७ वैशाख २०८१ शुक्रबार
समाज

सर्लाही प्रहरीद्वारा साढे दुई बिघामा लगाइएको गाँजा खेती नष्ट

गाँजाको बोट नष्ट गर्दै प्रहरी टोली । तस्बिर : टंक/नागरिक

सर्लाही प्रहरीले जिल्लाको उत्तरी चुरे क्षेत्र नारायणखोलामा साढे दुई बिघामा लगाइएको गाँजा खेती नष्ट पारेको छ। ईलाका प्रहरी कार्यालय लालबन्दी र प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरी टोलीले शनिबार दिनभर लगाएर दुई बिघा १० कठ्ठामा लगाएको गाँजाका हुर्कदै गरेका बिरुवाहरु काटेर नष्ट पारेको हो।  

मध्यान्ह गएको प्रहरी टोली लालबन्दी नगरपालिका–१४, नारायणखोलामा लगाइएको गाँजाको बोट नष्ट गरेर  साँझ अबेर फर्किएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए। उक्त क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले गत वर्ष पनि हजारौं गाँजाको बोट नष्ट पारेको थियो।

साबिक नारायणखोला गाविस अन्तर्गत मोटरदोभान, सत्रकठ्ठा, माइस्थान, हात्तीसुँढे लगायत ठाउँमा व्यावसायिक किसिमले गाँजा खेती हुने गरेको प्रहरीले जनाएको छ। लखन्देही खोलैखोला भएर जानुपर्ने भएकाले हिउँदमा मात्र आवतजावत हुने तथा भौगोलिक हिसाबले सर्लाहीको कर्णाली मानिने नारायणखोलाका बासिन्दाले केही वर्षदेखि गाँजा खेती सुरु गरेको स्थानीयले बताएका छन्।  

जानकारहरुका अनुसार नारायणखोलाका स्थानीयले भारतीय व्यापारीहरुको सहयोगमा अन्य बालीनाली त्यागेर गाँजा खेती गरेका हुन्। उक्त क्षेत्रमा उत्पादन हुने गाँजा लुकाईछिपाई भारतसम्म पुर्‍याउने गरिएको छ।

प्रकाशित: २५ आश्विन २०७७ ११:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App