coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कोरोनाप्रति लापरवाही : निकटता बढ्छ, अनि मास्क खुल्छ

फाइल तस्बिर

केहिदिन अघि एक पेशागत समूहका दशजना सदस्यहरुको एउटा कोठामा ‘मिटिङ’ बस्यो। मिटिङ चलिरहँदा सहभागि दशमध्ये पाँचजनाले मास्क खोले। बाँकी पाँचमध्ये दुईजनाले बैठक अवधिभर नै मास्क खोलेनन्, अरु तीनजना केही दूरी कायम गरेर भिन्दै सोफामा बसे।  

बैठक सकियो, सबै सहभागि घर फर्के। तीन दिन पछि एक–एक गरि बैठकका सहभागि बिरामी पर्न थाले। उनीहरुमा कोरोनाका लक्षण देखियो। पालैपालो दशजनाकै परीक्षण गरियो। बैठकमा रहँदा मास्क खोलेका पाँचजनालाई संक्रमण पुष्टि भयो। मास्क नखोलेका दुई र दूरी कायम गरेर भिन्दै बसेका तीन गरि पाँच जनालाई भने संक्रमण भएन।  

पेशागत ती समुहका संक्रमित सदस्यहरु अहिले होम आइसोलेसनमा छन्। उनीहरु सबैको स्वास्थ्यमा सुधार भईरहेको छ। बैठकमा सहभागि उनीहरुको एउटै निश्कर्ष छ–एउटा कोठामा भएको छलफलमा सहभागि हुँदा मास्क खोल्नु कमजोरी रहेछ। मास्क खोल्ने त्यही हेलचेक्रयाँइले साथीहरुबीच नै संक्रमण फैलियो। बैठकमा सहभागि एकजना सदस्यले भने, ‘हुन त हामीले अनुसन्धान र क्लिनिकल परीक्षण गरेका होईनौ, तर, भीडभाडमा रहँदा मास्क खोल्नु भनेको जोखिम निम्त्याउनु रहेछ भन्ने निष्कर्ष निकालेका छौ। हामी एउटै पेशाका साथी थियौ, अनि निकटता ठान्यौ र मास्क पनि खोल्यौ, त्यो गर्नु हुने रहेनछ।’

ती सहभागि सबैले बैठकमा जाँदैगर्दा मास्क लगाएका थिए। तर, छलफल चल्दै गर्दा मुखबाट बिस्तारै मास्क पनि हट्दै गए। पाँचजना त मास्क नै खोलेरै बसे। ‘कोरोना संक्रमणबाट जोगाउने हो भने मास्क अनिवार्य रहेछ भन्ने हामीलाई अहिले पक्का जस्तै लागेको छ। सायद मास्क लगाएको भए अरु साथीहरु पनि सुरक्षित रहन सक्थे,’ बैठकका सहभागिको अनुमान छ, ‘हामीले हेलचेक्रयाँइ गरेका हौ जस्तै लाग्दैछ। को बाट संक्रमण सर्यो, भन्नु भन्दा पनि मास्क नलगाउनु र भौतिक दूरी कायम नगर्नु हाम्रा गल्ती थिए। हामी त्यसमा चुकेकै हौ।’ मास्कसँगै भौतिक दूरी पनि महत्वपूर्ण हुन उनको भनाई छ। ‘भौतिक दूरी र मास्कले संक्रमणबाट जोगाउने रहेछ भन्ने अनुभव अहिले भईरहेको छ,’ उनले भने।

त्यही बैठकका अर्का सहभागिका अनुसार छलफल लामै समय चलेको थियो। साथीहरुबीच छलफल चल्दै गर्दा बिस्तारै मास्क पनि खुल्दै गएको ती सहभागिको भनाई छ। ‘सबै नजिकका साथी त हुन्, के नै होला र ? को नै संक्रमित छ होला र भनेर म आफैले पनि मास्क खोले,’ उनले भने, ‘चीनजानकाबीच जब निकटता बढ्दै जान्छ, अनि मास्क खुल्छन, हामी सबै त्यही गरिरहेका छौ। मैले मास्क खोल्नु नै मेरो लागि गल्ती गरेछु।’ उनका अनुसार अहिले साथीभाई, आफन्त, निकट र चीनजानका व्यक्ति भेट हुनासाथ मुखको मास्क बिस्तारै हट्न थालेको छ। सडकमा हिड्दा लगाएको मास्क कार्यालय, भेटभाट, घरपरिवारमा जमघट हुँदा मुखबाट हटिसक्ने उनले बताए। ‘हेलचेक्रयाँइ सबैतिर बढेको छ। हामीले चिनजानका साथीभाई भनेर विश्वास गर्छाै। त्यही विश्वास नै घातक रहेछ,’ उनले भने, ‘सडकमा एक्लै हिड्दा मास्क पहिरिने, तर, घरभित्र वा आफन्तकहाँ छिरेपछि मास्क हटाउने गलत भईरहेको छ।’

