६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

‘जहाँ हुनुहुन्छ त्यहीं दसैं मनाउनुहोस्’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस वर्षको दसैंमा गाउँघर नजान अनुरोध गरेको छ। कोरोना संक्रमण दर तीव्र बन्दै गएपछि मन्त्रालयले आफू बसेकै ठाउँमा दसैं मनाउन अनुरोध गरेको हो।

दसैंमा घर जाँदा घरमा भएका वृद्ध बुवाआमा तथा आफन्तलाई टीका थाप्ने क्रममा कोरोना संक्रमण सर्ने जोखिम भएकोले बसिरहेकै ठाउँमा टीका लगाएर यसपटकको दसैं मनाउन मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अनुरोध गरे। घरमा जाने क्रममा या पाहुना हुन जाने क्रममा काठमाडौंबाट या अन्य ठाउँबाट कोरोना संक्रमण लिएर घरमा सुरक्षित बसिरहेकालाई सर्ने जोखिम बढी देखिएको उनको भनाइ थियो। ‘दसैं मनाउँदा घरमा भएका बुवाआमालाई सारेर मार्ने ?,’ गौतमले भने। लक्षण नदेखिएकाबाट पनि संक्रमण हुने र भर्खरै सुरु भएको संक्रमणको लक्षण पनि सुरुमै नदेखिने हुनाले हरेक व्यक्तिले कोरोना सार्ने सम्भावना बढी भएको गौतमले बताए।

उनले यो पालिको दसैं भर्चुल (भिडियो कल) मार्फत मनाउन सबै नेपालीलाई आग्रह गरेका छन्। ‘बुवा–आमालाई कोरोना सार्नुभन्दा भिडियोबाट आर्शिवाद लिनुहोस्, दसंै अर्कोपटक पनि आउँछ,’ उनले भने। सरकारले भनेको गरेको यो अनुरोध सबैले पालना गरेमा लकडाउन नगरेर दसैं मनाउन सकिने गौतमले बताए। सरकारले गरेको अनुरोध पालना नगरेमा पुनः लकगाउन गर्नुपर्ने अवस्थासमेत आउने उनले बताए। ‘नमानेमा लकडाउन पनि गनुपर्ने हुनसक्छ,’ उनले भने। अन्य वर्षमा पनि विदेशमा हुनेहरुले भर्चुअल दसैं मनाइरहेकाले यो वर्ष पनि त्यसैगरी दसैं मनाएमा धेरै जोखिम समूहलाई मृत्युबाट जोगाउन सकिने गौतमले सुझाए।

उनको अनुसार मन्त्रालयले काठमाडौं उपत्यकासहित अन्य जिल्लामा रहनेहरुले पनि दसैंमा भेटघाट नगरी दसैंै मनाउन अनुरोध गरेको छ। ‘जोखिम जताततै बढेकाले अन्य जिल्लामा पनि यो नियम पालना हुनुपर्छ’।

कोरोना जोखिम बढेपछि आइतबार स्वास्थ्य मन्त्रालयमा बसेको इन्सिडेन्ट कमाण्डको बैठकले जनस्वास्थ्यको मापदण्ड पालना नगर्नेलाई नियम बनाई कारबाही गर्ने निर्णयसमेत गरेको जनाएको छ। सोही क्रममा प्रवक्ता गौतमले धेरैले भौतिक दूरी र मास्क लगाउने सुरक्षाका मापदण्ड पालना गरेको पाइएको र थोरैले अहिले पनि पालना नगरेको जानकारी दिए। सोही क्रममा कसैले पनि कोरोनालाई सामान्य नभई गम्भीर रुपमा सर्तकता अपनाउन अनुरोध गरेका छन्।

सोही बैठकले काठमाडौं उपत्यकामा भर्ना भएका कोरोना संक्रमितमध्येमा लक्षण नभएकालाई १० दिनपछि पिसिआर परीक्षण गर्ने नेगेटिभ आएका डिस्चार्ज गर्ने र पोजिटिभ आएमा थप चार दिन राखी डिस्चार्ज गर्ने निर्णय गरेको छ। मन्त्रालयको गुणस्तर तथा नियमन शाखाले निजी अस्पतालले दिएको कोरोना उपचार सेवाको अनुगमनलाई थप प्रभावकारी पार्न निर्देशन दिएको छ। त्यसैगरी, सरकारले कोरोना उपचारमा आवश्यक ५ हजारको हाइडिपेन्डेन्ट युनिट तयार गर्ने प्रक्रिया बढाइसकेको जनाएको छ। यसमा प्रत्येक प्रदेशमा ५ सय र उपत्यकाभित्र २५ सयवटा यस्ता युनिट तयार पारिनेछ।

बैठकले गाडी सुविधा नभएका ठाउँमा एयरबस (हेलिकोप्टर) मार्फत कोरोना संक्रमितलाई सुविधायुक्त अस्पतालमा लैजाने व्यवस्था निजी खर्चमा गर्न सकिने पनि निर्णय गरेको छ।

थप २५५३ जना नयाँ संक्रमित
गत २४ घण्टामा थप २५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थपसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ। तीमध्येमा ६४ हजार ६९ जना निको भएका छन् भने ५ सय ३५ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १५ सय ९९ जना संक्रमित भएका छन्। तीमध्येमा काठमाडौंमा १३ सय ७३, ललितपुरमा १ सय ८७ र भक्तपुरमा ३९ जना छन्। उपत्यकाबाहिर चितवन, मोरङ, रुपन्देही र बाँकेमा उल्लेखनीय संख्यामा नयाँ संक्रमित थपिएका छन्।

 

गत २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा चार महिला र ३ जना पुरुष छन्। मृत्यु हुनेमा चितवनकी ५५ वर्षीया, मकवानपुरकी ५ वर्षीया बालिका, बाँकेकी २५ वर्षीया र कन्चनपुरकी २९ वर्षीय महिला छन्। त्यस्तै काठमाडौंका ५५ वर्षीय, ललितपुरका ७७ वर्षीय र बाँकेका ६० वर्षीय पुरुष छन्। हाल देशभरिमा २२ हजार १ सय १९ जना सक्रिय संक्रमित छन्। तीमध्ये होम आइसोलेसनमा ११ हजार ८ सय ९३ जना र संस्थागत आइसोलेसनमा १० हजार ३ सय २६ जना छन्। गम्भीर समस्या भएका २ सय २६ जना आइसियुमा र भेन्टिलेटरमा ३४ जना छन्। गत २४ घण्टामा १२ हजार ७ सय ८४ जनाको पिसिआर परीक्षण भएको थियो।

प्रकाशित: १९ आश्विन २०७७ ०२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App