७ वैशाख २०८१ शुक्रबार
समाज

घुम्थाङ पहिरोः पाँच जनाकाे शव फेला, २६ अझै बेपत्ता (अपडेट)

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ घुम्थाङ पहिरोमा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। पहिरोमा अझै २६ बेपत्ता छन्। पहिरोमा बेपत्ता स्थानीय भिरखर्कका तीन र बिक टोलका दुईको शव फेला परेको प्रहरीले जनाएको छ। मृतकमध्ये दुईको मात्र सनाखत भएको छ। २४ वर्षीय सुकुला बिक र आठ वर्षीय सन्देश बिकको सनाखत भएको हो। उनीहरु बिक टोलका हुन्। भिरखर्कका तीनको पहिचान खुल्न सकेको छैन।  

घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय बाह्रविसेका इन्स्पेक्टर नवराज न्यौपानेले बेपत्ताको खोजी र क्षतिको विवरण संकलन भइरहेको बताए। उनका अनुसार पहिरोमा भिरखर्क टोलका १९, नागपुजेका तीन र बिक टोलका चार जना पहिरोमा हराइरहेका छन्।  

प्रहरीको प्रारम्भिक विवरण अनुसार पहिरोले ११ घर बगाएको छ। नागपुजेका सात, भिरखर्कका दुई र नेवार टोलका दुई घर पहिरोले बगाएको हो। बाक्लो बस्ती रहेको नागपुजेमा धेरै जनधनको क्षति पुगेको प्रहरीको अनुमान छ। बेपत्ता कतिपयलाई पहिरोले हुत्याएर नजिकको भोटेकोसी नदी पु¥याएको हुन सक्ने स्थानीयको आशंका छ।  

अबिरल वर्षासँगै आइतबार बिहान साढे दुई बजेतिर बाक्लो बस्तीमाथिको भिरखर्कको ढिस्को खसेर पहिरो गएकोे वडाध्यक्ष मिनबहादुर श्रेष्ठले जानकारी दिए। उनका अनुसार पहिरो बस्ती लछार्दै पाँच सयमिटर भन्दाबढी दुरीमा तल रहेको भोटेकोसी नदी पुगेको थियो। पहिरोको मुखैमा भिरखर्क र त्यसमुनि नागपुजे बस्ती छन्। नागपुजेमा बिक, नेवार लगायत टोल पर्छन्। गाउँमा राजधानी लगायत स्थानबाट पाहुना आएकाले बेपत्ताको संख्या अझै बढ्न सक्ने स्थानीयले जनाए।  

पहिरोले बिहानीपख खेत गोड्न निस्केका खेण्डे गाउँका तीन जनालाई घाइते बनाएको छ। दलदलमा फसेका उनीहरुलाई स्थानीयले उद्धार गरेका थिए। उनीहरुको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयूक्त टोलीले बेपत्ताको खोजी गरिरहेको बताए। ‘पहिरो पीडितलाई सुरक्षित वास लगायत राहतको तयारीमा जुटेका छौँ,’ जिल्ला बिपद् व्यवस्थापन समितिका संयोजक रहेका प्रजिअ ढकालले भने। 

प्रकाशित: २८ भाद्र २०७७ ०५:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App