८ वैशाख २०८१ शनिबार
समाज

मेयर-अधिकृत द्वन्द्वले मध्यपुरथिमिका ज्येष्ठ नागरिकले पाएनन् भत्ता

‘गोरुको जुधाईमा बाच्छोको मिचाई’ भन्ने नेपाली उखान जस्तै भएको छ, यतिखेर भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रमा। नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ र कार्यकारी अधिकृत उद्धवप्रसाद रिजालबीचको आपसी द्वन्द्वले दसैं अगाडि नै पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता यो वर्ष तिहार अगाडि पनि नपाउने निश्चित भएको छ। अघिल्ला वर्षहरुमा भए प्रत्येक वर्ष दसैं अगाडि नै पाउने वृद्धभत्ता यो वर्ष नगरपालिकाका मेयर श्रेष्ठ र कार्यकारी अधिकृत रिजालबीचको द्वन्द्वले बुढाबुढीहरुले वृद्धभत्ता नपाएर पीडित भएका हुन्।

कार्यकारी अधिकृत उद्धवप्रसाद रिजालमाथि मुख्य गरी मेयर श्रेष्ठले तीन वटा आरोप लगाउने गरेका छन्। पहिलो नगरसभाबाट बजेट बिनियोजन भई नियमित रूपमा उपभोक्ता समितिबाट भइरहेका योजनाका कामलाई दसैं अगाडि नै रकम निकासा दिनुपर्ने भएपनि रोक्का गरेको, दोश्रो नगरभित्रको आन्तरिक राजनीतिमा अधिकृतले चलखेल गरेको र तेश्रो नगरका दस्तावेजलाई बदनियतपूर्वक बाहिर पठाएको र वडाध्यक्षहरूसँग मिलेर मेयरविरूद्ध गतिविधि गरेको।  

यी आरोप लगाउँदै नगरपालिकाको ४९ औं कार्यपालिका बैठकले एक मात्रै निर्णय ग¥यो, कार्यकारी अधिकृत रिजाललाई मन्त्रालय नै फिर्ता पठाउने। उनको सट्टा अर्को अधिकृत मन्त्रालयबाट शीघ्र पठाइदिनुपर्ने।  

नगरपालिकाले अधिकृत रिजाललाई यसअघि पनि मन्त्रालयमा फिर्ता जान नभनेको होइन मेयर श्रेष्ठले। त्यसबेला मेयरले मात्रै निर्णय गरेर पत्र दिएका थिए। मेयरले भनेर मात्रै आफू मन्त्रालय नजाने अधिकृत रिजालले बताएको भन्दै यसपटक कार्यपालिकाको बहुमत सदस्यबाटै उनलाई फिर्ता पठाउने निर्णय गरेको हो।  

मेयर श्रेष्ठको चाहना विपरित कार्यकारी अधिकृत भने नगरपालिकामै कार्यरत छन्। मेयरको आरोपका उनले खण्डन पनि गर्दै आएका छन्। उपभोक्ता समिति प्रक्रियाअनुसार नबनेकाले उनीहरूले गरेका कामको भुक्तानी दिन नसकेको कार्यकारी अधिकृत रिजालको भनाई रहँंदै आएको छ। योजनाको प्राविधिक इस्टिमेट गरेपछि उपभोक्तासँग योजना सम्झौता हुनुपर्ने त्यसपछि मात्रै पेश्की दिने वा नदिनेजस्ता कुरा आउने उनको भनाई रहँंदै आएको छ। काम गरिसकेका योजनामा पेश्की दिन नमिल्ने र उपभोक्ता हुन सम्झौता हुनुपर्ने उनको जिकिर रहँंदै आएको छ। प्रक्रियागत ढंगले उपभोक्ता कोको हुन् भन्ने नै नभएको र प्रशासनिक र कानुनी हिसाबले उनीहरू कुनै पनि उपभोक्ता नभएको र उनीहरुसंग सम्झौता नै नगरेकोले भुक्तानी दिन नपर्ने उनको जिकिर रहँंदै आएको छ। व्यक्तिले घरमा काम गरेजस्तो गरी योजनाको काम गर्दा भुक्तानी दिन नमिल्ने उनको भनाई छ। विधि र प्रक्रिया पालना गरी योजना सम्झौता गरी काम भए नभएको अनुगमन गरेपछि मात्रै भुक्तानी दिने उनको अडान रहेको छ। उपभोक्ता हुनलाई प्रक्रिया नपुर्‍याइएकोले भुक्तानी दिन नसकिने उनको भनाइ छ।

यी दुईको आपसी द्वन्द्वले नगरपालिकाको कामकाज झण्डै ठप्प प्रायः छ। भवनको नक्सा पास र भवन निर्माण सम्पन्नको प्रमाणपत्र वितरण लगायतका काम ठप्प छन्।  

मध्यपुर थिमि नगरपालिकाभित्रको पछिल्लो विवाद कुनै नौलो भने होइन। जनप्रतिनिधिले पद बहाल गरेको यो चौंथो वर्ष चलिरहँदा मध्यपुर थिमिले चार जना प्रमुख प्रशासकीय अधिकृत पाइसकेको छ। यो चार वर्षमा मध्यपुर थिमिमा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच मात्र होइन, नगरप्रमुख र उपप्रमुखबीचको विवाद पनि निरन्तर चलिरहेको छ। तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल मजदुर किसान पार्टीबीचको गठबन्धनबाट विजयी भएका एमालेका मेयर श्रेष्ठ र नेपाली काँंग्रेसबाट विजयी भएका उपयमेयरबीच निरन्तर विवाद चल्दै आएको छ।

भक्तपुर थिमि नगपरपालिकाका प्रवक्ता राम थापाले नगरपालिकाको ४९ औं कार्यपालिका बैठक भएको भ्रममा नपर्न नगरबासीहरुलाई आग्रह गरेका छन्। विना जानकारी घरघरमा पुगेर हस्ताक्षर गरेर नगरसभा भएको प्रचार गर्नु मेयरको प्रचारबाजी बाहेक केही नभएको उनको भनाई छ। यही बीचमा नगरपालिका प्रमुख श्रेष्ठले पनि आफ्नो पक्षमा लेख्ने सीमित आठ दस जना पत्रकारहरुलाई प्रति पत्रकार दुईदुई हजार भत्ता दिएर बरोबर पत्रकार सम्मेलन गरी मिडियाबाजी गर्दै आएका छन् भने विपक्षी काँंग्रेस समर्थित वडा अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता राम थापाले निरन्तर प्रेस विज्ञप्ति प्रकाशित गरी पर्चाबाजी गर्दै आएका छन्।  

मध्यपुर थिमि नगरपालिकाका पूर्व मेयर मदनकृष्ण श्रेष्ठ दुईपक्षबीचका द्वन्द्वले बुढाबुढी, अशक्त, अपांग, एकल महिला पीडित हुनु दुर्भाग्यपूर्ण रहेको बताउँंछन्। बुढाबुुढीले जहिले पनि नेपाललै ठूलो चाँंड दसै तिहार अगाडि भत्ता पाउँदै आएकोमा यो वर्ष दुईपक्षबीचको द्वन्द्वले नपाउनु दुःखको विषय भएको उनी सुनाउँंछन्।

प्रकाशित: २६ कार्तिक २०७७ ०९:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App