१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

निषेधाज्ञामा होस्टल सञ्चालन गर्ने सञ्चालिका पक्राउ

लकडाउन र निषेधाज्ञाको समयमा पनि सञ्चालन भएको अलब्राईट होस्टल । तस्बिर : उमेश पुन/नागरिक

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले चैत ११ गते लकडाउन घोषणा गर्‍यो। लकडाउनका कारण देशभरका शैक्षिक संस्थाहरु बन्द भए। तर पोखरा महानगरपालिका वडा नम्बर ४ गैह्रापाटनस्थित अलब्राईट होस्टल कहिल्यै बन्द भएन। नर्सिङ अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई ब्रिज कोर्ष पढाउँदै आएको सो होस्टल संघ सरकारले जारी गरेको लकडाउनमा मात्रै होइन, जिल्ला प्रशासन कार्यालय कास्कीले लगाएको निषेधाज्ञाका बिचमा पनि निरन्तर चलिरह्यो।

होस्टल सञ्चालकलाई होस्टल सञ्चालन गर्दा कोरोनाको जोखिम हुन्छ भन्ने थाहा नभएको होइन, अनि होस्टल सञ्चालन गर्दा लकडाउन तथा निषेधाज्ञाको उल्लंघन भएको बारे अनभिज्ञ पनि होइन। उसो त प्रहरी, प्रशासनलाई होस्टल सञ्चालन भएको बारे थाहा नभएको पनि होइन।  

सञ्चालकले प्रहरी र प्रशासनलाई अटेर गरेकै कारण देशभरका शैक्षिक संस्थाहरु बन्द हुँदा पनि यो होस्टल निरन्तर चलिरहेको हो। लकडाउन र निषेधाज्ञाकाबीच होस्टल सञ्चालन भएको थाहा पाएर वडा कार्यालयले सञ्चालन नगर्न पनि भनेकै हो। तर होस्टल सञ्चालकले वडालाई वास्तै गरेन। अझ भनौं अटेर गर्‍यो। बरु उसले सम्बन्धित निकायलाई जानकारी गराएरै होस्टल सञ्चालन गरेको जवाफ दियो।  

स्थानीय सरकारका रुपमा रहेको पोखरा–४ का वडाध्यक्ष शंकर बास्तोलाले कोरोनाको जोखिमका बेला होस्टल सञ्चालन नगर्न आग्रह गर्दा अटेर गरेको बताए। मैले होस्टल सञ्चालकलाई भेटेरै होस्टल सञ्चालन नगर्न भनेकै हो, उनले भने,‘तर उसले हाम्रो कुरै सुनेन।’

यसैबीच, सरकारी नियम उल्लंघन गरेको आरोपमा सो होस्टल सञ्चालिका ३२ वर्षीया सनसरी श्रेष्ठलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। सरकारी निर्णयको उल्लंघन गरी होस्टल सञ्चालन गरेको गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले होस्टलबाटै श्रेष्ठलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिए।

पक्राउ गरिएकी होस्टल सञ्चालिका श्रेष्ठलाई ५ हजार रुपैयाँ धरौटी राखेर तारेखमा छाडिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए। श्रेष्ठलाई संक्रामक रोग ऐन अन्तर्गत मुद्धा चलाइएको बताए।

संक्रामक रोग ऐनको उल्लंघन गरेको पुष्टि भए १ सय रुपैयाँ जरिवाना र १ महिना जेल सजाय हुने जनाइएको छ।

होस्टल सञ्चालिका पक्राउसँगै होस्टलमा अध्ययन गर्दै आएका विद्यार्थीहरु भने बिचल्लीमा परेका छन्। होस्टलमा हाल विभिन्न जिल्लाका ४० जना विद्यार्थी अध्ययनरत रहेको बताइएको छ। ति विद्यार्थीहरुलाई अभिभावकको जिम्मा लगाएर घर पठाईने सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए।

प्रकाशित: ७ आश्विन २०७७ १०:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App