७ वैशाख २०८१ शुक्रबार
समाज

टालटुल पारेको भोलिपल्टै पूर्व–पश्चिम राजमार्ग पुनः क्षतविक्षत

डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुर गत मंगलबार खाडलहरु टालटुल पारेपनि बुधबारदेखि नै पुनः क्षतविक्षत बनेको हरिवन स्थित पूर्व–पश्चिम राजमार्ग । तस्बिर : टंक/नागरिक

सर्लाही स्थित पूर्व–पश्चिम राजमार्गमा बनेका ठूला ठूला खाडलहरु टालटुल पारेको भोलिपल्टै पुनः उस्तै गरी क्षतविक्षत भएको छ।  

गत मंगलबार दिनभर नयाँरोड, हरिवन, बाँसाटोल, तीनघरे लगायत पूर्व–पश्चिम राजमार्गमा बनेका खाडलहरुमा अलकत्राले मुछेको गिट्टी हालेर टालटुल पारिएको थियो। तर बुधबारसाँझ देखि नै पुनः ती खाडलहरु भत्केपछि राजमार्ग पुनः कुरुप बनेको छ।  

दैनिक हजारौं सवारी साधन गुड्ने मुलुककै मुख्य पूर्व–पश्चिम राजमार्ग भत्केर ठूला–ठूला खाडलहरु बनेको छ। महिनौंदेखि बनिरहेको खाडलहरु पुर्नका लागि प्रभावकारी ढंगले काम नहुँदा यातायात आवागमनका निकै कठिनाई भईरहेको यातायात व्यवसायी एवं मजदुरहरुले गुनासो गरिरहेका छन्। लामो समयदेखि बनिरहेको खाडल झारा टराई हिसाबले पुरिँदा टालटुल पारेको भोलिपल्टै देखि राजमार्ग पूरानै अवस्थामा फर्किएको छ।  

तत्काल खाडलहरु पुर्नका लागि कमसल खालको माल हालिएकाले वर्षाको पानीले पुनः भत्किएको डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। ‘गुणस्तरीय माल हालेर खाडल पुर्ने लगायत प्रभावकारी मर्मत संभारको काम भन्दापनि तत्कालका लागि सामान्य हिसाबले टालटुल पारिएको हो’, डिभिजन सडक चन्द्रनिगाहपुरका प्रमुख दरोगा प्रसादले नागरिकसँग भने, ‘लामो समयसम्म घाम लाग्ने अवस्था नआएसम्म ठेक्का लगाएर गुणस्तरीय काम गराउन सकिँदैन।’ वर्षा भईरहेकाले तत्कालका लागि कार्यालयले अमानतमै खाडलहरु पुर्ने लगायत सामान्य मर्मत संभारको काम गराईरहेको र वर्षायाम सकिने वितिकै ठेक्का मार्फत गुणस्तरीय काम गराईने दरोगा प्रसादको भनाई छ।  

यसरी दिगो भन्दापनि झाराटराई हिसाबले राजमार्गहरु टालटुल पार्ने सडक कार्यालयहरुको कामले मुलुकको लाखौं बजेट दुरुपयोग भईरहेको जानकारहरु बताउँछन्।

प्रकाशित: ८ आश्विन २०७७ १३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App