९ वैशाख २०७८ बिहीबार
समाज

जोखिममा आमाहरू

नन्दाकुमारी थापा  

जिल्ला स्वास्थ्य कार्यालयको विवरण अनुसार, आर्थिक वर्ष २०७६/७७ मा सुत्केरी हुने क्रममा बाजुरामा तीनजनाले ज्यान गुमाए। तर, यो सरकारी विवरण गलत थियो। वास्तवमा यो वर्ष सुत्केरी हुन नसकेर वा उपचारका क्रममा बाजुराका पाँच महिलाले ज्यान गुमाएका थिए।

यसमध्ये एक थिइन् बडिमालिका नगरपालिका–७, जिल्लीकी वसन्ती नेपाली। गत वर्ष सुत्केरी हुने क्रममा मृत्यु हुने उनी जिल्लाको पहिलो महिला थिइन्। जिल्ला अस्पताल बाजुरामा भर्ना भएकी नेपालीको ७ भदौ २०७६ मा मृत्यु भएको थियो। पेटमै बच्चा मरेको यकिन भएपछि ‘भ्याकुम’ले तानेर बच्चा निकालिएको थियो। त्यसको एक घन्टापछि आमाको पनि मृत्युभएको थियो।

२५ भदौ २०७६ मा बुढीनन्दा नगरपालिका–१०, पाण्डुसेनकी ३५ वर्षीया निर्मला बोहोराको जिल्ला अस्पताल बाजुरामा मृत्यु भयो। निर्मलाले दुई वर्ष पहिला पनि जिल्ला अस्पताल बाजुरामै अपरेसन गरेर बच्चा जन्माएकी थिइन्। यसपटक उनको उपचारमा संलग्न डाक्टर दुर्गा महर्जन भन्छन्, ‘बच्चा जीवित थिएन। भ्याकुममार्फत बच्चा निकाल्दासम्म उनको अवस्था सामान्य थियो, पछि एक्कासि उच्च रक्तस्रावपछि मृत्यु भयो।’ गत वर्ष सुत्केरी हुने क्रममा मृत्यु हुने उनी दोस्रो महिला थिइन्।

१६ कात्तिक २०७६ मा त्रिवेणी नगरपालिका–१, छतारा स्वास्थ्य चौकीमा ३७ वर्षीया रेजिया नेपालीको मृत्यु भयो। छतारा विशालबजार बस्ने रेजिया चौथो सन्तान जन्माउन स्वास्थ्य संस्था पुगेकी थिइन्। बच्चा जन्मिएको ६ घन्टापछि बेहोस भएर उनको मृत्यु भएको स्वास्थ्य चौकीकी अनमी सुमित्रा पाध्याले बताइन्। घरबाट स्वास्थ्य संस्था ल्याएको दुई मिनेटमै उनले बच्चा जन्माएकी थिइन्। सुत्केरी हुने क्रममा गत वर्ष मृत्यु हुने उनी तेस्रो महिला हुन्।

अनमी पाध्याय भन्छिन्, ‘अवस्था सामान्य नै थियो, राति ११ बजेतिर आफन्तले स्वास्थ्य चौकी ल्याइपु¥याएका थिए। बेडमा राख्न नपाउँदै बच्चा जन्माइन्। बिहान साढे ४ बजेसम्म अवस्था राम्रै थियो। ५ बजेपछि एकाएक बेहोस भएर ज्यान गएको हो।’ स्याहारसुसार राम्रो नभएर माघमा बच्चाको पनि मृत्यु भयो।  

२५ कात्तिक २०७६ मा बुढीगंगा नगरपालिका–७, झाली बस्ने २० वर्षीया कमला उखेडको धनगढी लैजाने क्रममा अछामको चौखुट्टेमा मृत्यु भयो। कमलालाई व्यथा लागेको दिन उनका ससुराले झारफुक गरे। ससुरा अमि उखेडा धामी भएकाले देवता लागेको भन्दै त्यो दिनभर झारफुकमा बिताए। अचेत अवस्थामा पुगेकी कमलालाई त्यसपछि अछामको बयलपाटा अस्पताल लगिएको थियो। बुढीगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दीपक शाह भन्छन्, ‘त्यहाँबाट धनगढी रेफर गरियो, लैजाँदा बाटोमै मृत्यु भयो।’ सुत्केरी हुने क्रममा गत वर्ष मृत्यु हुने उनी बाजुराकी चौथो महिला थिइन्।

