचमा उनको शरीरले स्वस्थ भएको संकेत त गरिसकेको थियो तर पिसिआर परीक्षण रिपोर्टका लागि भने ३२ दिन कुर्नुप-यो। सुरुका दिनमा जस्तो अप्ठेरो नभए पनि उनले घरबाट निस्कन पाएनन्। ‘म निको भइसकेको थिएँ। स्वास्थ्यकर्मीले १४ दिनपछि अरूलाई संक्रमण सर्दैन भनिरहेका पनि थिए,’ उनले भने, ‘तर समाजलाई नेगेटिभ रिपोर्ट देखाउनुपर्ने भएकाले मैले एक महिना घरभित्रै बस्नुप-यो।’

स्वास्थ्यकर्मीका अनुसार संक्रमण पुष्टि भएको १४ दिनपछि कुनै समस्या नहुनेले पुनः परीक्षण गराउनुपर्दैन। संघीय र प्रदेश सरकारले स्वास्थ्यमा समस्या नभएका व्यक्तिले १४ दिनपछि परीक्षण गर्नुनपर्नेगरी छुटकारा पाउने निर्णय गरिसकेको छ। तर नेगेटिभ रिपोर्टको पर्खाइमा एक महिनाभन्दा बढी समय घरभित्रै थुनिएर बस्नुपर्ने बाध्यता छ। नेगेटिभ रिपोर्ट नआएसम्म समाजले सहज रुपमा हेर्दैन।

‘समाजले कोरोना संक्रमितलाई हेर्ने नकारात्मक दृष्टिकोणका कारण नेगेटिभ रिपोर्ट नआएसम्म म अझै संक्रमित नै हुँ भन्ने मानसिकता हाबी हुने रहेछ। संक्रमण भएको समाजले थाहा नपाए त केही समस्या भएन तर थाहा पाइसकेको अवस्थामा नेगेटिभ रिपोर्टबारे चासो हुने रहेछ,’ उनले भने, ‘नेगेटिभ रिपोर्ट आयो कि आएन भनेर छिमेकीहरू बारम्बार एकअर्कासँग कानेखुसी गर्छन्। समाजकै त्रासका कारण पनि नेगेटिभ रिपोर्ट कुर्नुको विकल्प छैन।’ उनका अनुसार संक्रमण सार्वजनिक नगरी गुपचुप बस्दा पनि खोजी हुने रहेछ।

संक्रमितले नेगेटिभ रिपोर्ट नदेखाएसम्म समाजले स्वीकार नगर्ने भएकाले त्यस्तो रिपोर्टको पर्खाइमा आइसोलेसन अवधि लम्बाउनुपरेको छ। सरकारले आइसोलेसनमा बसेको १४ दिनपछि लक्षण नभएका व्यक्तिले परीक्षण गर्नुनपर्ने भने पनि समाजलाई नेगेटिभ रिपोर्ट देखाउनुपर्ने बाध्यता छ।

गण्डकी प्रदेशसभा सदस्य दीपक कोइराला २२ दिनदेखि होम आइसोलेसनमा छन्। कोइराला सुरुका १४ दिन त होटलमा आइसोलेसन बसे। त्यसपछि अरूलाई संक्रमण नसर्ने भनेपछि उनी घर फर्किए। तर उनका लागि बाहिर हिँडडुल गर्ने बाटो भने अझै खुलिसकेको छैन। ‘२२औं दिनमा गरेको परीक्षणले पुनः पोजेटिभ रिपोर्ट देखायो, त्यही भएर नेगेटिभ रिपोर्टको पर्खाइमा छुु,’ कोइरालाले भने, ‘म पूर्ण रूपमा स्वस्थ छु। तर मलाई बाहिर हिँडडुलका लागि नेगेटिभ रिपोर्ट प्रमाण चाहिएको छ।’ नेगेटिभ रिपोर्ट नआएसम्म समाजले संक्रमितकै पहिचान दिलाउने भएकाले पनि घरबाहिर निस्कन नसकेको उनले बताए। ‘१४ दिनपछि संक्रमण सर्दैन भन्ने थाहा पाएर पनि म घरभित्रै रहें,’ उनले भने, ‘किनकि समाजलाई नेगेटिभ रिपोर्ट चाहिएको छ।’ २२ दिनमा परीक्षण गराउँदा पनि पोजेटिभ रिपोर्ट आएकाले अब अझै एक साता घरभित्रै बस्नुको विकल्प नभएको उनले बताए। ‘समाजलाई बुझाउन उत्ति सहज छैन। मेरो रिपोर्ट के–कस्तो आयो भन्ने चासो छिमेकी र समाजलाई हुन्छ,’ कोइरालाले भने।

