६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

दसैंमा बाटो छेक्यो नभन्नु होला...

दसैंमा टीका लगाउन आउनेलाई अग्रजको सन्देश

संस्कृतिकर्मी तीर्थ श्रेष्ठले केहीदिन अघि सामाजिक सञ्जालमा स्टाटस लेखे–‘कोरोना महामारीजन्य विषम परिस्थितिका कारण यसपटकको दसैंमा छोरी–ज्वाइँ, नाती–नातीना टीका लगाउन नआउनुहोला, तपाईहरुलाई हाम्रो आर्शिवाद छँदैछ। हामी पनि अग्रजसँग टीका थाप्न आउनेछैनौ, तपाईहरुको आशिर्वाद पनि हामीलाई छँदैछ। योपटक क्षमा गरिदिनुहोला। टीका लगाउन आउन पनि बाटो छेक्यो नभन्नु होला।’

दसैंको मुखमा कोरोना भाइरस संक्रमणले डरलाग्दो रुप देखाइरहँदा सबैतिर त्रास छाएको छ। दसैंमा टीका थाप्न आउने र जाने आफन्त तथा नाताकुटुम्बबाटै संक्रमण फैलने त्रास भएपछि गाउँ, टोल, नगरले मात्र नभई व्यक्तिले नै आफन्तलाई टीका लगाउन नआउनु भन्न थालेका छन्। संस्कृतिकर्मी श्रेष्ठले त राजधानीमा रहेका तीनजना छोरीलाई फोन गरेरै दसैंमा टीका थाप्न नआउनु भनिसकेका छन्।

‘ती नाती–नातीनालाई योपटक दसैंमा मामाघर नआउ भन्दाको पीडा बताईसाध्य छैन,’ श्रेष्ठले भने, ‘तरपनि छातिमा मुड्की हानेर भएपनि भन्न बाध्य भए।’ श्रेष्ठका तीनजना छोरी काठमाडौंमा छन्। बुबाआमाको हातको टीका थाप्न छोरीहरु सधैं पोखरा आउने गर्दथे। तर, यो पटक फोन गरेर छोरी–ज्वाइँ, नातीनातीनालाई पोखरा नआउनु भनिसकेको श्रेष्ठले बताए। ‘मैले छोरीहरुलाई फोन गरेर नआउनु भनिसके। टीकाको भोलिपल्ट हाम्रो हातको टीका थाप्न उनीहरु सधैं पोखरा आउँथे,’ श्रेष्ठले भने, ‘तर यो पटक नआउँदा राम्रो हुन्छ भनेर भनिसकेको छु। छोरीहरुलाई भन्दा पनि नातीनातीनालाई मामाघर नआउनु भन्दा साह्रै नमज्जा लाग्यो।’  

‘ती बच्चालाई दसैंमा मामाघर नआउ भन्दा कत्ति नमज्जा छ। पीडाको हिसाबै भएन,’ श्रेष्ठले भने, ‘तर पीडा भएपनि सावधानी अपनाउनुपर्छ। यहाँसम्म आउँदा उनीहरुलाई के र कसो होला भन्ने त्रास भयो।’ छोराबुहारी पोखरा आउँदा सम्धि–सम्धिनालाई पनि चिन्ता हुने अवस्था रहेको उनले बताए। ‘दुवै परिवार भयभित हुनु भन्दा पीडा सहेर भएपनि यो पटक दसैं यस्तै भयो भनेर चित्त बुझाउनुपर्ने भयो,’ उनले भने। टीका लगाउन आउजाउ गरेपनि भौतिक दुरी कायम गर्न निकै कठिन रहेको उनले बताए। ‘अग्रजको हात हाम्रो निधारमा आउने हो। टीका लगाएर अग्रजको चरणमा पर्ने भएपछि दुवैलाई असुरक्षा हुन्छ,’ उनले भने। आशंकै आशंकाको पीडा थपिएको उनले बताए।  

तीर्थ जस्ता संस्कृतिकर्मी मात्र नभई गाउँ, समाजले पनि आफन्त, छरछिमेक, नाता कुटुम्बलाई दसैंमा टीका लगाउन नआउनु भन्न थालेका छन्। हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका कोतघरमा लगाइने सामुहिक टीका पनि यो पटक नहुने भएको छ। ठिनीका गाउँ मुखिया राजेन्द्रकुमार थकालीले योपटक कोतघरमा सामुहिक टीका लगाउने कार्यक्रम रद्द गरिएको बताए।  