पाँचौँ हुन् ३५ वर्षीया पुल्ती रावल। जगन्नाथ गाउँपालिका–५ को गोत्री सामुदायिक स्वास्थ्य इकाइ केन्द्रमा ९ मंसिर २०७६ मा रावलको मृत्यु भएको थियो। घरमै सुत्केरी भएकी रावलको साल अड्किएपछि धेरै रक्तस्राव भएको थियो।

रावलका आफन्तले बाटोमा ल्याउँदाल्याउँदै सुत्केरी भएको भनेर स्वास्थ्यकर्मीलाई ढाँटेका थिए। बेहोस अवस्थामा सामुदायिक स्वास्थ्य इकाइ केन्द्र गोत्री पु¥याइएपछि उनको साल निकालियो। इकाइका अहेब अमर बुढाका भनाइमा, ‘रगत बग्न पनि रोकिएको थियो, घाम ताप्दै थिइन्, एक्कासि मृत्यु भयो।’ उनको बच्चा भने जीवित छ।  

१४ वर्षको उमेरमा विवाह गरेकी छम्मले ४५ वर्षको उमेरसम्म पुग्दा ११ बच्चा जन्माएकी हुन्। उनका सात बच्चा मात्र जीवित छन्। छम्म भन्छिन्, ‘छोरो नभएपछि अपुता भनेर गाली गर्छन्। छोराको चाहना गर्दागर्दै यतिका छोरी जन्मिए।’

मृत्यु भएका सुत्केरीमध्ये चार जनाको स्वास्थ्य संस्थामा र एक जनाको धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो। स्वास्थ्य संस्थामा मृत्यु हुनेमा दुईजनाको जिल्ला अस्पताल बाजुरामा, एक जनाको त्रिवेणी नगरपालिकाको छतारा स्वास्थ्य चौकीमा र एकजनाको गोत्री सामुदायिक स्वास्थ्य इकाइ केन्द्रमा मृत्यु भएको थियो।

संघीयताको अभ्यास सुरु भएयता तुलनात्मक रूपमा साधन–स्रोत गाउँमा पुगेको अवस्थामा पनि यी सुत्केरी महिलाले किन अकालमै ज्यान गुमाउनुप-यो ? बडिमालिका नगरपालिकाका स्वास्थ्य संयोजक टेकबहादुर खड्का पाँच सुत्केरीको मृत्युले ‘समग्र बाजुराको चेतनास्तर देखाउने’ बताउँछन्। खड्का भन्छन्, ‘नियमित गर्भजाँचको कमी छ। सुत्केरी गराउन समयमै स्वास्थ्य संस्थामा पु-याइँदैन। अनि यस्तो बेला चाहिने आराम र पोषिलो खानेकुरा पनि उपलब्ध हुन्न।’

छोराको आस
पाँच सुत्केरीको मृत्युले बाजुरामा महिलाको प्रजनन स्वास्थ्यको विषयलाई बहसमा ल्याइदिएको छ। बाजुरामा महिलाको स्वास्थ्य अवस्था जोखिममा पार्ने एउटा कारण धेरै सन्तान जन्माउनु पनि हो। यहाँ पाँच, सातदेखि १२, १५ सन्तान जन्माएका आमाहरू छन्।

जस्तो, १३ सन्तान जन्माएकी बुढीनन्दा नगरपालिका–१ की पूर्वाका सात सन्तान (एक छोरा, ६ छोरी) जीवित छन्। पूर्वा भन्छिन्, ‘छोरो हुने आसमा धेरै सन्तान भए। सुरु–सुरुमा जन्मिएका बच्चालाई दूध खुवाएँ। पछि–पछि त दूध आउन पनि रोकियो।’ आफू र श्रीमान्ले अहिलेसम्म परिवार नियोजनको कुनै साधन प्रयोग नगरेको पूर्वाले बताइन्।

