२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

काठमाडौँ उपत्यकामा गुर्जोको बिरुवा वितरण अभियान तीव्र

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलँदै जाँदा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जो वितरण पनि बढ्न थालेको छ। गुर्जोको बिरुवा, धुलो, डाँठ र चिया निःशुल्क वितरणमा लागेका अभियानकर्मी कमलबहादुर राजलवटले उपत्यकाका विभिन्न स्थानमा माग अनुसार वितरण गरिएको  जानकारी दिए। आन्तरिक राजश्व कार्यालय लहानका कार्यालय प्रमुख राजलवटले सरकारी निवास रहेको स्थानमा उत्पादन गरेको गुर्जोको बिरुवा देशव्यापी निःशुल्क वितरण गरिएको सुनाए।

हालसम्म करिब ९० हजार वटा गुर्जाको बिरुवा निःशुल्क वितरण गरिएको छ। चाँगुनारायण नगरपालिकाको दुवाकोटमा ३००, धुलो, चिया र डाँठ समेत वितरण गरिएको छ। खाली पेटमा मनतातो पानीमा गुर्जोको धुलो राखेर खाएमा तरोताजा अनुभव हुने गरेको छ। पातञ्जल योग समिति, चक्रपथ सफाइ अभियानको पश्चिम खण्डमा गरी ३५० वटा गुर्जो वितरण गरिएको छ।

यसैगरी त्रिभुवन विश्वाविद्यालयको राजनीति शास्त्र, भूगोल लगायत चार विभागमा करिब ४०० बिरुवा वितरण गरिएको छ। महालक्ष्मी नगरपालिका वडा नं. १ इमाडोलमा पनि ३०० बिरुवा हस्तान्तरण गरिएको अध्यक्ष राजलवटले जानकारी दिए। यसैगरी काठमाडौ महानगरपालिका वडा नं १० मा पनि गुर्जोको बिरुवा निःशुल्क वितरण गरिएको छ। वडा अध्यक्ष रामकुमार केसीलाई कोरोना पोजेटिभ भएकालाई दिने गरी ३० किलो गुर्जोको धुलो समेत वितरण गरिएको छ।  

यसैगरी गोकर्णेश्वर नगरपालिका वडा नं। ४ स्थित निर्माणधीन राष्ट्रिय शहीद स्मारकस्थलमा ५०० बिरुवा हस्तान्तरण गरिएको छ। यी बिरुवा शनिबार रोपिनेछ। अभियानकर्मी राजलवटले लहानको सरकारी निवास रहेको करिब १० कठ्ठा जमिनमा जडिबुटी रोपेका छन् जसबाट हालसम्म कैयौलाई निःशुल्क गुर्जो, धुलो लगायत वितरण गरिएको छ। वाग्मती लगायत उपत्यकाका नदी किनारमा यसअघि गुर्जो रोपिएको छ। उपत्यकामा एक घर एक गुर्जो बिरुवा रोपण अभियानमा लागिएको अभियानकर्मी राजलवले बताए।

गुर्जो मधुमेह, उच्च रक्तचाप, मौसमी रुघाखोकी लगायत रोगका लागि औषधीको काम गर्ने गरेको छ। गर्भवती महिला र पाँच वर्ष मुनिका बालबालिकाका लागि भने गुर्जो सेवन गराउन हुँदैन। आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तोः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छन् तिनलाई औषधीको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने भावना अनुसार देशव्यापी रुपमा गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको हो। अभियानले कोरोना पोजेटिभ भएकालाई गुर्जोको धुलो वितरण अभियानलाई समेत तीव्र बनाएको छ। गुर्जोको धुलो मन तातो पानीमा मिसाएर एक हप्ता सेवन गर्ने कोरोना पोजेटिभ भएकामा रोग प्रतिरोधी क्षमता बढाउने बताइएको छ।
रासस

प्रकाशित: १७ आश्विन २०७७ ०५:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App