coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

दसैंमा मान्यजनको आशीर्वाद : कोरोना भागोस, त्रास हटोस

जुम्ला तिला गाउँपालिका ९ मालापानी गाउँका वीरबल बुढा गाउँकै जेष्ठ नागरिक हुन। यहाँको चलन  अनुसार जेष्ठ सदस्यको आगनमा भेला भएर एक आपसमा सुख, दु:ख साट्ने र शुभकामना सन्देश आदान प्रदान गर्ने गरिन्छ। यो चलन यो बर्ष पनि कायमै रह्यो।  

गाउँमा भेला नगर्ने,घरबाहिर निस्कदा मास्कको अनिवार्य प्रयोग गर्ने र सावुनपानीले हात धुने स्थानीय प्रशासनले पटक पटक सुझाव दिदै आएको थियो। निकै दुर्गमको गाउँ र बाहिरबाट आवतजावत गर्ने नभएकोले गर्दा गाउँमा मास्कको प्रयोग भएको थिएन। तर कोरोना भाइरसको चिन्ता सबैसँग थियो। मनमनै त्रास पनि। गाउँमा दसैंको टिकाथाप्न आएका सबैको चाहना थियो,‘कोरोना हटोस। कोरोनाको त्रास हटोस।  सुख शान्ति र समृद्धि छाओस्। अर्को दसैंमा रमाइलो गर्ने मौका आओस्। ’

गाउँले सबै वरिपरि घेरामा बसे। जेष्ठ नागरिकबाट क्रमश बसेको लाइन सबैभन्दा कान्छो नागरिकसम्म आएर टुंगियो। सायद लाग्थ्यो,‘दसैं यस्तो पो होस। जहाँ सानो ठूलोको कुनै भेदभाव छैन्। गाउँमा कुनै प्रकारको विवाद छैन्। एकै थलोमा गाउँले भेला भएर खुसि साटिरहेका छन्। हरेक घरको मुली त्यो भेलामा सहभागि हुन्छन्। ’

पहिले पहिले त गाउँमा बन्दुक पड्काएर टिकाको साइत शुरु हुन्थ्यो। बाजा बझाउनेदेखि जेष्ठ नागरिकलाई फुलमालाले रंगिन बनाउने गर्छन्। जेष्ठ नागरिक बीरवल बुढा भन्छन्,‘दसैं हरेक बर्ष खुसि लिएर आओस्। कोरोनाको त्रास रोकियोस। गाउँमा खुसियाली र उमंग छाओस् । सबैको घरमा सरस्वतीको बास होस। सबै प्रकारको रोग ब्याधीको सत्यानास होस।’

जुम्लामा कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ। तर कसैसंग पनि लक्षण देखिएको छैन्। त्यसैले जुम्लाबासी भन्छन्,‘सावधानी अपनाउन सकेको खण्डमा कोरोनालाई सहजै रुपमा पराजित गर्न सकिन्छ। जसका लागि स्वास्थ्य तथा सुरक्षा मापदण्डको भरपुर पालना आवश्यक छ। ’  

गाउँमा निर्वाचनमा जितेका जनप्रतिनिधि,सरकारी कर्मचारी, शिक्षक, समाजसेवी सबैले ठुलाबडाबाट टिका ग्रहण गर्छन। गाउँको ठूलो मन्दिरको पूजा आराधाना गरेर टिका शुरु हुन्छ।  

जुम्लामा घटस्थापनाको दिनमा कर्णालीकै प्रशिद्ध चन्दननाथ भैरवनाथको लिंगो फेरेर दसैंको शुरुवात गरिन्छ। दसैंको समयमा हरेक गाउँका शक्तिपिठमा पूजा पाठ चल्छ। यो बर्ष हरेक शक्तिपिठमा भक्तालुहरुको एउटै कामना रह्यो,‘महामारीको रुपमा फैलिइरहेको कोरोनाको सन्त्रास खतम होस। देश शान्ति र अमनचयन सुदृद्ध होस। स्वास्थ्यका क्षेत्रमा देखिएको चरम समस्याको निवारण होस। ’

शहरमा दसैंको कुनै रौनक नदेखिएको भएपनि गाउँमा भने दसैं रमझम निकै थियो। यो समय घरायसी सबै काम सकिएको अवस्था भएकोले सबै घरमै भेटिने गरेका थिए।    

 

प्रकाशित: १२ कार्तिक २०७७ ०५:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App