‘हामीले कटुवाल लगाएरै यो पटक टीका लगाउन कोतघरमा नआउनु भनिसकेका छौ,’ उनले भने, ‘कोरोना संक्रमणले गर्दा यो पटक सबैतिर त्रास छ। संक्रमण सर्ने डरले गर्दा पनि यो पटक सामुहिक कार्यक्रम नगर्ने निर्णय गरेका छौ।’ उनका अनुसार गाउँमा अग्रजको हातको टीका थाप्न जो कोही जाने गरेका थिए। त्यस्तै पाको उमेरका मुखियाकहाँ पनि टीका थाप्न जाने चलन छ। ‘स्वेच्छिक टीका ग्रहणको कार्यक्रम सामुहिक रुपमा कोतघरमा हुने गरेको थियो,’ उनले भने, ‘टीका लगाउन आउ भनेर बोलाउनुपर्ने पनि होईन, आफै आउने चलन हो। तर, यो पटक कसैलाई पनि नआउनु भनिसकेका छौ।’

लम्जुङको क्व्होलासोंथर गाउँपालिका–४ भुजुङका बासिन्दाले पनि आफन्तलाई दसैंमा टीका थाप्न नआउनु भनिसकेका छन्। वडा अध्यक्ष खिमबहादुर गुरुङले कोरोना महामारीका कारण गाउँमा संक्रमण फैलिने त्रास भएपछि सामुहिक कार्यक्रम पनि नगर्ने निर्णय गरेको बताए। उनका अनुसार दसैंमा सामुहिक टीका लगाउने, पिङ राख्ने, नाचगान गर्ने, भोजभतेर गर्ने लगायतका कार्यक्रम हुने गरेको भएपनि यो पटक ती सबै कार्यक्रम रद्द गरिएको छ। ‘झन्डै चारसय घरको आँगन एउटै जस्तै छ। गाउँ पुग्ने बाटो पनि एउटै हो, पानीको मुल पनि एउटै हो। केहीगरि एकजनालाई मात्र संक्रमण भयो भने गाउँमा थामिसक्नु हुन्न,’ उनले भने, ‘त्यही भएर यो पटक गाउँमा सामुहिक कार्यक्रम नगर्नु, टीका लगाउन बाहिरबाट पनि नआउनु र गाउँ छाडेर बाहिर पनि नजानु भनिसकेका छौ।’  

वडाका सदस्य र गाउँका अगुवाको बैठक बसेर यो बारेमा छलफल गरेको उनले बताए। गाउँलेका अधिकांश आफन्त पोखरा, काठमाडौं र चितवनमा बस्छन्। उनीहरु दसैं मान्न घर फर्किदा संक्रमण पनि फैलाउन सक्ने त्रास भएकोले सामुहिक कार्यक्रम र आउजाउ नगर्न भनेको उनले बताए। ‘जो जहाँ छ, त्यही बसेर दसैं मनाउनु भनिसकेका छौ,’ उनले भने। दसैंमा टीका थाप्न आउन नसकेका चेलीबेटीलाई दसैंभाग भनेर कोसेली पठाउने चलन भएपनि यो पटक त्यो परम्परा पनि रोकिएको वडाध्यक्ष गुरुङले बताए।  

कास्कीको पर्यटकीय गाउँ घान्द्रुकका बासिन्दाले पनि यो पटक दसैंमा मामाघर र ससुराली नजाने र टीका थाप्न पनि नबोलाउने निर्णय यसअघि नै गरिसकेको छ। गाउँमा संक्रमण फैलिन त्रासले घान्द्रुकका स्थानीयले धमाधम आफन्तलाई फोन गरेर नै टीका थाप्न नआउनु भनिसकेका छन्। अहिलेसम्म संक्रमणबाट मुक्त रहेका गाउँमा दसंैमा आफन्तको आउजाउका कारण संक्रमण फैलने त्रास रहेको स्थानीयको भनाई छ।  

 

 

 

प्रकाशित: ५ कार्तिक २०७७ ११:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App