१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

माछा मार्दा करेन्ट लागेर युवकको मृत्यु

मोरङको कानेपोखरी गाउँपालिका–४ का एक युवकको माछा मार्ने क्रममा करेन्ट लागी मृत्यु भएको छ। कानेपोखरीका ३० वर्षीय रेशम माझीको शनिबार राति करिया खोलामा माछा मार्न खोलामा प्रवाह गरिएको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिबार राति १० बजेतिर रेशमसँगै उनका साथी २९ वर्षीय विनोद माझी र ३४ वर्षीय सुदीप धिमालखोलामा माछा मार्न गएको र खोलामा प्रवाह गरेको करेन्टका कारण मरेका माछा टिप्न पस्दा घटना भएको प्रहरीले जनाएको छ। करेन्ट लागेर बेहोस भएपछि रेशमलाई साथी र स्थानीयले उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र त्यहाँ उपचारका क्रममा आइतबार बिहान १ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।    

‘खोलामा माछा मार्दै गर्दा शनिबार राति ११ बजेतिर करेन्ट लागेर माझी बेहोस भएपछि साथी र स्थानीयले धरान उपचारका लागि लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले भने, ‘खोलामा करेन्ट लगाएर माछा मार्न प्रतिबन्ध गरिएको छ। तर प्रहरीको आँखा छल्दै रातको समयमा अवैध तरिकाले माछा मार्न खोज्दा करेन्ट लागेर मानवीय क्षति हुन पुग्यो।’

उपचारकै क्रममा माझीको मृत्यु भएपछि पानीमा डुबेका कारण घटना भएकोभन्दै प्रहरीलाई जानकारी गराइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार माझीको डुबेर नभई अन्य कारणबाट मृत्यु हुनसक्ने चिकित्सकले बताएपछि घटनाको अनुसन्धान थाल्दा माछा मार्ने क्रममा करेन्ट लागेर घटना भएको खुलेको हो। प्रहरीले घटनास्थलबाट माछा मार्नलाई करेन्ट प्रवाह गर्न प्रयोग गरिएको तार, टेस्टरलगायतका सामग्री फेला परेको छ भने माझीसँगै गएका विनोद र सुदीपलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित: २५ आश्विन २०७७ ०५:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App