स्वामीकार्तिक गाउँपालिका–१ की ४२ वर्षीया आवर्मा बुढाले गएको वर्ष १३औँ सन्तान छोरो जन्माइन्। १५ वर्षमा विवाह गरेकी आवर्माका नौ बच्चा जीवित जन्मिए भने चार मृत। जीवित नौमध्ये सात छोरी र दुई छोरा छन्। उनका श्रीमान् पायन बुढाका भनाइमा, ‘आवर्माले १३औँ बच्चा मात्रै स्वास्थ्य केन्द्रमा जन्माएकी थिइन्। बाँकी सबै घरमा र काम गर्न गएका बेला खेत र जंगलमा जन्मिएका थिए।’

जगन्नाथ गाउँपालिका–४, साप्पाटाकी छम्म लुवारले ४५ वर्षको उमेरमा भर्खरै बच्चा जन्माएकी छिन्। १४ वर्षको उमेरमा विवाह गरेकी छम्मले ४५ वर्षको उमेरसम्म पुग्दा ११ बच्चा जन्माएकी हुन्। उनका सात बच्चा मात्र जीवित छन्। छम्म भन्छिन्, ‘छोरो नभएपछि अपुता भनेर गाली गर्छन्। छोराको चाहना गर्दागर्दै यतिका छोरी जन्मिए।’

जगन्नाथ गाउँपालिका–२ की कुशुकला सार्कीको अवस्था पनि उस्तै छ। उनले पनि ४१ वर्षको उमेर पुग्दा १० बच्चा जन्माएकी थिइन्। १०औँपटकमा उनले जुम्ल्याहा बच्चा जन्माइन्। अहिले उनको स्वास्थ्य अवस्था निकै कमजोर छ।  

जिल्ला अस्पताल बाजुरामा कार्यरत स्टाफ नर्स धर्मा रोकाया भन्छिन्, ‘२० देखि ३५ वर्ष उमेरसम्ममा बच्चा जन्माउनु उपयुक्त भए पनि जिल्लाका दुर्गम गाउँमा २० वर्ष पुग्दासम्म दुई, तीनवटा बच्चा भइसकेका हुन्छन्। अनि ४५ वर्षको उमेर पुग्दासम्म पनि उनीहरू बच्चा पाइराख्छन्।’

महिलाको स्वास्थ्यमा यसको असर कस्तो हुन्छ त ? रोकाया भन्छिन्, ‘उमेर ढल्केपछि बच्चा पाउँदा आमा र बच्चा दुवैलाई जोखिम हुन्छ। अपांग, सुस्त मनस्थिति, कुपोषित बच्चा जन्मने डर हुन्छ। कतिपय बेला बच्चाको ज्यानै जोखिममा पर्ने हुन्छ भने आमालाई पनि रगत बग्ने समस्याले ग्रसित पार्न सक्छ।’

छोरो नजन्माउने आमाले कस्तोसम्म हैरानी खेप्नुपर्छ भन्ने उदाहरण हुन् बडिमालिका नगरपालिका–९ की कल्पना विक। काखकी ६ महिनाकी छोरीसहित उनका ६ छोरी छन्। कल्पना भन्छिन्, ‘छोरो नभए श्रीमान्ले अर्को विवाह गर्ने भन्छन्, घर वरपरका मानिसको कुरा सम्झदा भक्कानिएर रुन मन लाग्छ।’

भ्रूण पहिचान  
यहाँ छोराका लागि लिंग पहिचान गरेर गर्भपतन गर्नेहरू पनि छन्। बुढीगंगा नगरपालिका–१०, सिगाडाकी लक्ष्मी (नाम परिवर्तन) ले तीनपटक भ्रूण पहिचान गरेर गर्भपतन गराइन्। पहिलो र दोस्रोपटक खासै असर नभए पनि तेस्रोपटक भने झन्डै उनको ज्यान गयो। तेस्रोपटक गर्भपतनपछि अत्यधिक रक्तस्राव हुँदा भारत लगेर उनको उपचार गरिएको थियो।

जिल्लाको दुर्गम हिमाली गाउँपालिका–६ की चन्दरी (नाम परिवर्तन) को उदाहरणले पनि यही देखाउँछ। भ्रूण पहिचान गरेर उनले पनि पटक–पटक गर्भपतन गराइन्। पछिल्लोपटक त उनलाई अस्पताल भर्ना गरेर रगत चढाउनुपरेको थियो।  

