१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

होटल आइसोलेसन : संक्रमितलाई सहज, व्यवसायीलाई कमाई

पोखराको लेकसाइड क्षेत्र। यहाँका अधिकांश भवनमा होटल संचलित छन्। तस्बिरः नागरिक

लेकसाइडका एकजना पर्यटन व्यवसायी कोरोना संक्रमण पुष्टि भएपछि होटल आइसोलेसनमा छन्। पोखरामै घर हुँदाहुँदै पनि बसाईमा सहज होस भनेर संक्रमण पुष्टि भएपछि उनी घर छाडेर होटलमा बस्न पुगेका थिए। होटल आइसोलेसनमै बसेर उनले स्वास्थ्य लाभ गरिरहेका छन्।  

होटल आइसोलेसनमा बसेपछि मात्र ती व्यवसायीले अनुभव गरे–‘घरमा सुरक्षित बस्ने ठाउँ नहुनेलाई होटल आइसोलेसन उपयुक्त रहेछ।’ साँघुरो घर हुने र डेरा गरि बस्नेका लागि त होटलको आइसोलेसन झनै गतिलो बसाई हुने उनले बताए। ‘डेरामा परिवारसँगै बस्दा संक्रमण फैलिने त्रास एकातिर छ। त्यसमा पनि सबै सुविधा नभएको अवस्थामा त झनै सकस हुन्छ,’ उनले भने, ‘घरमुलिको किचलो र छिमेकीको दुर्व्यवहार सहनुपर्ने अवस्थामा डेरा बसाई निकै पीडादायि हुन्छ। केही रकम खर्चेर भएपनि बरु सुरक्षित बस्छु भन्नेका लागि होटल आइसोलेसनको विकल्प छैन।’ घरमा भन्दा होटलमा बस्दा सहज हुने ठानेरै आफु होटल आएको उनले बताए।  

ती व्यवसायीका अनुसार होटल आइसोलेसनमा बस्दा परिवारका अरु सदस्यलाई पनि संक्रमणबाट जोगाउन सकिन्छ। त्यसबाहेक संक्रमित आफैले पनि केही स्वतन्त्र अनुभव गर्छ। कम्तिमा दुईसातासम्म होटलमा बस्नुपर्दा धेरथोर खर्चिलो हुन गएपनि बसाई सहजताले संक्रमितको आत्मबल बलियो बनाउने उनले बताए।  

पोखरामा करिब सातसय होटल छन्। कोरोना संक्रमितलाई उपचारार्थ राख्नका लागि अहिले सरकारी आइसोलेसन अभाव छ। अस्पतालमा शैया अभाव छ भने पोखरा महानगरपालिकाले सबै संक्रमितलाई आइसोलेसनमा व्यवस्थापन गर्न सकेको छैन। लक्षण नभएका र स्वास्थ्यमा कुनै समस्या नभएका तर संक्रमण पुष्टि भएका व्यक्तिलाई महानगरले सकेसम्म होम आइसोलेसनमै बसिदिए हुन्थ्यो भन्ने गरेको छ। तर सबैका लागि होम आइसोलेसन उपयुक्त नहुने भएकोले उनीहरुलाई होटलमा बस्न पठाउने हो भने सहज हुने व्यवसायी बताउँछन्।

‘आइसोलेसन बनाउँदा एकातिर होटललाई आम्दानी पनि हुने र अर्कोतिर संक्रमितलाई पनि सहज हुन्छ,’ ती व्यवसायीले भने। ती व्यवसायीका अनुसार आइसोलेसनमा बसेका बिरामीका लागि चाहिने पोषणयुक्त खानाको भिन्दै मेनु बनाउनुपर्छ। ‘होटलमा अधिक सुविधा पहिल्यै हुन्छन्। बिरामीले खासै अभाव झेल्नुपर्दैन,’ उनले भने, ‘अब होटलले आइसोलेसनमा बिरामी राख्न हिच्किचाउने होइन, बरु सुरक्षित तरिकाले सेवा दिएर व्यवसाय चलायमान बनाउनुपर्छ।’  

पोखरामा संचालित कतिपय ठूला होटलले आइसोलेसन बनाउन चाहना पनि राखेका छन्। तर एक–दुईवठा कोठामा मात्र ती कोरोनाका संक्रमित राख्दा अरु पाहुना आउन डराउने र कर्मचारी पनि त्रसित हुने गरेको व्यवसायीको भनाई छ। ‘३५–४० वटा कोठा प्रयोगमा आउने अवस्थामा होटललाई आइसोलेसन बनाउन कुनै समस्या हुँदैन, तर, एकाध कोठामा मात्र राख्दा व्यवस्थापनमा झन्झट हुन्छ,’ होटल ल्याण्डमार्कका संचालक ओमप्रकाश पाण्डेले भने, ‘धेरै कोठामा ती पाहुना राख्ने हो भने स्वास्थ्य प्रोटोकल पालनामा कडाई गरेर सेवा दिन सकिन्छ। तर, एकाध कोठामा मात्र त्यस्ता पाहुना आउँदा व्यवस्थापन गर्न गाह्रो हुन्छ।’  

होटलको क्षमता अनुसार ५० प्रतिशतसम्म अकुपेन्सी हुनेगरि आइसोलेसन कक्ष बनाउन सकिने अवस्थामा सेवा प्रवाहमा समस्या नहुने उनले बताए। पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनका अनुसार पछिल्लो समय होटल आइसोलेसनबारे सोधपुछ पनि हुन थालेको छ। तर, होटल व्यवसायी खुलमखुला रुपमा होटललाई आइसोलेसन बनाउन सकिनेबारे खुल्न सकेका छैनन्। व्यक्तिगत सम्पर्कमा आएका केही संक्रमितलाई होटलले आइसोलेसन बनाएर राखिरहेको उनले बताए। होटललाई सुरक्षित रुपमा स्वास्थ्यका मापदण्ड पुरा गराएर आइसोलेसन बनाउने र पाहुना राख्ने हो भने अप्ठेरोमा परेका संक्रमित बस्न पनि आउनेछन्। त्यसले गर्दा होटल चलायमान पनि हुने उनले बताए।  

पोखरा महानगरले केहि महिना अघि नै होटललाई आइसोलेसन बनाउनका लागि आव्हान पनि गरेको थियो। तर त्यो बेला दुईवटा होटलले मात्र इच्छा जनाएका थिए। धेरै होटल इच्छुक नभएपछि महानगरको होटल आइसोलेसन बनाउने योजना बीचमै रोकियो। तर, अब भने आफैले शुल्क तिर्नेगरि होटलमा आइसोलेसन बस्न सकिने गरि महानगरले छुट दिएको छ। महानगरस्तरीय कोरोना रोकथाम नियन्त्रण मुल समितिका सदस्य सचिव किरण कोइरालाले अहिले होटल आइसोलेसनलाई ‘सेल्फ पेइड’ को रुपमा प्रयोग गरिएको बताए।  

 

प्रकाशित: २६ कार्तिक २०७७ ११:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App