coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भारततर्फ गाँजा निकासीका लागि ‘ट्रान्जिट’ बन्दै सर्लाही

ट्रकमै गाँजा भारत लैजाने प्रयास असफल

लागुऔषधको रुपमा प्रयोग हुने केही दिनअघि हरिवन प्रहरीले बरामद गरेको भारतबाट ल्याईएको प्रतिबन्धित औषधिहरु । तस्बिर : टंक/नागरिक

लागुऔषधको रुपमा प्रयोग हुने गाँजा भारततर्फ निकासीका लागि कारोबारीले सर्लाहीलाई ‘ट्रान्जिट’ बनाउने गरेको देखिएको छ।  

गत शनिबार राती भारतीय सीमा क्षेत्र नजिकबाट जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले गाँजा बोकेर भारततर्फ गईरहेको अवस्थामा एक ट्रकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर नेतृत्वको गस्ती टोलीले ना. ४ ख ७७४८ नम्बरको १० चक्के ट्रक नियन्त्रणमा लिएको हो। पर्सा गाउँपालिका–५ बाट नियन्त्रणमा लिईएको ट्रकमा ३०९ किलो गाँजा बरामद् गरिएको प्रहरी उपरीक्षक राठौंरले जानकारी दिए।

प्रहरी गस्ती टोलीलाई देख्ने वित्तिकै ट्रकका चालक भने फरार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। प्रहरीका अनुसार ट्रकबाट ३१ किलो दरका ९ वटा तथा १५ किलो दरका दुईवटा पोका बरामद भएको छ।  

‘सुरक्षा निकायका यतिधेरै युनिट छन्, कानून छ तैपनि ट्रकमै भारततर्फ गाँजा ओसार्ने हिम्मत गर्नु भनेको कारोबारीले हामीलाई ठाडै चुनौती दिएको जस्तो लाग्यो’, प्रहरी उपरीक्षक राठौरले भने, ‘म सर्लाही आउनु भन्दा अगाडी नै यहाँबाट भारततर्फ गाँजा बढी जाने गरेको र भारतबाट लागुऔषधको रुपमा प्रयोग हुने प्रतिबन्धित औषधिहरु भित्रिन्छ भन्ने सुनेको थिएँ, त्यसैले आउने वित्तिकै मैले लागुऔषध कारोबार नियन्त्रणमा बढी फोकस गरेको छु र जिल्लाभरका युनिटलाई कडाई गर्न निर्देशन दिएको छु।’  

लागुऔषधको कारोबार र सेवनकर्ताको संख्या बढ्दै जाँदा अपराधिक घटना समेत वृद्धि हुने भएकाले त्यस्ता गैरकानूननी कार्य नियन्त्रणमा कडाई गरिएको प्रहरी उपरीक्षक राठौरको कथन छ।  

मकवानपुर र सिन्धुलीबाट सर्लाहीको उत्तरी बागमती, हरिवन र लालबन्दी नगरपालिकाका चुरे क्षेत्रमा गाँजा डम्पिङ गर्ने गरिएको जानकारहरु बताउँछन्। कारोबारीले हरिवनको अत्रौली, लालबन्दीको पत्थरकोट, परवानीपुर, बागमतीको कर्मैया लगायत ठाउँहरुमा गोदाम गर्ने र अनुकुल समय मिलाएर सिमापार गराउने गरेको एक स्थानीयले बताए। मकवानपुर र सिन्धुलीदेखि प्याक भएर आउने गाँजाको पोका सुरक्षित रुपमा राख्न र समयानुकुल ओसारपसार गर्न सर्लाहीको उत्तरी क्षेत्रका स्थानीय केही युवाहरुको समेत सहभागिता रहने गरेको छ।  

प्रहरीले पटक पटक बरामद गरेको स्थल हेर्दा कारोबारीले बागमती, लखन्देही, बाँके, कालिञ्जोर खोलै खोला मोटरसाईकलमार्फत भारततर्फ ओसार्ने गरेको देखिएको छ।  

साउन यता मात्र सर्लाही प्रहरीले भारततर्फ ओसारपसार गरिरहेको अवस्थामा ३९६ किलो २०० ग्राम गाँजा बरामद गरिसकेको छ। भारततर्फ गाँजा लैजादै गरेको तथा भारतबाट लागुऔषधको रुपमा प्रयोग हुने प्रतिबन्धित औषधिहरु भित्र्याउँदै गरेको अवस्थामा ३३ जनालाई पक्राउ गरिसकेको छ। यसबीचमा लागुऔषध ओसार्दै गरेको अवस्थामा एउटा ट्रक, ११ वटा मोटरसाईकल र १ थान स्कुटर पनि बरामद गरिएको प्रहरीले जनायो।

त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा सर्लाही प्रहरीले १०५ किलो ५५० ग्राम गाँजा नियन्त्रणमा लिएको थियो। त्यस्तै गाँजा तथा लागुऔषधको रुपमा प्रयोग हुने प्रतिबन्धित औषधि ओसारपसार गरिरहेको अवस्थामा १२० जनालाई नियन्त्रणमा लिएको थियो।  