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका हुने–खाने महिलाले भारतका निजी अस्पतालमा पुगेर भ्रूण पहिचान गरी नेपाल आएर गर्भपतन गराउने गर्छन्। बडिमालिका–७, कोर्ध बस्ने ३२ वर्षीया धौली (नाम परिवर्तन) ले भारतको पलियामा भ्रूणको लिंग पहिचान गरी बाजुरा सदरमुकामकोे एक स्थानीय मेडिकलबाट गर्भपतन हुने औषधि किनेर खाएकी थिइन्।

स्थानीय पसलबाट एक हजार पाँच सय रुपैयाँको औषधि खाएपछि उनलाई अत्यधिक रक्तस्राव भयो। पूर्ण रूपमा गर्भपात नभएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याइयो। बाजुराले अछामको बयलपाटा अस्पताल रेफर ग-यो। मुस्किलले उनी बाँचिन् तर स्वास्थ्य अवस्था राम्रो छैन।

सुरक्षित गर्भपतन सेवा विस्तार रणनीतिक तथा कार्य सञ्चालन सेवा निर्देशिका–२०६६ अनुसार, स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखाबाट गर्भपतन सेवा प्रदान गर्ने व्यक्ति र संस्था दुवैले प्रमाण–पत्र लिएको हुनुपर्छ। तर, बाजुराका दुर्गम पहाडी गाउँमा स्थानीय औषधि पसलका अदक्ष जनशक्तिबाट गर्भपतन गराउने काम भइरहेको छ।  

महिला अधिकार मञ्च बाजुराकी अध्यक्ष रुक्मणी शाह भन्छिन्, ‘विभेद विरुद्ध बाजुरामा थुप्रै संघ–संस्थाले काम गर्दै आए पनि समाजको चेतना परिवर्तन भइसकेको छैन। त्यसैले भ्रूणमै छोरा र छोरीबीच पनि चर्को भेदभाव हुने गरेको छ।’  

शाह भन्छिन्, ‘छोरा नभए श्रीमान्ले अर्को विवाह गर्ने, हेला गर्ने, घरबाट निकाल्ने, घरपरिवार र समाजले कुरा काट्ने भएकाले महिलाहरू लिंग पहिचान गरेर असुुरक्षित रूपमै भए पनि गर्भपतन गर्न बाध्य हुन्छन्। किनकि छोरो नजन्माएका कारण सौता खेप्नुपरेका र घरबाट निकालिएका महिला पनि थुप्रै छन्।’

बाटोमै बच्चा, कलिलैमा आमा
प्रजनन स्वास्थ्यको अवस्था कति हदसम्म दयनीय छ भने यहाँ महिलाले बाटोमै बच्चा जन्माउनु आश्चर्यको कुरा होइन। हिमाली गाउँपालिका–३, युनाकी २४ वर्षीया रमा गुरुङले २०७६ कात्तिकमा बसाइँ सर्ने बेला बाटोमै छोरो जन्माएकी थिइन्।

जाडो छल्न औल झर्ने बेला जंगलमा बच्चा जन्माएकी रमाले भनिन्, ‘अछामको देवीस्थान जाँदै थियौँ, लेककोटको बाटोमै छोरो जन्माएँ। साथमा श्रीमान्बाहेक अरू कोही थिएन। सुत्केरी भएपछि पनि चिसो पालमा बस्नुपरेको थियो।’

यस्ता उदाहरण अरू पनि छन्। हुम्लाको ताजाकोट गाउँपालिका–२ की सीता थापा भोटेले पनि २०७६ कात्तिकमा अछाम जाने बेला बाजुराको बाह्रबिसमा छोरी जन्माएकी थिइन्। सीता भन्छिन्, ‘बाटोमै बच्चा पाएँ, मेडिकलमा उपचार गरेर घर गएँ।’

हुम्लाको सरकीदेउ गाउँकी २३ वर्षीया रमिता बुढाथोकी गर्भवती भएको ६ महिना भएको छ। बाजुराको रिठा बजारनजिकै चौरको पालमा भेटिएकी रमिता भन्छिन्, ‘राम्ररी आराम गर्न समेत पाइँदैन। भारी बोक्ने, खाना पकाउने सबै काम गर्नुपर्छ।’

