५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बराहपोखरीको रातो माछा मरेको मर्‍यै

शनिबार बराहपोखरीमा मरेर पानीमा तैरिएको रातो माछा। तस्बिर: नागरिक

सय वटा गन्तव्यको सूचीमा समावेस खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा पाइने दुर्भल रातो माछा निरन्तर मर्न थालेका छन्। बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा पर्ने बराहपोखरीमा पाइने रातो माछा पछिल्लो समय दिनदिनै दुई/चार वटाको दरले मर्न थालेको हो। ३३० मिटर लम्वाई र २१० मिटर चौडाई रहेको बराहपोखरीमा दैनिकजसो माछा मरेको भेटिने गरेको स्थानीय बिदुर श्रेष्ठले बताए। ‘विगतका सात/आठ महिनादेखि पोखरीको माछा मरिरहेको पाइएको छ,’ श्रेष्ठले भने, ‘दिनमा दुई÷चार वटा माछा मरिरहेकै हुन्छ। मरेको माछा पानीमा तैरिरहेको देखिने गरेको छ।’  

चारैतिर पहाड र बीचको उपत्यकामा रहेको पोखरीमा टाढाबाटै राताम्य माछा खेलीरहेको देखिने गरेकामा हाल मरेको माछा तैरिरहेको भेटिने गरेको छ। मुहान र निकास नदेखिने खुर्पा आकारको पोखरीमा बेला–बेलामा माछा मर्ने गरेको वडाध्यक्ष टंक मगरले बताए। बराहपोखरी घुमफिरमा गएका स्थानीयले समेत मरेर पोखरीमा तैरिरहेको माछाको तस्बिर ल्याउने गरेको सामुदायीक वन उपभोक्ता महासंघ खोटाङका अध्यक्ष राजेन्द्र राईले बताए। पोखरीका रातो माछा निरन्तर मरे पनि यसको कारण हालसम्म पत्ता लागेको छैन।  

बढ्दो फोहोरमैलाका कारण पोखरीको रातो माछाको अस्तित्व संकटमा पर्न लागेको अनुमान गरिएको छ। स्थानीयबासीले पोखरीमा नुहाउने र लुगा धुने गर्दा बढेको फोहोरमैला र साबुनको अशरका कारण रातो माछा मर्न थालेको स्थानीयको दाबी छ। जलवायु परिवर्तन र बढ्दो तापक्रमको अशरले समेत माछाको अस्तित्व संकटमा परेको हो। पोखरीको पानी कम हुँदै जाँदा र पानीमा जैविक पदार्थको मात्रा बढ्दै जाँदा माछालाई ढुसीजन्य संक्रमण हुने र फुल्का कुहिने रोग लागेर मर्ने गरेको माछा सम्वन्धी जानकारहरु बताउँछन्। 

पोखरीको सरसफाईमा ध्यान नपुग्दा फोहोरको कारण अक्सिजन कमी हुँदा समेत माछालाई अशर पुगेको कतिपयको बुझाई छ। त्यसमाथि बथानका बथान आउने पानी हाँसले समेत माछा खाने गरेको छ। हाँसको पञ्जाबाट उम्किए पनि ठुँगेको चोटका कारण पनि माछा मर्ने गरेको स्थानीय अनुमान गर्छन्। दुर्लभ रातो माछा संरक्षणकालागि स्थानीयले हाँस धपाउने प्रयास गरे पनि पर्याप्त हुन सकेको छैन। पछिल्लो समय बराहपोखरीको पानी समेत धमिलो बन्दै गएको छ। तराईबाट दिनमा आउने र दिनभर चरेर फर्कने बाजले समेत माछा खाने गरेको सामुदायीक वन उपभोक्ता महासंघका अध्यक्ष राईले दाबी गरे।  

मुहान र निकास हुने स्थान नदेखिए पनि बा-है मास पानी हुनु बराहपोखरीको बिषेशता हो। ‘अर्धचन्द्राकार’ पोखरी जोड्ने सडकको पहुँच बिस्तारसँगै आन्तरिक पर्यटक आउनेक्रम बढ्दो रहेको वडाध्यक्ष मगरले बताए। जिल्लाकै प्रमुख पर्यटकीय स्थलकारुपमा बिकास गर्न सकिने बराहपोखरी बिकास, संरक्षण र संबर्धनको अभावमा हालसम्मै ओझेलमा परेको छ।  

किनारामा शंखेश्वर महादेवको मन्दीर रहेको बराहपोखरीमा हरिबोधनी एकादशी, बालाचतुर्दशी, माघे संक्रान्ती, शिबरात्री र रामनवमीमा मेला लाग्ने गरेको छ। मेला भर्न र शंखेश्वरी महादेवको दर्शन गर्न बराहपोखरीमा जिल्ला भित्र तथा वाहिरबाट पर्यटक एबं दर्शनार्थी आउने गरेका छन्। पोखरीमा नुहाए मनोकांक्षा पूरा हुने, निसन्तानलाई सन्तान प्राप्त हुने बिश्वास गरिन्छ। 

प्रकाशित: १९ कार्तिक २०७७ ०५:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App