६ वैशाख २०८१ बिहीबार
समाज

प्रहरी अधिकृत नेकपा कार्यकर्ताझैं बनेको आरोप

नेपाली कांग्रेसबाट निर्वाचित सर्लाहीका सांसद्हरूले सर्लाहीका प्रहरी अधिकृतहरू नेकपाको कार्यकर्ताझैं बनेको आरोप लगाएका छन्। कुटपिटबाट हत्या गरिएको घटनामा किटानी जाहेरी लेखाउनेलगायत पीडित परिवारलाई न्याय माग्दा जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौर, इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) उद्धवसिंह भाटलगायत प्रहरी अधिकृतले सत्ताधारी नेकपाका नेता–कार्यकर्ताले जस्तै पूर्वाग्रही व्यवहार गरेको आरोप संघीय सांसद् डा. अमरेशकुमार सिंहले लगाए।

‘जनताबाट निर्वाचित हामी जनप्रतिनिधिलाई एसपी र डिएसपी साहेबले विरोध प्रदर्शनका क्रममा भौतिक रूपमै दुव्र्यवहार मात्र गर्नुभएन, एसपी साहेबले त फोन गरेर सुन्नै नसकिने गालीगलौजसमेत गर्नुभएको छ,’ नेपाली कांग्रेस सर्लाही–४ द्वारा आइतबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघीय सांसद् डा. सिंहले भने, ‘पीडितलाई न्याय देऊ भनेर आवाज उठाउने जनप्रतिनिधिमाथि लाठी प्रहारसहित फोनबाट समेत गालीगलौज गरेर नेकपाको कार्यकर्ताले जस्तो व्यवहार देखाएका छन् ।’

एसपी राठौरले फोन गरेर आफूमाथि अत्यन्त नीच स्तरको गालीगलौज गरेकाले कानुनी कारबाहीका लागि समेत तयारी गरिरहेको सांसद सिंहले बताए।उनले प्रहरी उपरीक्षक राठौर र प्रहरी नायब उपरीक्षक भाटलाई जिल्लाबाट नहटाएसम्म आन्दोलन जारी रहने बताए।नेपाल प्रहरीका अधिकारीहरूको व्यवहार अत्यन्त असह्य भएको उल्लेख गर्दै प्रदेश सांसद् वीरेन्द्रप्रसाद सिंहले दसैंलगत्तै सर्लाहीमा आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिए।दसैंका कारण हाललाई आन्दोलन स्थगित गरिएको र कोजाग्रत पूर्णिमालगत्तै चरणबद्ध रूपमा आन्दोलनको आँधीबेहरी ल्याइने प्रदेशकै अर्का सांसद उपेन्द्रप्रसाद कुशवाहाले बताए।कांग्रेस सर्लाहीका जिल्ला उपसभापति सुरेन्द्रप्रसाद सिंहले दसैंपछि हुने आन्दोलनमा केन्द्रीय स्तरका नेताहरूलाई समेत सहभागी गराइने र जनप्रतिनिधिलगायतलाई दुव्र्यवहार गर्ने प्रहरी प्रमुखलगायतलाई कारबाही नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए।

कुटपिटबाट गम्भीर घाइते रामनगर गाउँपालिका–७ सिसौटका ६५ वर्षीय महेन्द्र रामको गत असोज २२ गते वीरगन्जमा मृत्यु भएको थियो।आफ्ना कार्यकर्ताको हत्यामा संलग्नको नामसहित किटानी जाहेरी दर्ता गर्न माग गर्दा प्रहरीले सत्ताधारी नेकपाको कार्यकर्ताजस्तो व्यवहार देखाएपछि दमनमा उत्रिनुपरेको उनीहरूको भनाइ छ।गत बुधबार कांग्रेसले आयोजना गरेको जिल्ला प्रहरी कार्यालय घेराउ तथा किटानी जाहेरी दिने कार्यक्रमका क्रममा झडप हुँदा नेपाल प्रहरीका दुई डिएसपीसहित २२ जना सामान्य घाइते भएका थिए भने मृतकका भाइ, पत्नी एवं आधा दर्जन महिलासहित दुई दर्जन कांग्रेस नेता–कार्यकर्ता घाइते भएका थिए।

२२ गते मृत्यु भएका रामको शव १२ दिनदेखि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमै छ।आफन्तले घर ल्याउँदै गर्दा प्रहरीले शवसमेत खोसेर लगेको र शव बुझ्न परिवारलाई फेरि कुनै आग्रह नगरेको कांग्रेस नेताहरूले बताउँदै आएका छन्।कुटपिट गर्नेलाई कानुनी दायरामा ल्याउन माग गर्दा स्थानीय प्रहरी प्रशासनले बेवास्ता गरेको कांग्रेस नेताहरूले बताएका छन्।राममाथि कुटपिट गर्नेहरूविरुद्ध किटानी जाहेरी दिन खोज्दा सत्ताधारी दलका नेताहरूको इसारामा प्रहरीले जाहेरी लिनै नमानेको र त्यसको विरोध प्रदर्शन गर्दा उल्टै बल प्रयोग गरेको कांग्रेसले आरोप लगाउँदै आएको छ।कांग्रेसले मृतक रामलाई सहिद घोषणा, उचित क्षतिपूर्ति तथा पीडित  

परिवारले दिएको किटानी जाहेरी दर्ता गरी कुटपिटमा संलग्न सबैलाई कानुनी दायरामा नल्याईएसम्म परिवारले मृतकको शव नबुझ्नेसमेत अडान  

लिएको छ।सत्ताधारी नेकपाका नेताहरूको दबाबमा कांग्रेसबाट निर्वाचित रामनगर गाउँपालिका–४ का वडाध्यक्ष रामनरेश महतोसहित कांग्रेसका धेरै नेता–कार्यकतालाई घटनामा संलग्नै नभए पनि विभिन्न मुद्दा दर्ता गरेर प्रहरीले फसाएको दाबी गर्दै सांसद सिंहले महेन्द्रको घटनामा भने कुटपिटमा संलग्नहरूकै नामसहित किटानी जाहेरी दिन खोज्दा प्रहरीले लिन नमानेको आरोप लगाए।

प्रकाशित: ४ कार्तिक २०७७ ०३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App