४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोना संक्रमणबाट डाक्टरको मृत्यु

नेपालमा पहिलोपटक कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट वरिष्ठ डाक्टरको मृत्यु भएको छ। प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बाँकेको खजुरा गाउँपालिका–३ का ५९ वर्षीय प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक्स सर्जन डा. हरि सापकोटाको बिहीबार मृत्यु भएको हो।

उपचारका क्रममा उनको बाँकेस्थित भेरी अस्पतालमा निधन भएको प्रदेश अस्पताल सुर्खेतले जनाएको छ। डा. सापकोटाको भदौ २९ गते प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा स्वाब परीक्षण गरिएको थियो।

कोरोना पोजेटिभ देखिएपछि तीन दिन प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा राखेर उपचार गरिएको थियो। श्वासप्रश्वासमा समस्या देखिनुका साथै शरीरमा अक्सिजनको मात्रा कमि भएपछि डा. सापकोटालाई थप उपचारका लागि भेरी अस्पताल नेपालगन्ज रेफर गरिएको थियो।

कर्णाली प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलका अनुसार भेन्टिलेटरमा उपचारकै क्रममा डा. सापकोटाको बिहीबार दिउँसो ३ः१० बजे मृत्यु भएको हो। चिकित्सकका अनुसार उनको दुवै साइड फोक्सोमा निमोनिया र कडाखालको कोरोना भाइरस देखिएको थियो। डा. सापकोटाको भेरी अस्पतालमा हाइड्रोअक्सिजन, सिपीएपी, प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो। डा. सापकोटा २०६३ भदौ १ गतेदेखि कर्णालीमा सेवारत थिए।

कर्णालीमा मंगलबार थप एक संक्रमितको मृत्यु भएको थियो। जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार मंगलबार घरमै मृत फेला परेकी ३५ वर्षीया एक महिलामा कोरोना पुष्टि भएको हो। भेरीगंगा नगरपालिका–१ स्थायी ठेगाना भएकी महिला श्रीमानसँगै वीरेन्द्रनगर–११ पिपिरामा बस्दै आएकी थिइन्। जन स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतनिधि वाग्लेले पोष्टमार्टम अघि कोरोना परीक्षण गरिएकोमा बुधबार रिपोर्ट पोजेटिभ आएको बताए। उनका अनुसार एकै दिन श्रीमान–श्रीमतीको मृत्यु भएको थियो। श्रीमान्को स्थानीयले मुस्लिम परम्पराअनुसार दाहसंस्कार गरेका थिए। उनको पोर्टमार्टम नभएको वाग्लेले जानकारी दिए।

कर्णालीमा योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा पहिलोपटक जेठ १७ गते दैलेखको दुल्लु नगरपालिका–११ का ३५ वर्षीय पुरुषको मृत्यु भएको थियो। उनको दुल्लु नगरपालिका–७ स्थित क्वारेन्टिनमा रहेकै बेला मृत्यु भएको हो। यस्तै जेठ २१ गते डोल्पाको जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुषको मृत्यु भयो। उनी होम क्वारेन्टिनमा थिए।

जेठ २२ गते सुर्खेतको पञ्चपुरी नगरपालिका–१ का १८ वर्षीय युवकको मृत्यु भयो। क्वारेन्टिनबाट घर फर्केकै बेलुका ति युवकको मृत्यु भएको थियो। असार १ गते सुर्खेतकै सिम्ता गाउँपालिका–८ कि २५ वर्षीया महिलाको मृत्यु भयो। आत्महत्या गरेकी महिलाको पछि स्वाब परीक्षण गर्दा कोरोना फेला परेको थियो। असार आठ गते दैलेखको दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको मृत्यु भयो। उनको कर्णाली प्रदेश अस्पताल कोभिड आइसोलेसन वार्डमा मृत्यु भएको थियो भने असार ९ गते दुल्लु नगरपालिका–१० का २१ वर्षीय पुरुषको मृत्यु भयो।

प्रदेश प्रमुखलाई कोरोना संक्रमण
कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी कोभिड–१९ (कोरोना भाइरस) संक्रमित भएका छन्। कन्ट्याक्ट ट्रेसिङ गर्दा उनीमा कोरोना पुष्टि भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

उक्त कार्यालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना भाइरसको लक्षण देखिएको थियो। त्यसपश्चात् प्रदेश प्रमुखले स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको छ।’ हाल प्रदेश प्रमुखको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। प्रदेश प्रमुख कलौनीलाई होम आइसोलेसनमा राखिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

प्रकाशित: १६ आश्विन २०७७ ०२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App