७ वैशाख २०८१ शुक्रबार
समाज

५३ प्रतिशत संक्रमित उपत्यकामा

एक महिनायत लगातार काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। आइतबार मात्रै देशभरका संक्रमितमध्ये ५३.३ प्रतिशत उपत्यकामा मात्र रहेका छन्। गत २४ घण्टामा नयाँ संक्रमित १५ सय ७३ रहेकोमा उपत्यकामा ८ सय ३७ जना छन्। यसअघि पनि दैनिक कुल संक्रमितमध्ये उपत्यकामा ५० प्रतिशतको हाराहारीमा संक्रमित हुने गरेका थिए। उपत्यकाकबाहिर सबैभन्दा बढी मोरङमा १ सय ५२, चितवनमा ८३ र सुर्खेतमा ७६ र कैलालीमा ५६ जना संक्रमित छन्।

तथ्यांकअनुसार शनिबार उपत्यकामा ७ सय २४ जना र शुक्रबार ५ सय ५५ जना संक्रमित थिए। उपत्यकासहित आइतबार २४ घण्टाभित्र १५ सय ७३ जना नयाँ संक्रमित थप भएका हुन्। थपसहित नेपालमा कुल संक्रमित संख्या ७३ हजार ३ सय ९४ पुगेको छ। तीमध्ये ४ सय ७७ जनाको मृत्यु भएको छ। गत २४ घण्टामा थप १० जनाको मृत्यु भएको हो। कुल संक्रमितमध्येमा ०.६५ प्रतिशतको मृत्यु भएको छ। संक्रमितमध्ये हालसम्म ५३ हजार ८ सय ९८ जना निको भइसकेका छन्। हालदेशभरिमा १९ हजार १९ जना संक्रमित छन्। त्यसमा गम्भीर समस्या भएका २ सय २५ जनाको आइसियु र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

उपत्यकाबाहिर बढी संक्रमणको जोखिममा रहेका जिल्लामा मोरङ, रुपन्देही, चितवन र सुर्खेत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमण जोखिम थप बढिरहेको जनाउँदै मन्त्रालयले कलेजो, क्यान्सर, फोक्सो, मिर्गौला, मधुमेह, उच्च रक्तचापका रोगी, गर्भवती, सुत्केरी, वृद्ध–वृद्धालाई घरबाहिर ननिकस्न अनुरोध गरेको छ। निस्कनै परेमा मास्क, दुई मिटर दूरी र हातको सफाइको कुरालाई पूर्ण रुपमा पालना गर्न अनुरोध गरेको छ।

अब प्रयोगशालाबाट सिधै बिरामीलाई रिपोर्ट
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबदेखि देशभरका कोरोना परीक्षणको रिपोर्ट सिधै व्यक्तिले जानकारी पाउने व्यवस्था गरेको छ। प्रक्रिया अनुसार हरेक प्रयोगशालाले पोजिटिभ या नेगेटिभ जुनसुकै रिपोर्ट आए पनि बिरामीलाई जानकारी गराउनुपर्नेछ। नेपालमा संक्रमणको पहिलो चरणमा राष्ट्रिय इपिडिमियोलोजीमार्फत रिपोर्ट जानकारी गराउने गरेकोमा दोस्रो चरणमा प्रयोगशालामार्फत नै पठाउने निर्णय गरेको हो। पछिल्लो चरणमा लक्षण नभएका संक्रमितहरु होम आइसोलेसनमा बस्ने भएकोले यो प्रक्रिया छिटो हुने मन्त्रालयले जनाएको छ। तर संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गर्नको लागि महाशाखामा पनि रिपोर्ट पठाइनेछ।

पिसिआर रिपोर्टको भरमा परीक्षामा सहभागी नगराउनु
निजी कलेजहरुले पिसिआरको रिपोर्ट लिएर विद्यार्थीलाई परीक्षामा सहभागी गराउने निर्णय नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ। पिसिआर परीक्षणको रिपोर्ट मात्र संक्रमणको जोखिमको आधार नभएकाले यसरी परीक्षामा विद्यार्थीसामेल गराउन नहुने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। ‘पिसिआरको रिपोर्ट मात्र वैज्ञानिक आधार हैन, तसर्थ सम्बन्धित कलेजहरुले परीक्षामा सहभागी नगराउन अनुरोध गर्दछौं,’ उनले भने।

प्रकाशित: १२ आश्विन २०७७ ००:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App