७ वैशाख २०८१ शुक्रबार
समाज

कोरोना प्रकोपमा प्रदेश १: संक्रमितले भरिए अस्पताल

पछिल्लो २४ घण्टामा सुनसरीको धरान उपमहानगरपालिकामा ३ सय ६५ जना कोरोना संक्रमित थपिए। यो आँकडासँगै पर्यटकीय र लाहुरेको सहर भनिने धरानमा कोरोना संक्रमितको ग्राफ उक्लँदो छ। संक्रमण बढ्दै जाँदा उपमहानगरले चाडबाडका बेला विशेष सावधानी अपनाउन नगरवासीलाई आग्रह गरेको छ।

धरानमा चार दिनअघि मात्र होम आइसोलसनमा चारजनाको एकसाथ मृत्यु हुन पुग्यो। मृत्यु हुने क्रम धरानमा मात्र नभएर धरानको छिमेकी उपमहानगर इटहरीमा पनि बढ्दो छ। मंगलबारको तथ्यांकलाई मात्र हेर्ने हो भने इटहरीमा पनि ५३ जना संक्रमित थपिए। सुनसरी जिल्लाभर एकैदिन ४ सय ४९ जना संक्रमित थपिए। सुनसरीमा कूल संक्रमितको संख्या ५ हजार नाघिसकेको छ।

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा खासगरी झापा, मोरङ र सुनसरीका प्रमुख सहरमा कोरोना संक्रमणको कहर देखिएको छ। संक्रमण दर र संक्रमितको संख्या पनि यिनै तीन जिल्लामा बढ्दो छ।

होम आइसोलेसनमै मृत्यु हुने क्रम एकातिर छ भने अर्कोतिर प्रदेशमा कोरोना संक्रमितका लागि उपचार गर्न तयार गरिएका अस्पतालका शड्ढया लक्ष्यणसहितका बिरामीले भरिएका छन्। संख्या बढ्न थालेपछि बिपी प्रतिष्ठान धरानले अस्पतालमा सम्पर्क गरेर मात्र उपचार गर्न आउन सूचना नै जारी गरेको छ। प्रतिष्ठानका कोरोना संयोजक डाक्टर इन्द्र लिम्बु भन्छन्, ‘लक्षणसहितका बिरामीको चाप थेग्नै कठिन हुन थालिसक्यो, हामीले सकेसम्म उपचार सेवा दिने नै योजना बनाएका छौं।’ उनले धरानमा समेत संक्रमित बढ्दै जाँदा होम आइसेलेसनमा बस्नेहरुमा समेत समस्या देखिन थालेको बताए।

विराटनगरमा मंगलबारमात्र एकै दिन ८ जना संक्रमितले ज्यान गुमाए। विराटनगरमा संक्रमितको संख्या ५ हजार पुग्न लागेको छ भने मृतकको संख्या ३५ पुगेको छ। विरटनगर महानगरपालिकामा दैनिक औसत दुई सय संक्रमित थपिन थालेका छन्। महानगरका मेयर भीम पराजुली भने, ‘होम आइसोलेसनमा पनि संक्रमितलाई श्वासप्रश्वासमा समस्या देखिएर मृत्यु हुने क्रम सुरु भएपछि हामीलाई चिन्ता थपिएको छ। अब कोभिडका बिरामीलाई अक्सिजनसहितको सेवा दिएर आइसियु पुग्नुपर्ने अवस्थामा कमी ल्याउन एक सय बेडको प्रिकेयर सेन्टर सञ्चालन गर्ने तयारी गरिसकेका छौं। दसैंलगत्तै महानगरकै संयोजनमा कोभिड केयर सेन्टर सञ्चालन गर्ने योजना छ।’ महानगरले केही दिन पहिले मात्र कोसी अस्पताललाई कोभिड परीक्षण गर्ने दुई वटा मेसिन सहयोग गरेको थियो।

महानगरका स्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीका अनुसार विराटनगरमा दैनिक संक्रमितको संख्या बढ्दो क्रममा पुगेको छ। यो चिन्ताको विषय भएको भन्दै कार्कीले परीक्षण र उपचारलाई समेत चुस्त बनाउन आवश्यक रहेको सुनाए। उनले भने, ‘होम आइसोलेसनमा बस्ने बढ्दै छन्। अस्पताल भरिएका छन्। महानगरमा १३ हजारभन्दा धेरैको परीक्षण गरेका छौं।’ चाडबाड नजिकिएकोले संक्रमणको अवस्था अझ भयावह हुने भएकोले सर्वसाधारण पनि विशेष सचेत हुनुपर्ने कार्कीले सुझाव दिए। विराटनगरमा दीर्घरोगी र अक्सिजन दिनुपर्नेहरुको व्यवस्थापनमा भने चुनौती थपिएपछि महानगरले संघीय र प्रदेश सरकारको पनि ध्यानाकर्षण गरेको छ।

इटहरी उपमहानगरपालिकाले अर्को सूचना नआउन्जेलसम्मका लागि भन्दै पिसिआर परीक्षण बन्द गरेको छ। उपमहानगरले स्वाब संकलन गरेर पठाउन छाडेको हो। प्रदेश प्रयोगशाला विराटनगर र धरानस्थित बिपी प्रतिष्ठानले रिएजन्टको अभाव भएको जनाउ दिएका थिए। उपमहानगरमा हालसम्म ११ सयभन्दा धेरैमा संक्रमण देखिएको छ। अहिलेसम्म ११ जनाको मृत्यु भएको छ। उपमहानगरको स्वास्थ्य शाखा प्रमुख रामशरण चौधरी भन्छन्, ‘संक्रमितको संख्या बढेसँगै मृतक पनि थपिन थालेका छन्। हामीले विशेष सावधानी अपनाउन सर्वसाधारणमा अपिल गरिरहेका छौं।’

प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तथ्यांकले पनि प्रदेशका प्रमुख सहरहरुमा संक्रमितको संख्या बढ्न थालेको देखाएको छ। प्रदेश १ मा हालसम्म १४ हजार ८ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ६ हजार १ सय ८४ जना उपचारपछि डिस्चार्ज भएका छन। सक्रिय संक्रमितको संख्या ८ हजार ६ सय ७४ छ। कोरोना संक्रमणबाट प्रदेशमा १ मा १ सय ४४ जनाको मृत्यु भइसकेको छ।

प्रदेश १ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले कोसी अस्पताल कोभिड १९ केन्द्रको क्षमता बढाई सय बेड थप गरिने बताए। जिल्लास्तिर अस्पतालहरुमा पनि अक्सिजनको व्यवस्थापन गर्न निर्देशन दिएको जानकारी दिए। मन्त्री कार्कीले भने, ‘प्रदेश सरकारले संक्रमितको निःशुल्क उपचार गरिरहेको छ। यो निर्णयमा फेरबदल गरेका छैनौं।’

प्रकाशित: ६ कार्तिक २०७७ ०३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App