१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

उदयपुरको चुरे आसपासका बस्तीमा हात्ती आतंक

क्याप्सनः त्रियुगा ५ पिपलचौरीस्थित हात्तीले भत्काएको स्थानीयको घर।

उदयपुरको चुरे जंगल आसपासका बस्तीमा जंगली हात्तीले आतंक मच्चाएको छ। सप्तरीसँग जोडिएको सीमाक्षेत्र चुरे जंगलछेउछाउ त्रियुगा नगरपालिका ५ र ६ का बस्तीहरुमा हात्तीको समूह पसेर सोमबार राति ३ घर भत्काउनुका साथै अन्नपात खाएर क्षति पुराएको गाउँलेहरुले जनाएका छन्।

६/७ वटाको समूहमा आएको हात्तीले त्रियुगा ५ पिपलचौरीका कविर थापामगर, बसन्त थापामगर र हिरालाल थापामगरको घर भत्काएर घरभित्रको अन्नपात र जाँड रक्सी (मदिरा) खाईदिनुका साथै नष्ट गरिदिएको छ। मध्यराति आएको हात्ती समूहले सुतिरहेका बेला घर भत्काउन थालेको थाहा पाएर अन्य सदस्य भागे पनि मस्त निन्द्रामा रहेका कविर र उनका ४ वर्षीय छोरा २÷३ घण्टा हात्तीको घेराभित्र बस्नुपरेको पीडितलाई उद्धृत गर्दै डिभिजन वन कार्यालयले जनाएको छ। सुतिरहेका बेला हात्तीले घर भत्काउँदै अन्नपात खान थालेपछि व्युँझेका बाउ–छोरा हात्ती देखेपछि डराएर खाटमुनि लुक्नु परेको हो।

‘मस्त निन्द्रामा हुँदा हात्ती समूह आएर घर भत्काउन थालेछ, परिवारका अरु सदस्यले थाहा पाएर भागेछन्’, डिभिजन वनका सूचना अधिकारी जागेश्वर साहले भने ‘काखे छोरा र कविर व्युँझिदा अगाडि नै हात्ती देखेपछि खाटमुनि लुकेर ज्यान जोगाएछन्।’ भागेका परिवारका सदस्यहरुले लालपत्ता प्रहरी चौकीमा खवर गरेपछि त्यहाँबाट खटेको टोलीले १ घण्टापछि हात्ती भगाएर बाउ–छोराको सकुशल उद्धार गरेको साहले बताए।  

प्रत्यक्षदर्शीका अनुसार ५/६ वटा हात्तीको समूह गाउँ पसेर विध्वंश मच्चाउने गरेको साहले बताएका छन्। सोमबार साँझसम्म त्रियुगा ६ का पात्लेबास, लालपत्ता आसपासको चुरे जंगलभित्र हात्तीहरु डुल्दै गरेको स्थानीयले देखेको स्थानीयले बताए। लालपत्ता प्रहरी चौकी इन्चार्ज नरबहादुर खड्कालाई उद्धृत गर्दै साहले बताए अनुसार हात्तीका कारण त्रियुगा ५ का खारखोला, बुर्जाकान्ला र त्रियृुगा ६ का लालपत्ता, पात्लेबास, घनचक्रे, मोहनपुर, माटीखोला, बोजेआसपास चुरेसँग जोडिएका बस्तीबासी आतंकित भएका छन्।  

हात्तीले घर भत्काएर ग्यास चुल्हा फ्याँकिदिने, भकारीको अन्न खाने, फाल्ने, जाँड राखेको भाँडो फुटाएर खाईदिने गरेको पीडितहरुले बताएका छन्। धेरै संख्यामा हात्ती रहेकाले गाउँलेले प्रहरीको सहयोगमा निकैबेर लगाएर धपाउन सफल भएका छन्। आगो बाल्ने, थाल ठटाउने र होहल्ला गरेर विहानसम्ममा हात्ती भगाउन उनीहरु सफल भएको हुन्। अघिल्लो रातको आतंकपछि सोमबार रातिदेखि गाउँलेहरु सुत्न छाडेर रातभर जाग्राम बस्न थालेका छन्।

उदयपुर र सुनसरीको सीमाक्षेत्रनजिकको कोसी टप्पु वन्यजन्तु आरक्षण केन्द्रबाट आहाराको खोजीमा निस्कने हात्तीले आप्mनो रुटमा पर्ने घरटहरा भत्काउने गरेको सहायक डिभिजन वन अधिकृतसमेत रहेका साहले बताए। उनले चुरेक्षेत्र हात्तीको साविक पूर्व–पश्चिम रुट पर्ने भएकाले अवरोध ठानेर क्षति गर्ने गरेको बताए। साहका अनुसार हात्ती मदिरा अत्यन्त मन पराउने प्राणी हो। त्यसैले जाँड रक्सीको गन्ध पाउनेत्तिकै त्यतैतिर आकर्षित भएर जाने अनि घर भत्काएरै खाईदिने गर्दा क्षति हुने गरेको छ।

प्रकाशित: ४ कार्तिक २०७७ ०६:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App