पत्रकार अमृत सुवेदी पनि नेगेटिभ रिपोर्टको पर्खाइमा ३२ दिनसम्म होटल आइसोलेसनमा बसे। लामो समयसम्म होटल आइसोलेसनमा बस्दा धेरै खर्च भएको उनले बताए। ‘३२ दिनसम्म होटलमा बस्न बाध्य हुनुमा नेगेटिभ रिपोर्टको पर्खाइ थियो। किनकि मलाई डेरामा छिर्दा घरधनीले नेगेटिभ रिपोर्ट खोज्ने अवस्था थियो,’ सुवेदीले भने, ‘नेगेटिभ रिपोर्ट पर्खिंदा महिना दिनसम्म होटलमा बस्न बाध्य भइयो। शारीरिक रूपमा केही समस्या थिएन। लक्षण नहुने व्यक्ति १४ दिनपछि घरबाट बाहिरिन सक्ने भन्ने थाहा पनि थियो। तर समाज, घरधनी र छिमेकीका लागि कोरोना नेगेटिभ रिपोर्ट अनिवार्य बन्यो। त्यही रिपोर्ट कुर्दा महिना दिन आइसोलेसनमा बित्यो।’

कोरोना संक्रमित अधिकांशको रिपोर्ट केही दिनमै नेगेटिभ आउने भए पनि कतिपयको भने महिना दिनभन्दा बढी समय लाग्ने गरेको छ। त्यसले गर्दा नेगेटिभ रिपोर्टको पर्खाइमा रहेका संक्रमित बढी समय तनावमा बस्नुपर्छ। गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला निमित्त निर्देशक सपना सुवेदीका अनुसार संक्रमण पुष्टि भएको १२ देखि १४ दिनपछि दोहो¥याएर परीक्षण गर्दा झन्डै ७० प्रतिशत संक्रमितको रिपोर्ट नेगेटिभ आउने गरेको छ। बाँकीको रिपोर्ट पोजेटिभ आउँदा आइसोलेसनमा धेरै दिन बस्नुपरेको उनले बताइन। ‘कतिपयलाई दुई महिनासम्म पनि नेगेटिभ रिपोर्ट नआएर घरभित्रै बस्नुपरेको छ। ती व्यक्तिमा कुनै पनि शारीरिक समस्या छैन तर पनि नेगेटिभ रिपोर्ट आउन दुई महिनासम्म लागेको छ,’ उनले भनिन्, ‘मरेको भाइरसका कण वा जीवित भाइरसका कारण पनि दोहोरिएर पोजेटिभ आउँछ। तर १४ दिन कटेपछि संक्रमण नसर्ने भन्ने पुष्टि भइसकेकाले लक्षण नभएका व्यक्तिबाट डराउनुपर्ने अवस्था होइन।’ कतिपय स्थानीय तहका जनप्रतिनिधिले नै आइसोलेसनमा बसेका व्यक्तिलाई नेगेटिभ रिपोर्ट अनिवार्य चाहिने भनेकाले पनि समस्या भएको हुन सक्ने उनले बताइन्।

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्मा संक्रमण पुष्टि भएको १४ दिनपछि कुनै समस्या नहुनेले परीक्षण गर्नुनपर्ने बताउँछन्। ‘व्यक्तिका लागि भन्दा पनि समाजका लागि नेगेटिभ रिपोर्ट चाहिएको छ। नेगेटिभ रिपोर्ट चाहिने त्यो सोचाइ बदल्न सकिएको छैन,’ शर्माले भने, ‘समाजले नमान्नु स्वाभाविक हो। किनकि यसबारे पहिलेदेखि अन्योल भएकाले यस्तो अवस्था आएको हो। अब सबैलाई सचेत गराउनुपर्छ। आइसोलेसनमा बसेको १४ दिनपछि लक्षण नभएका व्यक्ति सुरक्षित छन् भनेर मिडिया एडभोकेसी बढाउनुपर्छ।’ पोजेटिभ भए पनि १४ दिनपछि संक्रमण सर्दैन भन्ने प्रमाणित भएकाले लक्षण नभएका व्यक्तिबाट डराउनु नपर्नेगरी चेतनामूलक कार्यक्रम आवश्यक भएको उनले बताए। ‘होम आइसोलेसनमा बसेका व्यक्तिमा १४ दिनपछि लक्षण छैन भने थप परीक्षण पनि गराउनुपर्दैन,’ उनले भने, ‘तर, अहिले यो पक्षमा समाज सहमत हुन सकेको छैन। सचेतना फैलाउन जरुरी छ।’

प्रकाशित: २७ कार्तिक २०७७ ००:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App