२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

माछा रुङ्न गएका आमाछोरी नफर्किएपछि ...

मोरङ ग्रामथान –४ मोतिपुरकी सीता अधिकारी स्थानीय पोखरीमा माछा रुङ्न जान्थिन्। पोखरीमा माछा रुङ्न गएकी सीतालाई उनका दुई   छोरीहरूले खाना र खाजा पुर्या ईदिन्थ्ये।  

सधैं झैं सीता आइतबार बिहानै घरबाट माछा रुङ्न पोखरीतर्फ लागिन्। कान्छी छोरी ७ वर्षीया कृतिका अधिकारी पनि आमासँगै गइन्। केही समयपछि जेठी छोरी १४ वर्षीया पवित्रा अधिकारी आमा र बहिनीका लागि खाना र खाजा लिएर पोखरीतर्फ गइन्। दिनभरि माछा रुङ्गेर सधैँ साँझ पोखरीबाट घाँस लिएर उनीहरू घर आउँथे। दिउँसो ४ बजेतिर सीताकी भदैनी र छिमेकी दिदीकी छोरी माछाको चारो लिएर पोखरी गएका थिए। उनीहरूले सीता र उनका छोरीहरूलाई पोखरीमा देखेनन्। कसैलाई नदेखेपछि चारो घरै लिएर उनीहरू फर्किए। उनीहरूले पोखरीमा कसैलाई पनि नदेखेको आफन्तहरूलाई बताए। चारो लिएर पोखरीमा गएकाहरू घर आइपुग्दा साँझ परिसकेको थियो। तर झमक्कै साँझ पर्दा पनि तीनै जना नफर्किएपछि  गाउँबाट मानिसहरू उनीहरूलाई खोज्न गए। तर, पोखरीमा पुग्दा कोही पनि फेला परेनन्।  

पोखरीमा डुबेको आशंकामा सीताका ठूला भाइ रुद्र पोखरीभित्र पसेर खोजी गर्न थाले। उनले सीताको शव पोखरीको पूर्वपट्टी भेटे। भान्जीहरूको शव पोखरीको बीच भागको पश्चिमतर्फ फेला पर्यो । पोखरीमा भेटिएका शवमध्ये सीताको शरीरमा पूरै लुगा थियो। यस्तै ठूली छोरीको भित्री वस्त्र मात्रै लगाएको र सानी नङ्न अवस्थामा भेटिइन्। दुई छोरीको लुगा पोखरीको डिलमा थियो। उनीहरूले खाना खाइसकेको र खाजाका लागि लगिएको रोटी र हँसिया डोकोले छोपेको अवस्थामा पोखरीको डिलमा थियो। माछा रुङ्न र खाना, खाजा पुर्यााउन गएका तीनै जना मृत्त भेटिएपछि गाउँमा हल्ला खल्ला भयो।  

सीताकी भाइबुहारी मन्जु कटवालका अनुसार दिदीसहित तीन जना दाजुभाइको परिवार एकै ठाउँमा बस्दै आएका थिए। दिदीका लागि करिब १० बजेतिर खानासँगै केही रोटी दिएर ठूली भान्जीलाई उनलै नै पोखरीमा पठाएकी थिइन्। ‘दिदी दिनभरि पोखरी रुङ्ने र बेलुका आउँदा घाँस लिएर आउनु हुन्थ्यो,’ उनले भनिन्, ‘दिदी हुनुहुन्छ भनेर छिमेकी भान्जी नाताकी भूमिका सुवेदी र छोरी जेनिसा माछाको चारो लिएर गएका थिए।’ त्यहाँ कसैलाई नदेखेको उनीहरूले घरमा आएर बताए। कोही पनि छैनन् भनेपछि दिदी र भान्जीलाई खोज्न परिवार र गाउँलेहरू पनि पोखरीतर्फ लागे। पोखरीमा पुग्दा साँझ परेको थियो। लाइटर बालेर चारै तिर खोज्दा कसैलाई नभेटेपछि रुद्र दाइ पोखरीमा पसेर खोज्न थाले। पोखरीमा खोज्ने क्रममा सुरूमा दिदी र पछि भान्जीहरूको शव भेटिएको उनले बताइन्। घरपरिवारमा कसैसँग पनि सीताको नराम्रो नभएको उनले बताइन्।

स्थानीय अर्जुन माझीका अनुसार रुद्रका भाइहरू साँझ ६ बजेतिर पोखरीमा आएका थिए। करिब ८ बजेतिर प्रहरी आए र राति ११ तिर शव निकालेको हो। उनका अनुसार यो देवता लागेको हुनुपर्छ। यो ‘देउ गाना’ अर्थात् देवता बस्ने ठाउँ हो। यो पोखरी  पुर्खाले नै बनाएको हो।  माझीले भने, ‘हामी सानो छदाँ यहाँ एक्लै आउँदा धेरै माछा देखिन्थे भने समूहमा आउँदा देखिँदैन थियो।’ १४/१५ वर्षअघि  संग्रौला थरका एक जनाले यो पोखरी खरिद गरेदेखि नै घरमा समस्या आयो। ‘सधैँ छोराछोरी बिरामी हुने र गाई गोरुसमेत मरेपछि अर्कैलाई पोखरी बिक्री गरेका थिए,’ माझीले भने। यो पोखरीमा १० जनाभन्दा बढी डुबेर  मरिसकेको माझीले बताए। पोखरी परिसरमै वनस्खण्डीको मन्दिर छ। ‘मन्दिर र पोखरी दैवी शक्ति युक्त भएकाले स्थानीय त्यहाँ जानसमेत डराउँथे,’ माझीले भने।  

यता मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले घटनाबारे अनुसन्धान सुरू गरिएको बताए। उनका अनुसार घटना स्थिति हेर्दा र शरीरको अवस्था हेर्दा बाहिरी चोटपटक पनि नदेखिएकाले घटनाबारे यसै भन्ने अवस्था छैन। पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै घटनाको यथार्थ खुल्ने उनले बताए।  

पोखरी नजिकै  माछा रुङ्नका लागि दाजु रुद्रले तीन कोठाको घर पनि बनाउँदै गरेको प्रेमले बताए। फन्डेसन उठाएर पिलर राख्ने काम हुँदै गरेको घर पूरा नहुँदै माछा रुङ्न खटिने दिदी र भान्जीहरूको शव पोखरीभित्रबाट निकाल्नु परेको उनले बताए। उनले भने, ‘घटना कसरी भयो भन्नेमा हामी सबै अचम्ममा परेका छौं। सधैँ पोखरीको डिलमा जान र त्यहाँ भएको घाँस काट्नसमेत डराउने दिदी र भान्जीहरूको डुबेको अवस्थामा शव भेटियो।’ कोसी अस्पतालमा पोस्टमार्टमपछि तीनै जनाको शव विराटनगरको सिंघिया घाटमा सोमबार अन्त्येष्टी गरिएको छ। सीताको पहिलो श्रीमानबाट जन्मिएका छोरा १९ वर्षीय विवेक थापाले आमालाई दागबत्ती दिएका थिए।

 

प्रकाशित: ६ आश्विन २०७७ ११:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App