भेडा च्यांग्रासहित सपरिवार हिउँदका ६ महिना चिसो छल्न बेंसी झर्ने भएकाले यस्तो बेला महिलाले बाटोमै बच्चा जन्माउने भोटे जनजाति महासंघका निवर्तमान जिल्ला अध्यक्ष बुद्धि बोगटी (भोटे) बताउँछन्। सुदूरपश्चिम र कर्णाली प्रदेशका बाजुरा, बझाङ, मुगु, हुम्ला, जुम्लाका यी समुदाय मौसमी बसाइँ सर्छन्।

अर्को समस्या हो, बालविवाह। बाजुरामा सानैमा बिहे गर्ने र बच्चा जन्माउने आम प्रचलन जस्तै छ। परिणाम बाजुरामा कलिलो उमेरका गर्भवतीहरू उच्च जोखिममा छन्। २० वर्ष नपुगेका गर्भवतीहरू सुत्केरी हुने बेला ठूलो समस्यामा पर्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।  

२०६८ सालको जनगणना अनुसार बाजुराका २४ हजार नौ सय १९ महिलाले २० वर्ष नपुगी विवाह गरेका थिए। यीमध्ये चार हजारको विवाह १५ वर्ष नपुग्दै भएको थियो।  

स्वास्थ्य कार्यालय बाजुराका अनुसार आर्थिक वर्ष २०७४/७५ मा २० वर्ष नपुग्दै पाँच सय ९२ गर्भवती भएका थिए। आर्थिक वर्ष २०७५/७६ मा चार सय ८६ र २०७६/७७ मा चार सय ५१ जना २० वर्ष नपुग्दै गर्भवती भए। कार्यालयका तथ्यांक प्रमुख रुगम थापा भन्छन्, ‘यो त स्वास्थ्य चौकीमा आएको तथ्यांक मात्रै हो। हामीकहाँ नआएको संख्या योभन्दा धेरै हुन सक्छ।’

२० वर्ष नपुगेकी किशोरी गर्भवती हुँदा आमा र बच्चाको स्वास्थ्य अवस्था कति गम्भीर हुन्छ भन्ने एउटा उदाहरण हुन्, रमिला रावल। बुढीगंगा नगरपालिका–१० की रमिलालाई गएको वर्ष प्रसूति व्यथाले च्यापेपछि गाउँलेले स्थानीय स्वास्थ्य उप–केन्द्र पु-याए। त्यहाँकी अनमीले सुत्केरी गराउन नसक्ने भनेर तत्काल सुविधायुक्त अस्पताल लैजान भनिन्। उनलाई रातारात अछामको बयलपाटा अस्पताल पु¥याइयो। मुस्किलले रमिला र बच्चाको ज्यान जोगियो।

मारमा हलिया महिला  
पुस्तौँपुस्ताअघि कसैले लिएको ऋण शाखा–सन्तानमा सर्दै आउने र त्यसबापत जग्गाधनीको हलो जोतेर ऋणको ब्याज तिर्नुपर्ने हलियाप्रथा सुदूरपश्चिम प्रदेशको एउटा छुट्टै दुःख हो। २१ भदौ २०६५ मा हलिया मुक्तिको घोषणा भए पनि उनीहरूको सामाजिक–आर्थिक अवस्थामा कुनै परिवर्तन आएको छैन। यस्तो हलिया समुदायका महिलाको स्वास्थ्य अवस्था हदै दयनीय हुने गर्छ।

बुढीनन्दा नगरपालिका–१, पिपलडाँडीकी ६५ वर्षीया घिरु लुवार एउटा उदाहरण हुन्। उनको तल्लो पेट दुखेको वर्षौं भयो। सात बच्चा जन्माएकी घिरुले धेरै वर्षदेखि पेट दुख्ने समस्या भए पनि पैसा अभावले रोग पालेर बसेकी छिन्। घिरु भन्छिन्, ‘तीनवटा बच्चा पाएदेखि नै तल्लो पेट दुख्न थालेको। खानलाई पैसा पाउँदैनौँ, उपचार गर्न कहाँबाट ल्याउनु पैसा ?’ घिरु र उनका श्रीमान् स्थानीय साहुको घर–खेतमा काम गरेर छोराछोरी पाल्छन्।