यो त प्रहरीले नियन्त्रणमा लिएको तथ्यांक मात्र हो। खुला सिमानाका कारण एकान्त स्थान, उखुबारी हुँदै सुरक्षाकर्मीलाइ समेत छलि गरेर ठूलो परिमाणमा नेपालबाट भारततर्फ गाँजा जाने र भारतबाट लागुऔषध नेपाल आउने गरेको जानकारहरु बताउँछन्। नेपालबाट भारतीय सीमा नघाउने वित्तिकै प्रतिकिलो १० हजार भारतीय तथा भारतीय बजारहरुमा पुर्‍याउँदा १५ हजार भारतीय रुपैयाँसम्ममा गाँजा किनबेच हुने गरेको एक प्रहरी अधिकृतले जानकारी दिए।

भारतबाट लागुऔषध नेपाल भित्र्याउन पनि सर्लाही नै ‘ट्रान्जिट’

त्यस्तै काराबारीले भारतबाट लागुऔषधको रुपमा प्रयोग हुने प्रतिबन्धित औषधिहरु नेपालतर्फ भित्र्याउन समेत सर्लाहीलाई नै ‘ट्रान्जिट’ बनाउने गरेको प्रहरीले पक्राउ गरेका ओसारपसारमा संलग्न अभियुक्त र बरामद लागुऔषधको परिमाणले पुष्टि हुन्छ। साउनयता प्रहरीले पक्राउ गरेको तथ्यांक हेर्दा मात्र पनि ७९९ बोतल वालरेक्स, एकहजार १०८ ट्याब्लेट नाईट्राभेट, स्पास्मो प्रोक्सीभान २८८ क्याप्सुल र डाईलेक्स डी.सी १०१ बोतल बरामद भएको छ।  

त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा १०२२५ ट्याब्लेट नाईट्राभेट, ८९३ बोतल वालरेक्स, डाईजेल्याब ३३१ एम्पुल, नुर्फिन ३०२ एम्पुल, स्पास्मो प्रोक्सिभान ४२६ क्याप्सुल लगायत रहेका छन्। अघिल्लो आर्थिक वर्षमा ३ वटा कार, एक एम्बुलेन्स र ६० वटा मोटरसाईकल लागुऔषध ओसारपसार गरिरहेको अवस्थामा नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ। प्रहरीले नियन्त्रणमा लिएको परिमाण बाहेक अझै निकै ठूलो परिमाणमा लागुऔषध भित्रिने गरेको जानकारहरु बताउँछन्। खुला सीमा भएको र सीमा क्षेत्रका अधिकांश स्थान सुनसान, धानखेत, उखुबारी लगायत एकान्त स्थान भएकाले सुरक्षाकर्मीको आँखा छलेर निकै धेरै परिमाणमा लागुऔषध भित्रिने गरेको सीमा क्षेत्रका स्थानीयको भनाई छ।  

दुई देशको कडा लकडाउनका बीच सीमामा कडाई हुँदा समेत लागुऔषध कारोबारीले भारततर्फ गाँजा निकासी गर्ने तथा भारतबाट लागुऔषधको रुपमा प्रयोग हुने प्रतिबन्धित औषधि भित्र्याउने काम जारी रहेको थियो। सर्लाहीबाट काठमाडौंसहित पोखरा, चितवन, हेटौंडा लगायत ठूला शहरहरुसम्म कारोबारीले भारतीय प्रतिबन्धित औषधिहरु लागुऔषध सेवनकर्तासम्म पु¥याउने गरेका छन्।  

कारोबारीले लागुऔषको रुपमा प्रयोग हुने विभिन्न प्रतिबन्धित औषधिहरु ओसारपसारमा भारत र नेपाल दुवैतर्फका स्थानीय बालबालिका, किशोर र महिला लगायतलाई समेत प्रयोग गर्ने गरेका छन्। पटक–पटक आफै ओसारपसारमा संलग्न हुँदा सुरक्षाकर्मीले निगरानी बढाउने भएकाले कारोबारीले भरिया लगाउन थालेको एक जानकारले बताए।  

प्रहरीले नियन्त्रणमा लिएपनि गाउँ गाउँमा लागुऔषधको किनबेच भईरहनुले ठूलो परिमाणमा भारतबाट प्रतिबन्धित औषधिहरु भित्रिने गरेको स्पष्ट भएको सामाजिक अभियन्ता समेत रहेका पूर्व प्रअ रजनिकान्त झा बताउँछन्। ‘प्रहरीले पक्राउ गरेपनि गाउँगाउँमा लागुऔषध किनबेच भईरहकेो छ’, झा भन्छन्, ‘उत्तरी क्षेत्रका युवाहरु दर्जनौं मोटरसाईकलमा दैनिक दक्षिणी सीमा क्षेत्रका बजार तथा सकेसम्म भारतीय बजारसम्म गएर लागुऔषध किन्ने गरेका छन्।’ पहिला उत्तरी क्षेत्र र ठूला शहरहरुमा मात्र सिमित रहेपनि पछिल्लो केही वर्षयता दक्षिणी क्षेत्र अर्थात ‘कोर’ मधेशका युवाहरु समेत लागुऔषधको दुव्र्यसनमा फसिसकेको झाको भनाई छ।  

भारतबाट भित्रिने लागुऔषध नियन्त्रणका लागि सीमानाकाहरुमा विशेष निगरानी बढाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रकाशित: ३० भाद्र २०७७ १२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App