coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोना संक्रमितलाई आइसियु अभाव

काठमाडौ उपत्यकामा दैनिक बढ्दो कोरोना संक्रमणको कारण गम्भीर संक्रमितका लागि आइसियु अभाव भएको कोभिड उपचारमा संलग्न अस्पतालहरुले जनाएका छन्। उपचारका अस्पताल लागि पुगेका सिकिस्त बिरामीले कि त आइसियु खाली हुने दिन पर्खेर बस्नुपर्छ कि राजधानीका अस्पतालहरु चाहार्दै दिन बित्छ।

शिक्षण अस्पताल महाराजगन्मा कोभिड–१९ का लागि १४ वटा आइसियु छुट्टयाइएको छ। ती सबै दुई महिनादेखि भरिभराउ रहेको अस्पतालका कोभिड–१९ संयोजक डा. सन्तकुमार दासले जानकारी दिए। आइसियु भरिभराउ भएपछि आउने बिरामीले दुःख पाउने गरेको अस्पतालकै कोभिड सम्पर्क व्यक्ति डा. सवीन थपलियाले बताए। ‘यहाँ नपाएपछि कोही निजीतिर जान्छन् त कोही अरु अस्पतालको खोजीमा हुन्छन्,’ उनले भने। यो अस्पतालमा ग्राण्डी र ह्याम्सले समेत आइसियुका बिरामी पठाउने गरेको उनले बताए।

कोभिड–१९ का लागि वीर अस्पतालले छुट्टयाएको १२ वटा आइसियु एक महिनादेखि नै भरिभराउ छन्। १२ वटामध्ये पनि २ वटा उपकरण जडान भएकोले दुईवटा सञ्चालनमा छैनन्। ‘अस्पतालले कोभिडको सेवा दिन थालेदेखि नै आइसियु भरिभराउ नै छ,’ उनले भने।

ह्याम्स अस्पतालमा कोभिडको प्रयोजनको लागि रहेका १३ वटा आइसियु डेढ महिनादेखि एकछिन पनि खालि नभएको अस्पतालले जनाएको छ। दैनिक आइसियु चाहिने अवस्थाका ८÷९ जना बिरामी आकस्मिक कक्षमै आउने गरेको उनले सुनाए। ‘त्यसरी आउने सबै आइसियु माग गर्ने हुन्छन्। बेड व्यवस्थापन गर्न आकस्मिक कक्षका डियुटी चिकित्सकलाई तनाब हुने गरेको अस्पतालका डा. राजु पंगेनीले बताए। आइसियु मात्र नभएर ७० बेडको आइसालेसन वार्ड पनि सधैं भरिभराउ रहेको पंगेनीले सुनाए।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको २१ वटा कोभिड आइसियु दिनहुँ भरिभराउ भएपछि अस्पतालका भर्ना भएका सिकिस्त कोडिभ बिरामीलाई अक्सिजन दिएर व्यस्थापन गर्ने र खाली भएपछि आइसियुमा राख्ने गरेको अस्पतालका कोभिड–१९ उपचार संयोजक डा. विमल पाण्डेले बताए। यो अस्पतालमा दुई महिनादेखि नै आइसियु खाली नभएको जानकारी दिए। दैनिक निजी अस्पतालले समेत सबै बिरामी यतै रेफर गर्दा एकछिन पनि खाली हुन नपाएको उनको भनाइ छ। सबैले यतै पठाउँदा पाटन अस्पताल अन्य अस्पतालको डम्पिङ साइड जस्तो बनेको उनले बताए।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रहेका २० वटा आइसियु पनि तीन सातादेखि नै भरिभराउ रहेको अस्पतालका प्रवक्ता तथा सरुवा रोग विशेषज्ञ डा. अनुपराज बास्तोलाले बताए। आइसियुमा ठाउँ नभएपछि आइसियु चाहिने अवस्थाका बिरामीलाई रातभरि आकस्मिक कक्षमा अक्सिजन दिएर भोलिपल्ट बलम्बु र पाटन अस्पतालमा पठाउने गरेको बास्तोलाले सुनाए। अहिलेकै दरमा संक्रमण बढ्ने हो भने राजधानीका अस्पतालहरुले धान्न नसक्ने उनले बताए। अस्पतालले बिरामीको तह हेरेर मात्र आइसियुमा राख्ने र अक्सिजनले पनि पुग्ने अवस्थाका छनोट गरेर मात्र आइसियु सेवा दिएमा सिकिस्त बिरामीले आइसियु पाउनसक्ने उनको सुझाव छ।

श्सस्त्र प्रहरी बल अस्पतालले पनि दुई सातोदेखि आइसियु एक दिन पनि खाली हुन पाएको छैन। यो अस्पतालमा २१ वटा आइसियु छन्। ‘पहिला आइसियु एकदिनसम्म खालि हुन्थ्यो,अहिले एक÷दुई घण्टामै मिलाएर अर्को बिरामी राखिहाल्छौं,’ अस्पतालका कोभिड–१९ संयोजक डा. प्रवीन नेपालले भने। आइसियु भरिएपछि सिकिस्त बिरामीको तह हेरेर आइसियुबाट बाहिर ल्याउने र वार्डकालाई आइसियुमा राखेर व्यवस्थापन गरेको डा. नेपालले सुनाए। ‘कोहीको आइसियुमै मृत्यु हुन्छ, कोही केही निको भएपछि वार्डमा सारेर खाली गर्छौं,’ उनले भने।

राजधानीका कोभिड अस्पताल भरिएको कुरा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्वीकार गरेको छ। बिहीबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले राजानीमा आइसियु अझै खाली रहेको बताए। शुक्रबार मन्त्रालयले दैनिक पे्रस विज्ञप्तिमा राजधानीमा ८७ भेन्टिलेटर र २ सय १२ वटा आइसियु क्षमता रहेकोमा ६४ वटा आइसियु र ३६ वटा भेन्टिलेटर खाली रहेको दाबी गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बिरामीहरुको पायकको अस्पतालमा मात्र आइसियु भरिएको कतिपय निजी कोभिड अस्पतालहरुमा खाली रहेको बताए। ‘खाली भएको सिट सार्वजनिक गरेका छौं,’ उनले भने।

चिकित्सकका अनुसार राजधानीमा औसत संक्रमण दर बढेअनुसार दैनिक १ सय जना आइसियु चाहिने अवस्थाका संक्रमित छन्। त्यसको व्यवस्थापनको लागि सरकारले सबै अस्पतालहरुमा भएका ननकोभिड आइसियुलाई समेत कोभिडमा रुपान्तरण गरेर भए पनि सेवा दिने अवस्था आएको शिक्षण अस्पतालका कोभिड संयोजक डा. दासको सुझाव छ।

शुक्रराज सरुवा रोग अस्पतालका प्रबक्ता डा. बाँस्तोलाका अनुसार सरकारले संक्रमणको चेक बे्रक गर्नलाई पनि केही साताको लागि निषेधाज्ञा जारी नगरेमा संक्रमण तीव्र बढेर अस्पतालको क्षमताले नसक्ने गरी सिकिस्त बिरामी हुनेछन् र उनीहरुको उपचारमा कठिनाइ हुने स्थिति छ। यसको अक्सिजनसहितका बेड थप्ने र कतिपय अवस्थामा आइसियुसमेत बढाउनु पर्ने उनको सुझाव छ।

प्रकाशित: २४ आश्विन २०७७ ०२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App