२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

पेचिलो बन्दै भूकम्पको केन्द्रबिन्दु विवाद: एकअर्को गाउँबीच आउजाउ नै बन्द

धार्चे ४ भिरकोट चुङ्गङडाँडामा राखिएको ‘इपिसेन्टर’ लेखिएको बोर्ड ।

भूकम्पको केन्द्रबिन्दुको विषयलाई लिएर गोरखाको बारपाक सुलिकोट गाउँपालिका र धार्चे गाउँपालिका बिचको विवाद पेचिलो बन्दै गएको छ। विवाद बढ्दै जाँदा बारपाकवासीले लाप्राक जाने सडक अवरुद्ध गरेका छन्। तीन दिनयता लाप्राकीले दैनिक उपभोग्य सामग्री, निर्माण सामग्री ढुवानी गर्न पाएका छैनन्। लगेको सामग्री बीच बाटोमै अलपत्र छ।  

२०७२ बैशाख १२ गतेको भूकम्पको केन्द्रबिन्दु बारपाक हो भन्ने राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा स्थापित विषयलाई धार्चे गाउँपालिकाले वडा नम्बर ४ को भिरकोट चुङ्गङडाँडा केन्द्रबिन्दु हो भन्दै तोडमोड गर्न खाजेको बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु भट्टले बताए। ‘त्यती ठूलो विषय थिएन, तर धार्चे गाउँपालिकाले सच्याउनुपर्ने विषय छ’ उनले भने ‘जिल्ला समन्वय, जिल्ला प्रशासनलाई पनि सहजिकरणका लागि अनुरोध गरेको छु।’ केन्द्रबिन्दुक बारपाक नै भएको भन्दै गाउँपालिकाले धार्चेको निर्णय मान्य नहुने भन्दै बिज्ञप्ती निकालेको छ।  

गत शनिबार गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बिकास लम्सालले धार्चे गाउँपालिकामा ४ भिरकोटमा राखिएको ‘इपिसेन्टर’ लेखिएको बोर्ड अनावरण गरे। सोही ठाउँमा धार्चे गाउँपालिकाले ‘इपिसेन्टर ट्रेल’ पनि निर्माण ग¥यो। यस बारेको खबर सञ्चार माध्याम र ‘इपिसेन्टर’ लेखिएको बोर्डसहितको तस्बिर सामाजिक सञ्जालमा आउन थालेपछि बारपाकका स्थानीय आक्रोशित भए। वडा नम्बर १ र २ का स्थानीयले बारपाक हुँदै लाप्राक जाने सडक गत बिहीबारदेखि अवरुद्ध गरेको वडा नम्बर २ का अध्यक्ष लालबहादुर गुरुङले बताए।  

‘सडक बन्द छ, गाडी चलेको छैन, स्थानीयले ल्याएका दैनिक उपभोग्य र निर्माण सामग्री बाटोमै झार्नु परेको छ’ धार्चे ४ लाप्राकका वडा अध्यक्ष राज गुरुङले भने ‘स्थानीयले धेरै दुःख पाए।’ अन्यत्रबाट लाप्राक जाने सहज सडक छैन। सवारी अवरुद्ध हुँदा आउजाउ गर्न, गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गुप्सिपाखाको बस्तीको बाँकी काम सिध्याउन, खाद्यान्न ढुवानी लगायतमा समस्या भएको गुनासो स्थानीयको छ। धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले केन्द्रबिन्दु धार्चेमा पर्छ भन्ने दावी नगरेको बताउँदै पर्यटन प्रर्वद्धन गर्न पदमार्ग निर्माण गरेर प्रचार प्रसार गरेको बताए। ‘बारपाक सुलिकोट गाउँपालिकालाई यस बारे प्रष्ट्याउँदै पत्र पठाउँदैछु’ अध्यक्ष गुरुङले भने।  

स्थानीय जनप्रतिनिधि, प्रहरी, गाउँपालिकाका प्रमुखलाई सडक खुलाएर विवाद समाधान गर्न पटक–पटक अनुरोध गरिरहेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ देवी पाण्डे खत्रीले बताइन्, ‘शनिबार दिउँसोसम्म सडक खुलेको छैन’ उनले भनिन् ‘हामीले समन्वय गरिरहेका छौँ, त्यसरी सडक बन्द गर्न मिल्दैन।’  

यी दुई गाउँबिचको विवाद पहिलो भने होईन। यस अघि पनि वन क्षेत्र, पालिका बीचको सिमानालाई लिएर विवाद भएको थियो। जिल्ला समन्वय समितिले दुबै पक्षलाई छलफल गराएर बिज्ञ बोलाई समस्या हल गर्ने बताएपनि अहिले सम्म कुनै काम अघि बढेको छैन। ‘विवाद यस अघि पनि सिमानाको विषयमा थियो, अहिले केन्द्रबिन्दुसहित अन्य कुरा उठेको छ’ समन्वय प्रमुख अशोककुमार गुरुङले भने ‘दुबै पालिकासँग समस्या टुँङ्ग्याउने गरी गर्छौँ।’

प्रकाशित: २२ कार्तिक २०७७ ०८:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App