बाजुरामा मात्रै एक हजार सात सय  हाराहारीमा मुक्त हलिया परिवार छन्। जिल्ला प्रशासन कार्यालयले भने एक हजार तीन सय हाराहारीलाई मात्र मुक्त हलिया भनेर प्रमाणित गरेको छ। आर्थिक रूपमा विपन्न उनीहरूका परिवारभित्र महिलाको अवस्था झनै दयनीय छ। मुक्त हलिया जयमल लुवार भन्छन्, ‘उपचार नपाएर वर्षौंदेखि हलिया महिलाहरू रोग पालेर बसेका छन्। दैनिक काम गरेर मात्र बिहान–बेलुकाको छाक टार्ने समुदायमा उपचार गर्ने रकम कहाँबाट ल्याउने ?’ जयमलका अनुसार, ‘गाउँका स्वास्थ्य चौकीमा सामान्य रोगको मात्रै उपचार हुन्छ। कमजोर आर्थिक अवस्थाका कारण यहाँका महिलालाई परिवारले धनगढी, नेपालगन्ज र भारत गएर उपचार गर्न सक्दैन।’ कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रकी अनमी देउमा धामी भन्छिन्, ‘उपचार गर्न आउने धेरै हलिया महिलाको पाठेघर खस्ने, तल्लो पेट दुख्ने समस्या हुन्छ।’

‘लक्ष्य पूरा हुन्न’
धेरै बच्चा जन्माउने, कम उमेरमा बच्चा जन्माउने र बुढेसकालसम्म बच्चा जन्माउने महिलामा पाठेघर खस्ने समस्या धेरै देखिएको जिल्ला अस्पताल बाजुराका प्रमुख, डा. रूपचन्द्र विश्वकर्मा बताउँछन्। डा. विश्वकर्मा भन्छन्, ‘सरकारले परिवार नियोजनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आए पनि दुर्गम क्षेत्र र पछाडि परेका समुदायमा यो प्रभावकारी छैन भन्ने यी उदाहरणले देखाउँछन्।’  

महिला अधिकार मञ्च बाजुराकी अध्यक्ष रुक्मणी शाह भन्छिन्, ‘सरकारी तथा गैरसरकारी संस्थाहरूले परिवार नियोजनसम्बन्धी जनचेतना जगाउन बर्सेनि पैसा खर्च गर्छन्। तर, दुर्गम गाउँमा यी कार्यक्रम प्रभावकारी छैनन्।’

बाजुरामा आमाहरूको स्वास्थ्य यति नाजुक बन्नुमा त्यहाँको सामाजिक र आर्थिक विकासको अवस्था जिम्मेवार छ। मानव विकास प्रतिवेदन २०१४ अनुसार विकासका दृष्टिले बाजुरा मुलुकका ७७ जिल्लामध्ये पुछारमा पर्छ। राष्ट्रिय जनगणना २०६८ अनुसार, बाजुराको ६४.१ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छ। गरिब घरपरिवार पहिचान बोर्डद्वारा २०७२ सालमा प्रकाशित प्रतिवेदनले त बाजुराको गरिबी ७१.१ प्रतिशत देखाएको थियो। राष्ट्रिय जनगणना २०६८ अनुसार, नेपालीको औसत आयु ६९.२ वर्ष हुँदा बाजुरामा भने ५९.५ वर्ष मात्रै छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रवक्ता डा. विकास देवकोटा बाजुरा जस्ता दुर्गम ठाउँमा मातृमृत्यु हुनुमा तीन कारण देख्छन्। पहिलो, घरमा हुने ढिलाइ। यसले जोखिममा छु भनेर थाहा नपाएर स्वास्थ्य संस्थासम्म नपुग्ने, आर्थिक अवस्था कमजोर भएर पनि समयमै स्वास्थ्य संस्था पुग्न नसक्ने, अनि अशिक्षाका कारण स्वास्थ्य संस्थामा पुगेर पो के हुन्छ र भन्ने सोचेर स्वास्थ्य संस्थामा लैजान ढिलाइ गर्ने।

