९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

पछिल्लो १२ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ। पछिल्लो १२ घण्टामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको संख्या ५ जना छ भने धरान १६ का एक संक्रमितको होम आइसोलेसनमा नै मृत्यु भएको छ। मृत्यु भएकाहरुमा धरानका ३ जना, तेह्रथुमका २ जना र एक जना इटहरीका छन्।  

प्रतिष्ठानले दिएको जानकारी अनुसार धरान ९ का २ जना संक्रमितको मृत्यु भएको छ। सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार ४४ बर्षीय महिलाको दिउँसो ३ बजे मृत्यु भएको थियो। उनलाई असोज २७ गते संक्रमण पुष्टि भएको र २८ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो। यस्तै, धरान ९ कै ५८ बर्षीय पुरुषको बुधबार राती ११ बजेर ५५ मिनेटमा मृत्यु भएको छ। असोज २५ गते कोभिड पुष्टि भएका उनलाई सास फेर्न गाह्रो भएपछि हिजो राती अस्पताल भर्ना गरिएको थियो। हिजो राती नै धरान १६ का एक कोरोना संक्रमित व्यक्तिको पनि होम आइसोलेसनमा नै निधन भएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए।  

प्रतिष्ठानका अनुसार उपचारको क्रममा मृत्यु हुनेमा इटहरी २० की ७५ बर्षीया महिला पनि छिन्। उनलाई हिजो नै कोरोना संक्रमण पुष्टि भएको र प्रतिष्ठानको इर्मजेन्सीमा भर्ना गरिएको थियो। उनको मध्यराती १२ बजेर ५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। यस्तै, तेह्रथुमका ३१ बर्षीय कोरोना संक्रमित युवाको पनि प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ। कोशी अस्पताल विराटनगरबाट रिफर भएर आएका उनको आज बिहान ७ बजेर १५ मिनेटमा मृत्यु भएको सहप्रवक्ता डा.श्रेष्ठले जानकारी दिए। यसअघि, तेह्रथुमकै ४९ बर्षीय संक्रमितको हिजो राती ७ बजे प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारको क्रमम निधन भएको थियो। जिल्ला अस्पताल धनकुटाबाट रिफर भएर आएका ती व्यक्तिलाई असोज २६ गते संक्रमण पुष्टि भएको थियो।

प्रकाशित: २९ आश्विन २०७७ ०५:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App