पछिल्लो समय सडकमा नागरिकको भीड बढिरहेको छ। बजार खुल्दा किनबेचका लागि हिड्ने निस्फिक्री छन्। सडका हिड्दा मुखमा मास्क लगाउनेहरु पसल छिरेपछि मास्क हटाउने गरेका छन्। त्यसबाहेक भीडभाडमा जाँदा पनि पछिल्लो समय मास्क लगाउने चलन कम हुँदै गएको छ। पोखराका वरिष्ठ फिजिसियन डा. बुद्धिबहादुर थापा भन्छन्, ‘मास्क पहिर्याउने बारे नागरिकको हेलचेक्रयाँइ निकै नै बढेको छ। हामी नागरिकले वेवास्ता गरेका छौ।  त्यसको परिणाम भोगिरहेका छौ।’ उनका अनुसार मास्कले संक्रमण रोक्न केही हदसम्म सघाउँछ। त्यस्तै भौतिक दूरी कायम राख्नु, बेलाबेला साबुन–पानीले हात धुनु वा स्यानिटाइजर प्रयोग गर्नुपर्नेमा नागरिकले ती कुरालाई पटक्कै ख्याल नगरेको उनले बताए। ‘एउटै कोठामा रहँदा पनि मास्क प्रयोग गर्नुपर्छ। हामीले एकअर्कालाई बढी नै विश्वास गरेका हौ,’ उनले भने, ‘एकअर्कालाई बढी विश्वास गर्न जरुरी छैन। त्यसैले सचेतना अपनाउनुको विकल्प छैन।’

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्मा पछि पछिल्लो समय भीडभाड बढेको र त्यो भीडले गरेको हेलचेक्रयाँइले जोखिम निम्त्याईरहेको बताउँछन्। ‘लकडाउन खुल्नु भनेको हेलचेक्रयाँइ बढाउनु भनेको होइन। तर, अहिले सबैतिर भीडभाड छ, सबैले कोरोनालाई बेवास्ता गरेका छन,’ शर्माले भने, ‘दसैंको मोविलिटीले त झनै जोखिम निम्त्याउने पक्का छ। संक्रमणको ग्राफ झनै उकालो लाग्ने पक्का छ।’  

शर्माले पनि कोरोना संक्रमणबाट जोगिन मास्कको भूमिका एकदमै महत्वपूर्ण रहेको बताए। ‘मास्क लगाउँदा नाक र मुखमा हत्तपत्ति हात पुग्दैन। अहिले आँखा र नाकमुख जोगाउने बेला हो। मान्छेको हात आँखा भन्दा नाक र मुखमा बढी जान्छ,’ शर्माले भने, ‘त्यसैले मास्कले मुख र नाकमा हात पर्नबाट जोगाउँदा त्यसको प्रभाव कोरोना संक्रमण हुनबाट पनि जोगाउछ।’ मास्कले मात्र सतप्रतिशत कोरोना रोक्छ भनेर ठोकुवा नै गर्न नसकिएपनि यसको भूमिका भने अब्बल रहेको निर्देशक शर्माले बताए।  

उनले पछिल्लो समय भीडभाडमा जाने, मास्क नलगाउने, सही तरिकाले मास्क प्रयोग नगर्ने, भौतिक दूरी कायम नगर्ने जस्ता हेलचेक्रयाँइले संक्रमण बढिरहेको बताए।  ‘हामी चिनजानका साथीभाई भेटेपछि विश्वास गर्छौं र मुखको मास्क बिस्तारै हटाउँछौ। त्यो नै गलत हो,’ उनले भने, ‘यो बेला कसैले कसैलाई विश्वास गर्न जरुरी छैन। विश्वास शुन्य गर्नुपर्छ।’ हरेकलाई संक्रमितको दृष्टिकोणबाट मात्र हेर्नुपर्ने उनले बताए। दसैंको छेकोमा बजार खुल्दा पनि अहिले नागरिकहरु मास्क नलगाई हिड्न थालेको उनले बताए। संक्रमितले बोल्दा, खोक्दा, हाच्छयुँ गर्दा मुख र नाकबाट निस्कने छिटालाई मास्कले रोक्ने गर्दा अरु व्यक्ति संक्रमित हुनबाट जोगिने उनले बताए।

 

प्रकाशित: ३ कार्तिक २०७७ ०८:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App