coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सगरमाथाको उचाइ नेपाल र चीनले एकैपटक सार्वजनिक गर्ने

नेपाल र चीन दुवैले एकै पटक सगरमाथाको उचाइसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने भएका छन्। दुवै देशले छुट्टाछुट्टै साधन र स्रोत प्रयोग गरी सगरमाथाको उचाइ मापन पूरा गरेका छन्।

दुवै देशले एकै पटक आ–आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने तयारी भएको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ। नेपालसँगको समन्वय र सहमतिमा चीन सरकारले छुट्टै सगरमाथाको उचाइ मापन गरेको मन्त्रालयले जनाएको हो। नेपालले सगरमाथा मापनको काम अन्तिम चरणमा पु-याएको बेला चीनले पनि उत्तरी मोहडाबाट मापन सुरु गरेको थियो।

भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले नेपाल र चीन दुवै देशले एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गर्ने तयारी भएको बताउँदै यसका लागि चीन सरकारसँग पत्राचार भइरहेको बताइन्। ‘पहिले नै संयुक्त रूपमा सगरमाथाको उचाइ सार्वजनिक गर्ने सहमति भएको थियो। कसरी गर्ने, कस्तो कार्यक्रम गर्ने भन्नेबारे पत्राचार भइरहेको छ,’ उनले भनिन्। मन्त्रालयका अनुसार सगरमाथाको उचाइ एकै पटक सार्वजनिक गर्न विभिन्न मोडेलमा छलफल भइरहेको छ। यसका लागि परराष्ट्र मन्त्रालयले समन्वय गरिरहेको स्रोतको भनाइ छ। नापी विभागले सगरमाथाको उचाइ मापनको टुंगो लगाएको छ। उक्त प्रतिवेदन हाल भूमि व्यवस्था मन्त्रालयमा पुगेको छ।

करिब २ वर्षअघि विभागले सगरमाथाको मापन सुरु गरेको थियो। यसका लागि सुशील डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो। सचिवालयले गत असारमै रिपोर्ट तयार गरेको थियो। सगरमाथा मापन टोलीले ग्लोबल न्याभिकेसन स्याटेलाइट सिस्टम (जिएनएसएस) प्रविधिबाट सगरमाथा मापन गरेको हो जुन अत्याधुनिक प्रविधि मानिन्छ। सगरमाथाको मापन गर्न नापीका दुईजना कर्मचारी खिमलाल गौतम र रविन कार्की मेसिन बोकेर २३ मे २०१९ मा सगरमाथाको चुचुरोसम्मै पुगेका थिए। उनीहरू चुचुरोमा १ घण्टा १६ मिनेट बसेका थिए। २०७५ चैत २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीनिवास बालुबटारमा टोली प्रस्थान गर्नुअघि मापनमा जाने टोलीलाई बिदा गरेका थिए। ४ जनाको टोलीमध्ये गौतम र कार्की चुचुरोमै पुगेका थिए भने सुरजसिंह भण्डारी र युवराज धिताल आधार शिविरसम्म पुगेका थिए।

करिब २ वर्षअघि नापी विभागले सगरमाथाको मापन सुरु गरेको थियो। यसका लागि सुशील डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो। सचिवालयले गत असारमै रिपोर्ट तयार पारेको थियो।

सगरमाथाको उचाइ मापनपछि करिब ६ महिनासम्म विभागका कर्मचारीले डाटा प्रोेसेसिङ गरेका थिए। डाटा प्रोसेसिङलगायत सगरमाथाको उचाइसम्बन्धी प्राविधिक रूपमा सबै काम हाल पूरा भएको मन्त्रालयका प्रवक्ता जनक जोशीले बताए। उचाइ कहिले सार्वजनिक गर्ने विषयमा मिति तय नभएको पनि उनले सुनाए। मन्त्रालय स्रोतका अनुसार दसैंलगत्तै रिपोर्ट सार्वजनिक गर्ने तयारी भएको छ।

सगरमाथाको उचाइ मापन रिपोर्ट भने दुवै देशले गोप्य राखेका छन्। नेपालले पहिलो पटक आफ्नै स्रोतसाधन र प्रविधिबाट सगरमाथाको उचाइ मापन गरेको नापी विभागले जनाएको छ। उचाइ मापन गर्दा अत्याधुनिक प्रविधि मात्र नभई परम्परागत प्रविधि पनि प्रयोग गरिएको विभागका एक कर्मचारीले बताए।

यसअघि, विभागले एक अन्तर्राष्ट्रिय गोष्ठी गरेर सगरमाथाको उचाइ घोषणा गर्ने कार्यक्रम तय गरेको थियो। तर कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय गोष्ठी गर्न सम्भव नभएको विभागका कर्मचारीको भनाइ छ। सगरमाथाको मापन सुरु गर्नुअघि विभागले सन् २०१७ डिसेम्बरमा अन्तर्राष्ट्रिय गोष्ठी गरी विज्ञहरूको सल्लाह सुझाव मागेको थियो। गोष्ठीमा चीन, भारत, अमेरिका, बंगलादेश, न्युजिल्यान्ड, बेलायतलगायत देशका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो। हाल सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर रहेको मानिँदै आएको छ। यस मापनलाई अन्तर्राष्ट्रिय जगतले मान्यता दिएको छ।

प्रकाशित: २ कार्तिक २०७७ ०१:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App