८ वैशाख २०८१ शनिबार
समाज

संक्रमण बढेपछि धरान उपमहानगरपालिका बन्द

कर्मचारी र जनप्रतिनिधिहरु धमाधम कोरोना संक्रमित हुन थालेपछि धरान उपमहानगरपालिका र सबै वडा कार्यालयहरु एक सातालाई बन्द गरिएको छ।

बुधबार सर्वपक्षीय तथा सर्वदलीय बैठकबाट आएको सुझावअनुसार उपमहागनरपालिकाले बिहिबारदेखि एक सातालाई वडा कार्यालयसहित उपहानगरपालिका पनि बन्द गर्ने निर्णय गरेको हो। असोज २८ गतेसम्म आकस्मिक सेवाबाहेकका सेवाहरु उपमहागनरपालिका र वडा कार्यालयमा बन्द गरिने प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए।

धरानमा दिन प्रतिदिन समुदायमा कोरोना संक्रमण बढीरहेको छ। अहिलेसम्म ८ सय हाराहारीमा संक्रमित संख्या पुग्दा उपमहानगरपालिका, वडा कार्यालयका कर्मचारीहरु पनि संक्रमणको चपेटामा परेका छन्। यस्तै, वडाका जनप्रतिनिधिहरु पनि संक्रमित भइरहका छन्। मंगलबार मात्र वडा नं ७ र १५ का अध्यक्ष पनि कोरोना पोजेटिभ देखिएको छ। जनप्रतिनिधि र कर्मचारीहरुलाई संक्रमण पुष्टि भएपछि यसअघि नै धरानको वडा नं १६, १५, १४, ८, ३ र १२ को कार्यालय बन्द गरिएको थियो। साथै, कर्मचारीहरु आइसोलेसन र क्वारेन्टिनमा बसेपछि उपमहागनरपालिका कार्यालयको पनि विभिन्न शाखाहरु सुनसान बनेका थिए।

तत्काल लकडाउन नगरिने
कोरोना संक्रमणको संख्या बढिरहँदा धरानलाई सिल वा लकडाउन गर्नुपर्ने आवाज पनि उठिरहेको छ। तर, लकडाउन मात्रै सही विकल्प होइन भन्ने तर्क वितर्क पनि भइरहेको छ।

यसै विषयमा उपमहागनरपालिकाले बुधबार दिउँसो सर्वपक्षीय र सर्वदलीय बैठक राखेको थियो। तीन घण्टाभन्दा बढी समय बसेको बैठकले तत्काल लकडाउन नगर्ने निष्कर्ष निकालेको छ। तर, संक्रमणको जोखिम दिन दिनै बढीरहेकोले स्वास्थ्य सुरक्षाको प्रोटोकल प्रभावकारीरुपमा पालना गराउने र त्यसका लागि अनुगमन गर्नुपर्ने निष्कर्ष पनि बैठकले निकालेको छ। बैठकको निष्कर्षअनुसार नै नगरवासीहरुलाई स्वास्थ्य प्रोटोकल पालना गर्न आह्वान गरिने प्रमुख प्रशासकीय अधिकृत विदुर खनालले बताए।

बैठकमा लकडाउन गर्ने कि भन्ने प्रस्ताव पनि सहभागीहरुले गरेका थिए। तर, लकडाउ गर्ने पक्षमा थोरै संख्या भएको सहभागी नेकपाका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए। उनका अनुसार सुरक्षा संयन्त्र परिचालन गर्ने, अनुगमन कडाइ गर्ने निष्कर्ष निस्किएको छ। उनले पसलहरुमा सेनिटाइजर प्रयोग गर्ने, पसले र ग्राहकहरुले मास्क लगाउने, गाडीमा पनि मास्क, सेनिटाइजर र पञ्जा प्रयोग गरे नगरेको अनुगमन गर्नुपर्ने सुझाव आएको जानकारी दिए।

प्रकाशित: २३ आश्विन २०७७ ०२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App