१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

म्याद सकिएका सामानमा मिति मेटेर नयाँ लेवल, यस्तो छ विशाल ग्रुपसँग कनेक्सन

सामान बजारमा पनि भेटियो

दुई ठूला पर्व दसैं र तिहार सम्मुखमा छन्। यस्तो बेला कालोबजारी हुने गरेका घटना नौला होइनन्। कालोबजारी नियन्त्रणका लागि सरकारी निकायले अनुगमन पनि गरिरहेका हुन्छन्। तर बिहीबार फरक घटना बाहिरिएको छ।

पसल तथा डिपार्टमेन्ट स्टोरमा केही मात्रामा म्याद नाघेका खाद्य बस्तु पाइन सक्छन्। कतिपय अवस्थामा व्यवसायीले सावधानी नअपनाउँदा त्यस्ता सामाग्री बजारमा नै रहने गर्छन्। तर बिहीबारको घटनाले भने सबैलाई झस्काएको छ। त्यहाँ असावधानी होइन नियत थियो। उपभोक्ताको स्वास्थ्य माथि गम्भिर खेलवाड थियो। पैसाको लालसामा मानिसले के सम्म गर्न सक्छन् भन्ने एउटा तितो उदाहरण यो बनेको छ।

महानगरीय प्रहरी अपराध महाशाखा र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको संयुक्त अप्रेशनले उपभोक्ता स्वास्थ्यमाथिको गम्भिर खेलवाड बाहिर ल्याएको हो। संयुक्त अप्रेसनले म्याद नाघेका खाद्य पदार्थलाई पुन: म्याद राखेर बजारमा पठाउने एउटा घटनालाई बाहिर ल्याएको छ। ‘म्याद सकिएका सामानलाई पुन: म्याद राखेर बजारमा पठाउने सूचना आइरहेको थियो’, महाशाखा प्रमुख एसएसपी दीपक थापाले भने, ‘केही दिनदेखि त्यसको अनुसन्धानमा थियौ। बिहीबार छापामार्दा सोचे भन्दा पनि ठूलो परिणामा सामान बरामद भयो।’ प्रहरीले चकलेट, बिस्कुट, चिप्स, ट्यांक, हरपिक, प्रर्फ्युम जस्ता म्याद  सकिएका समानमा पुन: म्याद राखिएको भेटाएको हो।

प्रहरीले कंलकी र बाफलमा छापा मारेको थियो। ओरियो विस्कुट, स्नीकर्स, बन भिटा, प्रिङगल्स र युनिलिभर कम्पनीका उत्पादनसमेतमा पुन: लेवलिङ गरेको भेटिएको प्रहरीले जनाएको छ।  म्याद सकिएका सामानमा पुन: अर्को स्टिकर टाँसेर बजारमा पठाउन संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।  

पक्राउ पर्नेहरुमा आयन इन्टरनेश्नलका रौनक बोथ्रासहित छन्। उनीहरुको गोदाम रहेका दुई घरलाई प्रहरी, जिल्ला प्रशासन र विभागको टोलीले सिल गरेको छ। त्यहीँ नजिकमा रहेको अमेजन डिस्टिव्युटरमा समेत लेभलिङ गरी बजारमा बिक्री बितरणको लागि राखिएका सामानहरु प्रहरीले फेला परेको छ। उक्त घरलाई पनि शिल गरिएको छ। प्रहरीले छापा मार्दै गर्दा गाडीमा म्याद नाघेको सामान ल्याउँदै गरेको समेत पाइएको थियो। उक्त गाडीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।  प्रहरीले पुष्पादेबी अग्रवाल, भारत राजस्थानका रोनक बोथ्रा, मुन्ना ठाकुर, पप्पु कुमार ठाकुर, श्याम प्रसाद सिंह, राम बहादुर बयलकोटी, सिताराम उपरकोटी र दिलिप थापामगरलाई पक्राउ गरेको छ। त्यहाँबाट ३ वटा गाडी प्रहरीले नियन्त्रणमा लिएकोछ। उनीहरु विरुद्ध मुद्दा चलाउन प्रहरीले बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभाग बबरमहल पठाएको छ। उनीहरुको विभागमा बयान भइरहेको छ। पक्राउ परेकाहरुलाई उपभोक्ता संरक्षण ऐन अनुसार मुद्दा चलाउने तयारी भइरहेको छ।  

अखद्य बस्तुको विशाल समूहसँग कनेक्सन

स्नीकर्स, ओरियो विस्कुट, प्रिङगल्स लगायतका सामान विशाल ग्रुपले आयात गर्दै आएको छ। तिनै सामानमा म्याद थप्दै बजारमा पठाउने गरेको भेटिएको हो। बाणिज्य स्रोतका अनुसार ति सामान आयन डिष्ट्रिब्युटरले विशाल समूहको युनाइटेड डिष्ट्रिब्युटर र लाइफ केयर इन्टरनेशनलबाट खरिद गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। विशालको सब्सीडियरी कम्पनी युनाइटेड डिष्ट्रिब्यूटरबाट बजारमा ति म्याद गुज्रेका खाद्य सामाग्री जाने गरेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए। ‘ति सामानको सिधा कनेन्सन विशाल ग्रुपसँग देखिएको छ’, बाँणिज्यका एक अधिकारीले भने, ‘बयान जारी छ। बजारमा पनि अनुगमन गरिरहेका छौं। शंका लागेका सबै ठाउँलाई निगरानीमा राखेका छौं।’  

सामान बजारमा पनि भेटियो

प्रहरी र बाणिज्यले सामान नियन्त्रणमा लिनु अगाडिनै बजारमा समते गएको देखिएको छ। त्यहाँ रिलेबलिङ भएका सामानहरु बजारका साना पसलदेखि ठूला डिपार्टमेन्ट स्टोरहरुमा समेत पाइने गर्छन्।  वाणिज्य स्रोतका अनुसार करिव ३ करोड मूल्य बराबरका अखाद्य बस्तु नियन्त्रणमा लिइएको छ। ‘सामानको मूल्याङकन हुँदैछ तर करिव ३ करोड बराबरका सामान रहेको अनुमान छ’, वाणिज्यका एक अधिकारीले नागरिकसँग भने, ‘त्यहाँबाट बजारमा पनि सामान गएको देखिएको छ।’ विभागले शुक्रबार बिहान उक्त क्षेत्र वरपरका पसलमा समेत अनुगमन गरेको थियो। सो क्रममा ति सामान त्यहाँका पसलहरुमा पाइएको बाणिज्य स्रोतले बतायो। कति सामाज बजारमा गएको छ भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए। उपत्यका बाहिर कति पठाइएको छ भन्नेबारे पनि अनुसन्धान थालिएको उनले बताए।  

 

 

 

प्रकाशित: १६ आश्विन २०७७ ०८:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App