१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कर्जा लिन खोज्दा खुल्यो बदमासी

मालपोत कार्यालय पर्साबाट नक्कली कागजातका आधारमा वीरगन्जको मेनरोड अलखिया चोकस्थित घरजग्गा रजिस्ट्रेसन पास भएको प्रकरणमा प्रहरीले सफलता हात पारेको छ। ललितपुर महानगरपालिका–१३ कुसुन्ती निवासी केवलप्रताप राणालाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौंको रातोपुलबाट पक्राउ गरेसँगै मर्कन्टाइल कम्पनी सञ्चालक परिवारको स्वामित्वमा रहेको उक्त जग्गा नक्कली कागजात बनाएर हडप्न खोजिएको खुलासा भएको हो।  

वीरगन्ज महानगरपालिका–५ स्थित ५ कट्ठा १५ धुर जग्गा नक्कली कागजातका आधारमा २०७६ फागुन ११ गते रजिस्ट्रेसन पास भएको थियो। मर्कन्टाइल कम्पनीका सञ्चालक राजीव, राकेश र रूपेश राजभण्डारीका बुवा गोपाल राजभण्डारी र आमा कमलादेवी राजभण्डारी हुन्। ललितपुरका स्थायी बासिन्दा रहेका गोपाल र कमलादेवी दुवैको मृत्यु भइसकेको छ। नक्कली कागजात बनाएर कमलादेवीको नामबाट अरूकै नाममा पास गरिएको घरसहितको सो जग्गा धितो राखेर एक व्यक्ति बैंकमा कर्जा लिन पुगेपछि यो घटना बाहिर आएको थियो। वीरगन्ज–५ मा घरसहितको कित्ता नम्बर ३, ७१, १४३, १८६ को पौने ६ कट्ठा जग्गा कमलादेवीबाट उनका उत्तराधिकारीहरूका नाममा नामसारी हुन बाँकी थियो। वास्तविक उत्तराधिकारीमा नाम सारी नहुँदै करिब ५० करोड रूपैयाँ मूल्य आँकलन गरिएको सो जग्गा नक्कली कागजातका आधारमा अरूकै नाममा पास गरिएको थियो।  

आरोपित राणाले आफू मुकेश राजभण्डारी भएको कागजात बनाएर जग्गा पास गराउन सफल भएका रहेछन्। उनले तयार गरेको नक्कली कागताजका आधारमा मालपोत कार्यालय पर्साले जग्गा रजिस्ट्रेसन गरिदिएको रहेछ। यो प्रकरणमा मालपोतका कर्मचारीहरूको संलग्नताबारे प्रहरीले केही जानकारी दिएको छैन।

प्रहरीका अनुसार राणाले आफूलाई मुकेश राजभण्डारी भनी चिनाउनेगरी ललितपुर–१३ कुसुन्तीस्थित वडा कार्यालय र जिल्ला प्रशासन कार्यालय ललितपुरबाट जारी भएको देखिने नक्कली कागजात बनाएका रहेछन्। यो प्रकरण भइसक्दासम्म सक्कली जग्गाधनीलाई भने कुनै अत्तोपत्तो नभएको जनाइएको छ। उक्त जग्गावरपर असम्बन्धित व्यक्तिहरूको अस्वाभाविक उपस्थिति देखिएको जानकारी भने प्राप्त भएको जग्गाको सक्कली स्वामी रहेका मर्कन्टाइल कम्पनीका सञ्चालकहरूले बताएका छन्।  

