१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

वीपीको कोभिड अस्पतालमा ९ बर्षिया बालिकासहित ३ जना संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा ३ जना कोरोना संक्रमितको निधन भएको छ।

निधन हुने २ जना धरानकी वृद्ध महिला छिन् भने एक जना इटहरीकी ९ बर्षिया बालिका छिन्। प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार धरान ९ की ६१ बर्षिया महिलाको हिजो मंगलबार दिउँसो पौने ५ बजे निधन भएको थियो। कार्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएको ती महिलालाई हिजो नै कोभिड अस्पतालमा भर्ना गरिएको सहप्रवक्ता डा.श्रेष्ठले जानकारी दिए।

यस्तै, आज बिहानै धरान १ की ६१ बर्षिया कोरोना संक्रमित महिलाको पनि उपचारको क्रममा प्रतिष्ठानकै कोभिड अस्पतालमा निधन भएको छ। आज बिहान ३ बजेर १५ मिनेटमा ती महिलाको निधन भएको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए। उनलाई उच्च रक्तचापसहित अन्य दीर्घरोग पनि थियो। असोज ३० गते संक्रमण पुष्टि भएको ती महिलालाई कार्तिक ५ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो।

यसैगरि, कोरोना संक्रमणबाट इटहरीकी एक ९ बर्षिया बालिकाको पनि निधन भएको प्रतिष्ठानले जनाएको छ। इटहरी ६ की ती बालिकाको उपचारको क्रममा आज बिहान ३ बजेर २५ मिनेटमा निधन भएको प्रतिष्ठानले जनाएको छ। मृतकबालिकालाई पहिलादेखि नै रोग प्रतिरोधी क्षमता कम हुने समस्या भएको सहप्रवक्ता डा.श्रेष्ठले जानकारी दिए। ती बालिकालाई सोमबार मात्र कोरोना संक्रमण पुष्टि भएको र हिजो मंगलबार प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो। तीनै जनाको शवलाई नियम अनुसार व्यवस्थापन गर्ने तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ।  

प्रकाशित: १९ कार्तिक २०७७ ०५:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App