४ वैशाख २०८१ मंगलबार
समाज

जिल्ला प्रहरी कार्यालय सर्लाहीभित्रै कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप

दुवैतर्फ गरी पाँच दर्जन बढी घाइते, ३१ सेल अश्रुग्याँस प्रहार

जिल्ला प्रहरी कार्यालय अगाडी विरोध प्रदर्शन गर्दै कांग्रेसका नेता कार्यकर्ताहरु । तस्बिर : टंक/नागरिक

सर्लाहीको सदरमुकाम मलंगवा स्थित जिल्ला प्रहरी कार्यालय मलंगवा भित्रै नेपाली कांग्रेसका नेता कार्यकतारु र प्रहरीबीच झडप हुँदा पाँच दर्जन बढी घाईते भएका छन् ।

बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा धर्ना दिन गएका कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । धर्नामा बसिरहेको अवस्थामा प्रहरीले एक्कासी बल प्रयोग गरेको कांग्रेस जिल्ला सभापति एवं संघीय सांसद् नागेन्द्रकुमार रायले आरोप लगाए । प्रहरीले कुनै सूचना वा माईकिङ नै नगरी महिला कार्यकर्ताहरुमाथि एक्कासी लाठी प्रहार गरेको संघीय सांसद् डा. अमरेशकुमार सिंहले दाबी गरे । ‘जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना बसिरहेका थियौं र केही साथिहरु कर्तव्य ज्यान मुद्धाको किटानी जाहेरी दिन भित्र पस्दै गर्दा प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गरेको छ’, सांसद् सिंहले भने, ‘प्रहरीको लाठी प्रहारबाट महिलाहरु सहित हाम्रा दुई दर्जन बढी नेता कार्यकर्ता घाईते हुनु भएको छ, त्यस्तै अन्धाधुन्ध अश्रुग्याँस समेत प्रहार गरेर प्रहरीले दमन गरेको छ ।’

जिल्ला सभापति रायले घाईतेहरुको जिल्ला अस्पतालमा उपचार भईरहेको र कतिपयलाई बाहिर रेफर गर्नुपर्ने अवस्था रहेको दाबी गरे । ‘घाईतेहरुको नाम संकलन गर्ने काम भईरहेको छ, बाहिर पठाउनुपर्ने घाईतेहरुलाई त्यसतर्फ पठाउनका लागि पनि तयारी गरिरहेका छौं ।’  सभापति रायले भने ।  

प्रदर्शनमा जिल्ला उपसभापति सुरेन्द्रप्रसाद सिंह, पूर्व जिल्ला सभापति लक्ष्मण राय, प्रदेश सांसद् वीरेन्द्रप्रसाद सिंह, उपेन्द्र कुशवाहा लगायत सयौंको संख्यामा कांग्रेस कार्यकर्ता गएका थिए ।  

यता प्रहरीले भने जबर्जस्ती कार्यालय भित्रै ठूलो संख्यामा नेता कार्यकर्ता छिर्न खोजेपछि बाध्य भएर बल प्रयोग गर्नुपरेको दाबी गरेको छ । प्रदर्शनकारीहरुले सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गरेपछि बल प्रयोग गर्नुपरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए । ‘जबर्जस्ती ठूलो संख्यामा प्रदर्शनकारी भित्र छिर्न प्रयास गरेपछि रोक्न खोज्दा एक्कासी ढुंगामुढा प्रहार भयो, अनि बाध्य भएर बल प्रयोग गर्नु प¥यो’, प्रनाउ कुँवरले भने, ‘प्रदर्शनकारीको तर्फबाट एक्कासी ढुंगामुढा भएपछि घटना नियन्त्रणमा लिन लाठी प्रहार सहित ३१ सेल अश्रुग्याँस प्रहार गरिएको छ ।’ प्रनाउ कुँवर, प्रनाउ उद्यवसिंह भाट सहित नेपाल प्रहरीका २२ जना सामान्य घाईते भएको प्रहरीको दाबी छ । प्रदर्शनकारीले प्रहार गरेको ढुंगाले लागेर सुरक्षाकर्मीहरुको हात, खुट्टा सहित शरिरका विभिन्न भागमा सामान्य चोटपटक लागेको प्रनाउ कुँवरले बताए । ढुंगा प्रहारबाट जिल्ला प्रहरी कार्यालयको झ्यालको सिसाहरुमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

कांग्रेसले आफ्ना कार्यकर्ता रामनगर गाउँपालिका–७, सिसौटका महेन्द्र रामको गत असोज २१ गते कुटपिटबाट हत्याको भएको र उक्त घटनामा प्रहरीको भूमिका निष्पक्ष नदेखिएको आरोप लगाउँदै आएको छ । कांग्रेसले मृतक महेन्द्र रामलाई शहीद घोषणा गर्न र हत्यामा संलग्नहरुलाई तत्कालै पक्राउ गरेर मुद्दा दायर गर्न माग गर्दै बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय अगाडी नै प्रदर्शन गरेको हो । 

प्रहरीले घटनामा संलग्न मुख्य दोषि पक्राउ नगरी झारा टार्ने हिसाबले केहीलाई पक्राउ गरेर राजनीतिकरण गराएको कांग्रेसले आरोप लगाउँदै आएको छ । उपचार गर्दागर्दै वीरगंजमै मृत्यु भएका रामको शव अहिलेपनि नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजमै रहेको छ । घटनामा संलग्न सबैलाई तत्काल नियन्त्रणमा लिई कार्बाहीको दायरामा ल्याउनुपर्ने र मृतकलाई शहिद घोषणा गर्नुपर्ने कांग्रेसले माग राखेको छ ।  

यता जिल्ला प्रहरी कार्यालयले भने घटना संलग्न भएको आरोपमा तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाईएको बताउँदै आएको छ । ‘घटनामा संलग्न भएको आरोपमा हाँमीले तीनजनालाई नियन्त्रणमा लिएर निश्पक्ष ढंगले अनुसन्धान अगाडी बढाईरहेका छौं’, प्रनाउ कुँवरले भने, ‘उहाँहरुले घटनामा संलग्नै नभएकालाई समेत किटानी जाहेरीमा नाम राखेर मुद्धा दर्ता गर्न दबाब दिईरहनु भएको छ, अनुसन्धानबाट संलग्न देखिए जोसुकैलाई पनि नियन्त्रणमा लिएर कानूनी कार्बाहीको दायरामा ल्याईने छ ।’

प्रकाशित: २८ आश्विन २०७७ १२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App