यसरी खुल्यो घटना

जग्गा फर्जी कागजका आधारमा मालपोत कार्यालय पर्साबाट नामसारी गराइसकेपछि राणाले ‘मुकेश राजभण्डारी’ बनेर नै गत असारमा सोही घरजग्गा धितो राखेर कर्जा लिन एनआईसी एसिया बैंकको वीरगन्ज शाखामा फाइल बढाएका थिए। स्थलगत नापनक्सासहित सबै प्रारम्भिक प्रक्रियापछि फाइल कर्जा फाँटबाट शाखा प्रबन्धकको टेबुलमा पुगिसकेको थियो। फाइल हेर्ने क्रममा शाखा प्रबन्धकले पहिलेदेखि चिनेजानेका हिसाबले सक्कली जग्गाधनीलाई फोन गरे। त्यसपछि जग्गाको किर्ते नामसारी भएको खुल्न आएको थियो। आफूहरूले जग्गा बिक्री नगरेको सक्कली जग्गाधनीले बताएपछि बैंकका शाखा प्रबन्धक झस्किए। उता सक्कली जग्गाधनी पनि अचम्मित भए। त्यसपछि बैंकमा अन्तिम चरणमा पुगेको कर्जाको फाइल रोकियो। त्यसपछि आफूलाई मुकेश भनी बताउँदै आएका राणा पनि सम्पर्कविहीन भए।  

नक्कली कागज बनाई जग्गा हडपेर बैंकबाट ऋण निकाल्न खोजिएको थाहा पाएपछि त्यसलाई रोक्न सक्कली जग्गाधनी साउन पहिलो साता वीरगन्ज आएका थिए। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा साउन ७ मा सक्कली जग्गाधनीका तर्फबाट राजीव राजभण्डारीले जाहेरी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो। २०७६ फागुन ११ गते राणाले मुकेश राजभण्डारीको नाममा उक्त जग्गा पास गराएपछि वीरगन्जका गिरधारीलाल अग्रवाललाई बिक्री गर्न ५० लाख बैना पनि लिइसकेको अनुसन्धानबाट खुलेको छ। नाता प्रमाणित, मृत्युदर्ता प्रमाण र नागरिकता सबै कागजात नक्कली रहेको पाइएको छ। त्यस्तै जग्गाधनी दुई दाजुभाइ अस्ट्रेलियामा भएको र उनीहरूले आमाका नामबाट नामसारी गर्न मञ्जुरीनामा दिइएको नक्कली पत्र पनि प्रयोग भएको पाइएको छ।  

‘अहिलेको अवस्थामा जग्गा कहीं गएको छैन, सुरक्षित छ, त्यसको रजिस्ट्रसन पास गर्न पेस भएका सबै आधार प्रमाण र नागरिकतासमेत नक्कली फेला परेपछि त्यसका आधारमा भएको रजिस्ट्रेससन कायम रहने कुरै आउँदैन,’ मालपोत कार्यालय पर्साका प्रमुख सुमन झाले भने, ‘बदमासी गर्ने मान्छेलाई प्रहरीले समातिसकेको छ, अरू कुरा प्रहरीले अनुसन्धान गरिरहेकै छ।’

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार २०६७ सालमा अमेरिकामा केवलप्रतापमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलेको छ। त्यहाँको अध्यागमनले १० वर्ष अमेरिका पस्न नपाउनेगरी उनलाई नेपाल फिर्ता पठाएको हो। अमेरिकाबाट निष्कासित ३३ वर्षीय राणा त्यसअघिसम्म अमेरिकाको ग्रिनकार्ड होल्डर भएर बाबुआमासँगै त्यहाँ बस्दै आएका थिए। ब्युरोका डीआईजी सहकुलबहादुर थापाका अनुसार यसअघि पनि राणा विभिन्न आरोपमा नेपालमै पटकपटक पक्राउ परिसकेका थिए। २०७० कात्तिक ३ गते अनुसन्धान ब्युरोले राणासहितको गिरोहलाई क्रेडिट कार्ड ठगीको मुद्दामा पक्राउ गरी ललितपुर प्रहरीलाई बुझाएको थियो। ‘प्रारम्भिक रूपमा यो जग्गा प्रकरण प्रकाशमा आएपछि हामीले यसमा संलग्न व्यक्तिहरूलाई बोलाएर सोधपुछ थालेका थियौं,’ पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले भनिन्, ‘केन्द्रीय अनुसन्धान ब्युरोले यसमा विशेष टोली नै परिचालन गरेर अनुसन्धान थालेको हो।’ 

प्रकाशित: २८ आश्विन २०७७ ००:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App