त्यस्तै, दोस्रो बाटोमा हुने ढिलाइ हो। यसमा स्वास्थ्य संस्थासम्म पुग्न सवारी साधन नपाउने वा अरू कुनै उपायले पु¥याउँदा पनि अवस्था ढिलो हुन्छ। तेस्रोमा, स्वास्थ्य संस्थामा पुगेपछि हुने ढिलाइले पनि गर्भवतीको ज्यान जोखिममा पर्छ। किनकि त्यहाँ गर्भवती महिलाको उपचार गर्न स्वास्थ्यकर्मीको, रगतको अनि उपकरण तथा औषधिको अभाव हुन सक्छ।

देवकोटा भन्छन्, ‘बाजुराको तथ्यांकले धेरैजसो गर्भवतीको घरमा हुने ढिलाइका कारण ज्यान जाने गरेको देखाएको छ। त्यसबाहेक दुर्गमको भौगोलिक अवस्था पनि मातृमृत्युको कारक हो।’  

उनी थप्छन्, ‘विगतमा कहाँ गल्ती भयो र कसरी सुधार्न सकिन्छ भनेर मन्त्रालयले मातृमृत्युको कारण थाहा पाउन सर्भे गर्दै आइरहेको छ। समग्रमा हामीले सोचेजस्तो मातृ मृत्युदर घट्न सकेको छैन।’

स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो १० वर्षमा मातृमृत्यु (प्रति एक लाख जीवित शिशु जन्माउने महिलामध्ये) २८१ बाट २३९ मा झरेको छ। जब कि योभन्दा अघिल्लो दश वर्षमा मातृमृत्यु ५३९ बाट २८१ मा झरेको थियो। यसले पहिलेको तुलनामा पछिल्लो १० वर्षमा मातृ मृत्युदर घट्ने क्रम अपेक्षाकृत रूपमा हुनसकेको छैन।

देवकोटा भन्छन्, ‘दिगो विकासको लक्ष्य अनुसार, प्रति एक लाख जीवित शिशु जन्माउने महिलामध्ये मातृ मृत्युदर सन् २०३० सम्म ७० मा झार्नुपर्नेछ। तर अहिलेको अवस्था हेर्दा यो लक्ष्य भेट्टाउन सकिने अवस्था छैन।’  

देवकोटाका भनाइमा, यो दर घटाउन सबै गाउँपालिकामा न्यूनतम एउटा सिजेरियन सेक्सन सहितको एक बर्थिङ सेन्टर चाहिन्छ। जबकि अहिले ५०० भन्दा बढी पालिकाहरूमा अझै पनि सिजेरियन सेक्सन सहितको एउटा बर्थिङ सेन्टर छैन। जस्तो कि नौ स्थानीय तह रहेको बाजुरामा जिल्ला अस्पतालमा मात्रै यो सुविधा उपलब्ध छ।  

पोषणविद् डा. अरुणा उप्रेतीका भनाइमा ‘बाजुरा जस्तो जिल्लामा एकै वर्षमा पाँचजना गर्भवतीको ज्यान जानुमा केही पक्ष जिम्मेवार छन्। छोरो नै पाउनुपर्छ भनेर परिवार वा समाजले दबाब दिनु, कुपोषण, गर्भावस्थामा महिलालाई आराम र पर्याप्त खाना उपलब्ध नहुनु, बाथ रोग लगायत स्वास्थ्य समस्या र सामाजिक कारण मुख्य हुन्।’

उप्रेतीका भनाइमा, कोरोना महामारीपछि औषधि नपाएर र स्वास्थ्य संस्थामा जान नसकेर धेरै महिलाको मृत्यु भएको देखिन्छ। बन्दाबन्दी र निषेधाज्ञामा यातायातको व्यवस्था नहुँदा सुत्केरी महिलाको ज्यान जाने अवस्था छ।

उनी भन्छिन्, ‘दिगो विकासको लक्ष्य अनुसार २०३० सम्ममा प्रति लाखमा मातृमृत्यु ७० पु¥याउन बाजुरा जस्ता जिल्लाको स्वास्थ्य अवस्थामा तात्विक परिवर्तन आउनुपर्छ, नत्र यो लक्ष्य कुनै पनि हालतमा पूरा हुन सम्भव देखिँदैन।’
(साथमा प्रकाश सिंह, बाजुरा। खोज पत्रकारिता केन्द्र।)

प्रकाशित: २७ भाद्र २०७७ १०:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?