२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कालोपत्रे सडकको दुर्दशा, कसरी गर्नु यात्रा !

गोरखा–आरुघाट सडकको ढुङ्गागाढे सडकमा गाडी फसेपछि हिलो पन्छाउँदै। तस्विरः नागरिक

गोरखा–आरुघाट सडक खण्डको आस्पतालमार्ग–ढुङ्गागाढे सडकमा शनिवार बिहानभरी गाडी फस्यो। ढुङ्गागाढेको मोडमा गाडी शनिवार मात्रै होइन, दिनदिनै फस्छ। कालोपत्रे गरिएको सडकको बराहदेखि ढुङ्गागाढे चोकसम्म कताकती मात्रै कालोपत्रे बाँकी छ। पहिलो पटक कालोपत्रे भएको पाँच वर्ष नबित्दै सडकमा ठूल्ठूला खोल्सो बनेपछि दुर्घटनाको जोखिम बढेको हो।  

‘गाडी फस्यो भनेर फोन धेरै आउँछ, ठेक्का लागिसकेको सडक भएकाले हामीसँग काम गर्ने स्रोत साधन र आधार पनि हुँदैन’ गोरखा नगरपालिका ८ का वडा अध्यक्ष कृष्ण केसीले भने। वडा भित्रको सडकमा वडा कार्यालय, नगरपालिकाले चासो नदिएको गुनासो ब्यवसायी र यात्रुले गरेपछि नगरपालिकाले हिलो पन्छाएर अवरुद्ध बाटो संचलन गरेको वडा अध्यक्ष केसीले बताए।  

पूर्वाधार विकास कार्यालय गोरखाका सुचना अधिकारी इन्जिनियर गणेश सुवेदीले अस्पताल चोकदेखि ४.६ किलोमिटरको उक्त सडक खण्ड कालोपत्रे हुने प्रक्रिया अघि बढेको बताए। बानियाँ निर्माण सेवाले गत साता ९ करोड ८५ लाखमा दुई वर्ष भित्र सिध्याउने गरी सम्झौता गरेको छ। ‘शनिवारदेखि नै सर्वे सुरु भइसकेको जानकारी आएको छ’ इन्जिनियर सुवेदीले भने।  

कालोपत्रे भएका धेरै पक्की सडक कच्ची भएको छ। कच्ची रहेका सडक वर्षातका कारण हिलाम्य छ। निर्माण ब्यवशायीले स्तरीय बनाउन जिम्मा लिएका सडक काम बिचैमा छाड्ने, नियमित नगरेकाले सर्वसाधारणले सास्ती भोग्नु परेको गुनासो गरेका छन्। मोटरसाइकलमा यात्रा गर्नेहरु हिलाम्य हुँदै यात्रा गर्न बाध्य छन्। छ महिनापछि खुलेको सार्वजनिक यातायातमा यात्रु छैनन्।

 दरौँदी यातायात सेवा प्रालीका सदस्य अन्जनबाबु खत्रीले आरुघाट सडक खण्डको घ्याम्पेशाल खण्डमा पनि सवारी साधन सडकमै फस्ने गरेको बताए। गत वर्ष वर्खाको समयमा पनि गोरखा–आरुघाट सडकमा गाडी चलेको थियो। अहिले भने सहज नभएको उनले बताए।

प्रकाशित: ३ आश्विन २०७७ ११:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App